खेल


आलमले ह्याट्रिकसहित ६ विकेट लिँदा काठमाडौँ प्लेअफमा, पोखरा स्तब्ध

आलमले ह्याट्रिकसहित ६ विकेट लिँदा काठमाडौँ प्लेअफमा, पोखरा स्तब्ध

तस्बिर : सरोज नेपाल/नेपालखबर


लक्ष्मी जि.सी
मंसिर १८, २०८२ बिहिबार १५:४३, काठमाडौँ

पोखरा एभेन्जर्सविरुद्धको खेलमा शाहब आलमले ह्याट्रिकसहित ६ विकेट लिएपछि काठमाडौँ गोर्खाज ‘प्लेअफ’मा पुगेको छ। 

काठमाडौँ गोखार्जले पहिलो पटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा स्थान सुरक्षित गरेको छ। 
काठमाडौँले लिग चरणको आफ्नो अन्तिम खेलको जितसँगै प्लेअफमा स्थान पक्का गरेको हो। 

अघिल्लो सिजन नेट रनरेटमा पछि पर्दै प्लेअफ दौडबाट बाहिरिएको काठमाडौँले दोस्रो सिजनमा आएर प्लेअफ खेल्न लागेको छ। 
बिहीबार काठमाडौँले पोखरालाई १३ रनले पराजित गर्दै शीर्ष चारमा स्थान पक्का गरेको हो। 

एनपीएलमा पाचौँ जित दर्ता गर्दै काठमाडौँले अंक तालिकामा १० अंक जोडेको छ। लिग चरणमा पाँच खेलमा जित र दुई खेलमा हार भोग्दै १० अंक बनाएको काठमाडौँ दोस्रो स्थानमा छ।  

काठमाडौँको अब पहिलो क्वालिफायर वा एलिमिनेटर खेलबारे भने अन्य टोलीको नतिजामा भर पर्नेछ। अन्य खेलको नतिजा काठमाडौँ अनुकुल आएर शीर्ष दुईमा रहे पहिलो क्वालिफायर खेल्नेछ। 

यता काठमाडौँसँगको हारले भने पोखराको प्लेअफ सम्भावना थप कठिन बनेको छ। पोखराले चार हार र दुई खेलमा जित भोगेको छ। पोखराले अब लिग चरणको अन्तिम खेलमा चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ।। पोखरालाई अब प्लेअफमा स्थान बनाउन अन्तिम खेलमा जित मात्र हैन, नेट रनरेट पनि आवश्यक पर्नेछ। 

काठमाडौँले दिएको एक सय ६५ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको पोखरा २० ओभरमा एक सय ५२ रन बनाउँदा अलआउट भयो। 
पोखरालाई रोक्न काठमाडौँका शाहब आलमले ह्याट्रिकसहित ६ विकेट लिए। जारी सिजन ह्याट्रिक विकेट लिने शाहश पहिलो खेलाडी हुन्।

एकै खेलमा ६ विकेट लिने उनी दोस्रो खेलाडी हुन्। यसअघि चितवन राइनोजका सोहेल तनविरले पहिलो सिजनमा एकै ओभरमा ६ विकेट लिएका थिए। 

शाहबले चार ओभरमा २५ रन दिएर ६ विकेट लिए। शाहबले अन्तिम ओभरमा चार विकेट लिए। उनले अन्तिम ओभरको पहिलो बलमा ऋषी धवन, दोस्रो बलमा विपिन खत्री र तेस्रो बलमा आकाश चन्दलाई लगातार पेभेलियनको बाटो देखाए। सोही ओभरको अन्तिम बलमा सागर ढकाललाई पनि आउट गर्दै उनले एकै ओभरमा चार विकेट लिएका थिए।

त्यसअघि उनले पाचौँ ओभरको तेस्रो बलमा जेसन रोयको विकेट लिएका थिए। १८औँ ओभरको चौथो बलमा किरण ठगुन्नालाई आउट गरे। 
करण केसी र सन्नी पटेलले समान दुई विकेट लिए। 

पोखराका ऋषी धवनले सर्वाधिक ५४ रनको योगदान दिए। कप्तान ओपनर कुशल भुर्तेल २२ रन बनाउँदा करण केसीको बलमा मिलिन्द कुमारको हातबाट क्याच आउट भए। 

२७ बलमा एक चौका र एक छक्का प्रहार गरेका धनन्जय लक्षण ३० रन बनाउँदा रण केसीको बलमा मिलिन्दकै हातबाट क्याच आउट हुन पुगे। 

जेसन रोय १६ रन बनाउँदा शाहब आलमको बलमा बोल्ड आउट भए। तुतराज दास नौ रनमा सन्नी पटेलको बलमा एलबीडब्लूको धरापमा परे। एडम रोसिङटन पाँच रनमा सन्नी पटेलको बलमा बोल्ड हुन पुगे। किरण ठगुन्ना पाँच रन बनाउँदा शाहबको बलमा मिलिन्दकै हातबाट क्याच आउट भए। 

काठमाडौँका लागि करण केसी, सन्नी पटेल, शाहब आलमले समान दुई विकेट लिए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६५ रनको योगफल तयार पारेको थियो। 

काठमाडौँका लागि ओपनर वेनले ६४ रनको सर्वाधिक योगदान दिए। ५४ बलमा पाँच चौका र दुई छक्का सहयोगमा ६४ रन बनाएका वेन विपिन खत्रीको बलमा धनन्जय लक्षणको हातबाट क्याच आउट हुन पुगे। वेनले ४८ बलमा चार चौका र एक छक्काको सहयोगमा अर्धशतक पूरा गरे। 

भीम सार्की ५५ रन बनाउँदा क्याच आउट भए। २३ बलमा पाँच चौका र चार छक्का प्रहार गरेका धनन्जयको बलमा क्याच आउट भए। भीमले १९ बलमा पाँच चौका र चार छक्काको सहयोगमा अर्धशतक पूरा गरे। करण केसीले चार रन बनाए। सन्नी पटेल दुई रनमा नटआउट रहे। 

मिलिन्द कुमारले १३ रन बनाउँदा कुशल भुर्तेलको बलमा विकेट किपरको हातबाट आउट हुन पुगे।

आदिल आलम र रासिद खानले समान सात रन बनाउँदै पेभेलियन फर्के। जोन सिमसन दुई रन बनाउँदा कुशल भुर्तेलको बलमा कट एन्ड बोल्ड हुन पुगे। आकाश त्रिपाठी शून्य रनमा नै धनन्जय लक्षणको बलमा बोल्ड आउट भए। 

पोखराका लागि धनन्जय लक्षणले सर्वाधिक चार विकेट लिए। उनले आफ्नो स्पेलमा एक मेडन राख्दै १६ रन खर्चे। 

कुशल भुर्तेलले दुई विकेट लिए। किरण ठगुन्नाले एक विकेट आफ्नो नाममा गरे। 

आजै हुने दोस्रो खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्स खेल्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad