खेल


साफ महिला च्याम्पियनसिप मंसिर १९ देखि आगामी पुस ५ सम्म

साफ महिला च्याम्पियनसिप मंसिर १९ देखि आगामी पुस ५ सम्म

नेपालखबर
मंसिर १५, २०८२ सोमबार २०:३५, काठमाडौँ

दक्षिण एशियाली फुटबल महासंघ (साफ) को आयोजनामा पहिलोपल्ट हुन लागेको साफ महिला क्लब च्याम्पियनसिपको तयारी पूरा भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नै घरेलु मैदानबाट शुरुवात हुने साफ क्लव च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आगामी मंसिर १९ देखि आगामी पुष ५ गतेसम्म क्लब च्याम्पियनसिप हुनेछन्।

दक्षिण एशियाली फुटबलको स्तरवृद्धि गर्ने उद्देश्यले सुरु गरिएको पहिलो संस्करणमा नेपालको च्याम्पियन एपिएफ क्लव, भारतको इस्ट बंगाल एफसी, बंगलादेशको नासरिन स्पोर्टोस् एकेडेमी, भुटानको ट्रान्सपोर्ट युनाइटेड र पाकिस्तानको कराची सिटी एफसी गरी कुल पाँच टोलीले चुनौती प्रस्तुत गर्दैछन्।

प्रतियोगिता सिंगल राउन्ड रोबिनका आधारमा हुनेछ। लिगमा शीर्ष दुई स्थान प्राप्त गर्ने टोलीले उपाधिका लागि खेल्ने उल्लेख छ। पहिलो संस्करणको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले पाँच हजार अमेरिकी डलर पुरस्कार पाउनेछन्।

सहभागी तीन टोलीले दुई हजार अमेरिकी डलर प्राप्त गर्ने एन्फाले उल्लेख गरेको छ। सबै टोली बुधबार नै नेपाल आइपुग्नेछन्। उनीहरूले च्यासल रंगशाला र भद्रकालीस्थित नेपाली सेनाको खेल मैदानमा अभ्यास गर्ने तालिका छ। यस प्रतियोगिताको टिकट साधारण प्यारापिटतर्फ तीन सय र भीआइपी पारापिटमा पाँच सय रुपैयाँ तोकिएको छ। 

एन्फाका महासचिव किरण राईले प्रतियोगिताको मार्केटिङ, ब्रोडकास्टिङ र डिजिटल अधिकार सुश्री मिडिया प्रालीलाई ५१ लाख ५० हजार रुपैयाँमा बेचेको बताए। साफले त्यो रकमबाट आयोजकका रूपमा एन्फालाई ७० प्रतिशत रकम प्रदान गर्ने राईले उल्लेख गरेका छन्।

बाँकी ३० प्रतिशत रकम पुरस्कारमा खर्च हुने भएको छ। आयोजनाका लागि बाँकी लागत साफले नै बेहोर्नु एन्फाका महासचिव राईको भनाइ छ।

सोही पत्रकार सम्मेलनमा एन्फाले सोमवार नै बसेको कार्यसमिति बैठकले गरेको १२ वटा निर्णय पनि सार्वजनिक गर्‍यो। एएफसीको इक्वेल पिच कार्यक्रमअन्तर्गत दशरथ रंगशालामा हाइब्रिड घाँसे मैदान राख्ने प्रस्ताव पेश गर्ने तथा सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृत्रिम घाँसे मैदानलाई परिवर्तन गर्नुका साथै धनगढी र धुलिखेलमा पनि कृत्रिम घाँसे मैदान राख्ने निर्णयमा उल्लेख छ।

साथै एन्फाका महासचिव राईले राष्ट्रिय लिग खेल्न चाहने सहिद स्मारक ‘ए’ डिभिजन क्लबलाई खुला गरेको बताएका छन्। त्यसका लागि मंगलबार सम्म समयसीमा तोकेको उनले उल्लेख गरे।

यसअघि एन्फा प्रेसिडेन्ट लिगका शीर्ष चार टोली र सहिद स्मारक ‘ए’ डिभिजन लिग (सन् २०२३) का शीर्ष ६ टोलीले राष्ट्रिय लिग खेल्न पाउने प्रावधान थियो। तर, एन्फाले आगामी पौष २५ देखि सुरु गर्ने राष्ट्रिय लिगमा शीर्ष डिभिजनका अन्य क्लबलाई पनि खेल्न आह्वान गरेको छ।

साथै एन्फाका महासचिव राईले फिफाको सिएओमा संशोधन गरी सहिद स्मारक ‘ए’ डिभिजन लिग पनि समावेश गरेको बताएका छन्। अब यो रकमबाट एन्फाले शीर्ष लिगका लागि पनि खर्च पाउने भएको छ। साफ महिला यू–१९ महिला च्याम्पियनसिप आगामी फागुनमा पोखरामा गर्ने एन्फाले जनाएको छ। 

उदयपुरमा राष्ट्रिय महिला नकआउट प्रतियोगिता तथा झापा, मोरङ, मकवानपुर र सुनसरीमा सहिद स्मारक राष्ट्रिय महिला लिग गर्ने एन्फाले तयारी गरेको महासचिव राईले उल्लेख गेका छन्।

साथै एन्फाले पहिलोपल्ट फ्रेन्चाइज महिला लिग आयोजनाका लागि तयारी गरेको छ भने नेपाल सुपर लिग (एनएसएल) ले चैतमा आयोजनाका लागि गरेको प्रश्तावमा पनि छिटै छलफल गर्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad