अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले आफ्नो खेल जीवनको ऐतिहासिक ९०० औं गोल पूरा गरेको रात उनको क्लब इन्टर मियामी कन्काकाफ च्याम्पियन्स कपबाट बाहिरिएको छ। बुधबार राति भएको रोमाञ्चक भिडन्तमा न्यासभेल एससीसँग १–१ को बराबरीमा रोकिएपछि ‘अवे गोल’को आधारमा मियामी क्वाटरफाइनल दौडबाट पाखा लागेको हो।
फ्लोरिडास्थित घरेलु मैदानमा भएको दोस्रो लेगको खेल बराबरीमा सकिएपछि समग्र नतिजा पनि १–१ को बराबरी भएको थियो। न्यासभेलले मियामीकै मैदानमा गोल गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो। अब न्यासभेलले क्वाटरफाइनलमा फिलाडेल्फिया युनियन वा मेक्सिकोको क्लब अमेरिका मध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।
मेस्सीको कीर्तिमानी ९०० गोल
खेलको सातौं मिनेटमै सर्जियो रेगुइलनको पासमा १० यार्ड टाढाबाट गोल गर्दै मेस्सीले मियामीलाई अग्रता दिलाएका थिए। यो गोलसँगै मेस्सीले क्लब र राष्ट्रका लागि गरी आफ्नो खेल जीवनमा कुल ९०० गोल पूरा गर्ने विश्वको दोस्रो खेलाडी बनेका छन्। फुटबल इतिहासमा सर्वाधिक गोल गर्ने कीर्तिमान क्रिस्टियानो रोनाल्डोको नाममा छ। उनको ९६५ गोल गरेको कीर्तिमान छ।
Shares

प्रतिक्रिया