काठमाडौँमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट प्रतियोगितामा आज (सोमबार) स्कटल्यान्डसँग पराजित भएसँगै घरेलु टोली नेपालको विश्वकप खेल्ने सपना अधुरै रहेको छ।
त्रिवि क्रिकेट मैदानमा आज बिहान भएको खेलमा स्कटल्यान्डसँग ७२ रनले हार भएपछि नेपाल विश्वकप छनोटबाटै बाहिरिएको हो।

स्कटल्यान्डले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपाल १३.५ ओभरमा ९ विकेट गुमाएर ६८ रन बनाउँदा अलआउट भयो।
कप्तान इन्दु बर्मा ५ बलमा ५ रन बनाउँदा रिटायर्ट आउट भइन्। त्यसपछि उनी ब्याटिङमा आउन नसक्दा नेपाली टोली अलआउट भएको हो।
समूह चरणमा भएका खेलमा एकमा जित र तीनमा हार भोग्दै नेपाल ग्लोबल छनोटबाटै बाहिरिएको हो।
पहिलोपटक ग्लोबल छनोट खेलेको नेपाली टोली २ अंक बनाउँदै समूह बीको चौथो स्थानमा सीमित बन्यो।
नेपालको हारसँगै थाइल्यान्ड भने एक खेलअगावै सुपर सिक्समा पुगेको छ।
समूह बीमा नेपाल चौथो र जिम्बाब्वे पाँचौँ स्थानमा रहँदै समूह चरणबाटै विश्वकप छनोट यात्रा सकाएका हुन्।
उक्त समूहबाट स्कटल्यान्ड, नेदरल्यान्ड र थाइल्यान्ड सुपर सिक्समा पुगेका छन्।
समुह एबाट बंगलादेश, आयरल्यान्ड र अमेरिका सुपर सिक्समा पुगेका छन्। पपुवा न्युगिनी र नामिबिया भने समूह चरणबाटै बाहिरिए।
तीन खेलमा हार भोगेपछि नेपालको विश्वकप यात्रा समूह चरणमै अन्त्य भएको हो।
सुपर सिक्स पुग्न जित्नैपर्ने दबाब र अंक गणितीय हिसाबले झिनो आशा बोकेको नेपाली टोलीले दोस्रो इनिङस्मा उत्कृष्ट प्रदर्शन गर्न सकेन।
पहिलो इनिङ्समा सानदार सुरुवात गरेको नेपालका ब्याटरहरू दोस्रो इनिङ्समा लामो समय क्रिजमा टिक्न सकेनन्।
रोमा थापा १४ रनमा अविजित रहिन्। ओपनर बिन्दु रावलले १४ रन बनाइन्। रुबिना क्षेत्रीले १० रन थपिन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्ड्स निर्धारित २० ओभरमा १ सय ४० रन बनाउँदा अलआउट भयो।
नेपालका लागि मनीषा उपाध्यायले सर्वाधिक ४ विकेट लिइन्। ग्लोबल छनोटमा पहिलो खेल खेलेकी मनीषाले आफ्नो ओभरमा १७ रन खर्चेर ४ विकेट लिइन्।
रुबिना क्षेत्रीले २ विकेट लिइन्। उनले ४ ओभरमा २३ रन खर्चिइन्। उनले अन्तिम ओभरमा लगातार २ विकेट लिँदै स्कटल्यान्डलाई कम स्कोरमा रोकिन्।
रिया शर्मा, सीता रानामगर र कविता जोशीले समान एक/एक विकेट आफ्नो नाममा गरे।
मनीषाले पहिलो ओभरमै २ विकेट लिएर नेपाललाई उत्कृष्ट सफलता दिलाएकी थिइन्। उनले दोस्रो बलमा ओपनर क्याथेरिन फ्रासर र चौथो बलमा डेर्सी कार्टरलाई पेभेलियनको बाटो देखाइन्।
स्कटल्यान्डका लागि प्रियानाज चट्टेर्जीले सर्वाधिक ४५ रनमा अविजित रहिन्। एल्सा लिस्टरले २२, सराह वर्सीले १८ र मेगन मेकोलले १७ रन थपिन्।
Shares

प्रतिक्रिया