केलियन एमबाप्पेले रियल मड्रिडका लागि क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी बराबरी गरेको खेलमा सेभिल्लामाथि जित निकालेको छ।
स्पेनिस लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियलले सेभिल्लालाई २–० को गोल अन्तरले पराजित गरेको हो।
रियलको जितमा एमबाप्पले पेनाल्टीमा गोल गर्दै रियललाई जित दिलाएका थिए। एमबाप्पेको गोलसँगै रियलका लागि रोनाल्डोले एक वर्षमा गरेको ५९ गोलको कीर्तिमानी बराबरी गरेका हुन्। एमबाप्पेले सन् २०१३ को रोनाल्डोको कीर्तिमानी बराबरी गरेका हुन्।
रियलको जितमा जुड बेलिंगघमले खेलको ३८ औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। खेलको ६८ औँ मिनेटमा सेभिल्ला १० खेलाडीमा समेटिएको थियो। मार्काओले दोहोरो पँहेलो कार्ड खादै मैदान छाडेपछि सेभिल्ला १० खेलाडीमा समेटिएको थियो।
खेलको ८६ औँ मिनेटमा एमबाप्पले पेनाल्टीमा गोल गर्दै रियलको अग्रता दोब्बर पारेका थिए। रोड्रिगोलाई जुआनलु सान्चेजले फाउल गरेपछि रियलले पेनाल्टीको मौका पाएको थियो। जुन अवसरलाई एमबाप्पले खेर जान दिएनन् र पेनाल्टीमा गोल गरे।
रियलको जितसागै शीर्ष स्थानको बार्सिलोनामाथि दबाब थपिएको छ। १८ खेलमा १३ जित, ३ बराबरी र २ खेलमा हार भोग्दै रियल ४२ अंकमा दोस्रो स्थानमा छ।
रियलभन्दा एक खेल कम खेलेको बार्सिलोना १४ जित, १ बराबरी र २ खेलमा हार भोग्दै ४३ अंकमा शीर्ष स्थानमा छ।
गएराति नै भएको खेलमा ओसासुनाले अलाभेसलाई ३–० ले हराएको छ। लेभान्ते र रियल सोसिडाडले १–१ को बराबरी गर्दा रियल ओभिडो र सेल्टा भिगोले गोलरहित बराबरी गर्दै अंक बाँडे।
Shares

प्रतिक्रिया