खेल


एनपीएलमा चम्किए चार नेपाली बलर, जसले जित्न सक्छन् ‘गोल्डेन क्याप’

एनपीएलमा चम्किए चार नेपाली बलर, जसले जित्न सक्छन् ‘गोल्डेन क्याप’

करण केसी, अविनाश बोहरा, शाहब आलम र सन्दीप लामिछाने।


नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार १०:९, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा ब्याटरले विदेशी खेलाडीलाई पछ्याइरहेका वेला नेपाली बलरले भने दबदबा बनाएका छन्। 

एनपीएलमा लिग चरणका २८ मध्ये २४ खेल सकिँदा धेरै विकेट लिने बलरको सूचीमा शीर्षस्थान नेपाली बलरले ओगटेको छ। शीर्ष पाँच बलरमा चार नेपाली बलर छन् भने एक विदेशी अटाएका छन्। 

शीर्षस्थानमा रहेका नेपाली बलरबीच पनि प्रतिस्पार्ध छ। विराटनगर किंग्सका सन्दीप लामिछाने, सुदूरपश्चिम रोयल्सका अविनाश बोहरा, काठमाडौँ गोर्खाजका शाहब आलम र करण केसीले समान १२ विकेट लिएका छन्। औषतका आधारमा सन्दीप शीर्षस्थानमा छ। त्यसपछि क्रमशः अविनाश, शाहब र करण दोस्रो, तेस्रो र चौथो स्थानमा छन्। 

सन्दीपले ६ खेलमा १०.२५ को औसतले १२ विकेट लिएका हुन्। त्यस्तै, अविनाशको ६ खेलमा ११.१६ को औसत छ। 

तेस्रो नम्बरमा रहेका शाहबले सात खेलमा १२.६६ को औषतले १२ विकेट लिएका हुन्। सात खेलमै ६.५ को औषतले करणले १२ विकेट लिएका छन्। 

पाँचौ नम्बरमा रहेका काठमाडौँका मिलिन्द कुमारको १० विकेट छ। उनले ६ खेलमा १०.१ को औषतले १० विकेट लिएका हुन्। उनी अमेरिकी खेलाडी हुन्। उनले यसअघि इन्डियन प्रिमियर लिग (आईपीएल) पनि खेलेका थिए। 

एनपीएलको पहिलो सजिनमा भने विदेशी बलरको दबदबा रहेको थियो। गत वर्ष उत्कृष्ट बलरको सूचीमा शीर्ष तीनमा रहेका चारमध्ये दुई विदेशी खेलाडी थिए।

सुदूरपश्चिमका स्कट कुग्लेजिन र जनकपुरका ललित राजवंशीले समान १७ विकेट लिएका थिए। औषतका राम्रो भएकाले स्कट शीर्षस्थानमा थिए भने ललित दोस्रो स्थानमा थिए। स्कटले नौ र ललितले १० खेल खेलेका थिए। 

त्यस्तै, तेस्रो स्थानमा रहेका चितवनका सोहेल तनवीर र जनकपुरका किशोर महतोको समान १४ विकेट थियो। सोहेल आठ र किशोरले १० खेल खेलेका थिए। स्कट न्यूजिल्यान्डका र सोहेल पाकिस्तानका खेलाडी हुन्। 

त्यस्तै, जारी एनपीएलमा सुदूरपश्चिमका हरमित सिंह र काठमाडौँका नन्दन यादवले समान नौ विकेट लिएका छन्। दुवैले समान ६ खेल खेलका छन्। औषतका आधारमा हरमित छैटौं र नन्दन सातौं स्थानमा छन्।

बलरको सूचीको आठौं स्थानमा सात खेलाडी छन्। उनीहरूले समान आठ विकेट लिएका छन्। उनीहरू चितवन राइनोजका रञ्जित कुमार, सुदूरपश्चिमका स्कट कुग्लेजिन, चितवनका सोहैल तनवीर, लुम्बिनी लायन्सका शेर मल्ल, काठमाडौँका रसिद खान, विराटनगरका मर्चेन्ट डि लाङ्गे र कर्णाली याक्सका सोमपाल कामी रहेका छन्। 

लिग चरणमा अब चार खेल मात्रै बाँकी छन्। यस्तै प्लेअफका पनि चार खेल छन्। बाँकी खेलमा हुने प्रदर्शनका आधारमा विकेटकाे संख्या फेरबदल हुन सक्छ।

अहिलेसम्म सुदूरपश्चिम, काठमाडौँ र विराटनगर ‘प्लेअफ’मा पुगिसकेका छन्। प्लेअफको चौथो टोलीका लागि लुम्बिनी, पोखरा, चितवन र जनकपुर प्रतिस्पर्धामा छन्। कर्णाली याक्स भने यसअघि नै ‘प्लेअफ’को दौडबाट बाहिरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad