जलवायु परिवर्तनका विषयमा स्थानीय तहमा जागरण फैलाउने उद्देश्यले आयोजित गौघाट ग्रिन रनको उपाधि युवकराज बुढा र दीपशिखा शाहीले जितेका छन्।
एघार वर्षदेखि सञ्चालित धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रूपमा गत वर्षदेखि आयोजना गर्न थालिएको गौघाट ग्रिन रनमा जुम्लाका युवकराज र बाँकेको कोहलपुरकी दीपशिखा विजयी भएका हुन्।
खजुरा गाउँपालिकाको सीतापुरमा भएको पाँच किलोमिटर खुला पुरुषतर्फ नरैनापुरका अरविन्द कुमार यादव दोस्रो र जुम्लाका यमराज खत्री तृतीय भएका छन्।
खुला छात्रा २.५ किमि दौडमा कोहलपुरकी दीपशिखा प्रथम हुँदा कोहलपुरकी स्वस्तिका शाही र बर्दियाकी राधा सुनार तृतीय भए।
खजुरा गाउँपालिकास्तरीय पाँच किलोमिटर छात्रतर्फ ज्ञानोदय उच्च माविका धनिराम खटिक प्रथम, जनता उच्च माविका निकेस खत्री दोस्रो र अमरमाविका युसुफ विक तृतीय भए।
त्यसैगरी छात्रा २.५ किमिमा अमर माविकी विनिसा एलजी पहिलो, योगिनी माविकी प्रशंसा विसी दोस्रो र अमर माविका विनिता पुलामी तेस्रो भए।
विजयी खेलाडीलाई खजुरा गाउँपालिका काअध्यक्ष डम्बर विक तुफान, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तिरन गौतम, मिस नेपाल वर्ल्ड २०२३ शृच्छा प्रधान, केएल दुगड ग्रुपका सीईओ प्रदीप छाजेड, वडाध्यक्ष धनराम ओली, वर्ल्ड क्लास धावक केन्याका जोन केलाईले संयुक्त रूपमा नगद तथा पदक हस्तान्तरण गरे।
कार्यक्रममा धारा नेपालगन्ज म्याराथनका सद्भावना दूत मिस नेपाल वर्ल्ड २०२३ शृच्छा प्रधानले प्रकृतिलाई पहिलो गुरु मान्नुपर्ने धारणा राखिन्। सबै मिलेर प्रकृति जोगाउन सके मात्र मानव अस्तित्व जोगिने उनले बताइन्।
‘दौडले समाजलाई जोड्छ, स्वस्थ राख्छ’, शृच्छाले भनिन्, ‘आजैदेखि सबैले प्लास्टिक प्रयोगलाई निरुत्साहित गर्नतर्फ लागौँ, स्वस्थ समाज निर्माण गरौँ।’
सोमबार मात्र शृच्छा र कमनवेल्थ गेम्स २०१०का स्वर्ण पदक विजेता केन्याका जोनलाई धारा नेपालगन्ज म्याराथनको सद्भावना दूतमा नियुक्ति गरिएको थियो।
यसैबीच विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) बाट प्रमाणीकरण रुट भएको धारा नेपालगन्ज म्याराथनको ११औँ संस्करण यही मंसिर ६ गते शनिबार हुनेछ। यसका लागि दर्ता खुला गरिसकिएको छ।
Shares

प्रतिक्रिया