खेल


पोखरा र कोरियाको चेओगं खेलकुद समितिबीच खेलकुद विकास समझदारी

पोखरा र कोरियाको चेओगं खेलकुद समितिबीच खेलकुद विकास समझदारी

नेपालखबर
भदौ १०, २०८२ मंगलबार २१:३९, कास्की

पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको चेओगं योङ काउन्टी खेलकुद समितिबीच खेलकुद गतिविधिमा मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध अभिवृद्धि गर्ने समझदारी भएको छ।

पोखरामा आज भएको सो समझदारीपत्रमा पोखरा महानगरपालिकाकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल र चेओगं योङ काउन्टीका तर्फबाट हान ग्वाङ् सेओकले हस्ताक्षर गरेका छन्।

खेल गतिविधिहरूको माध्यमबाट मैत्रीपूर्ण सम्बन्ध अभिवृद्धि, खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरूबीच भ्रमण आदानप्रदान, पोखराका खेलाडीहरूको प्रदर्शनलाई थप सुधार गर्न समन्वय र सहयोग प्रदान गर्ने, कोरियाली खेलकुदसँग सम्बन्धित उत्पादन साथै अन्य वस्तु तथा सेवाहरूको निर्यातका लागि आवश्यक समन्वय तथा सहकार्य गर्ने उद्देश्यले समझदारी गरिएको नगरप्रमुख धनराज आचार्यले बताए।

प्रमुख आचार्यले भने, ‘विभिन्न खेलहरूमा हाम्रा खेलाडीहरूको दक्षता अभिवृद्धि गर्न र विशेषज्ञता हासिल गर्न यो समझदारी महत्वपूर्ण हुनेछ। पर्यटकीय राजधानी पोखरालाई खेलकुदको हब बनाउने सन्दर्भमा अन्तरराष्ट्रिय सहकार्यले यसको औचित्य पुष्टि गरेको छ।’

महानगरप्रमुख आचार्यका अनुसार फुटबल, बक्सिङ, तेक्वान्दो, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, लनटेनिस, एथ्लेटिक्स, म्याराथनलगायत खेलका खेलाडीको दक्षता वृद्धि गर्न यस समझदारीले सहयोग पुग्नेछ।

यसबाट पोखरेली र कोरियाली खेलाडीहरूबीच नियमित मैत्रीपूर्ण खेलको व्यवस्था मिलाउने र कोरियाली प्रशिक्षकको मार्गदर्शनमा पोखराका खेलाडीको क्षमता अभिवृद्धि गर्नसमेत सहज हुने महानगरले जनाएको छ।

चेओगं योङ काउन्टी खेलकुद समितिका अध्यक्ष हान ग्वाङ् सेओकले पोखराका खेलाडीहरूको प्रदर्शनमा सुधार गर्न उन्नत प्रविधि र प्रशिक्षण विधिहरू प्रदान गरिने बताए। 

युवा खेलाडीहरू आदानप्रदान, विद्यालयस्तरका खेलकुदका कार्यक्रमहरू सञ्चालन, पोखरामा रहेका खेलकुद संस्थाहरूलाई व्यावसायिक स्तरको सीप विकासमा सहयोग, समग्र पोखरा महानगरभित्रका खेलकुद गतिविधिहरूका सम्भाव्य क्षेत्रहरूको खोजीका लागि आफूहरू तत्पर रहेको उनले बताए।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालले पोखराको समग्र खेलकुद विकासमा उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गरे।

‘खेल पूर्वाधारको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि, खेल सामग्रीहरू सहयोग, प्राविधिक सहायता, आपसमा भ्रमण तथा अनुभव आदानप्रदानका लागि यो समझदारी आधारभूत रूपमा महत्वपूर्ण छ,’ उनले भने।

सोही प्रकृतिको समझदारी जिल्ला खेलकुद विकास समिति कास्की र चेओगं योङ काउन्टीको बीचमा पनि भएको छ। 

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ, अग्रज पर्यटन व्यवसायी तथा अन्तरराष्ट्रिय खेलाडी गणेशबहादुर भट्टराई, पोखरा महानगरपालिका–१५ का वडाअध्यक्ष एवं महानगरको खेलकुद विकास समितिका संयोजक तोरणबहादुर बानियाँलगायतले समझदारी पोखराका खेलाडीहरूको अन्तरराष्ट्रिय पहुँच स्थापना गर्ने सवालमा निकै महत्त्वपूर्ण रहेको बताए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad