नेपाली राष्ट्रिय महिला भलिबल टोली यतिबेला घरेलु मैदानमा हुने काभा महिला भलिबल च्याम्पियनसिपको अन्तिम तयारीमा छ।
नेपालले शुक्रबार बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्दै काभा च्याम्पियनसिपको सुरुवात गर्नेछ।

२०८१ मा घरेलु मैदानमा भएको काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा नेपाल भारतसँग पराजित हुँदा उपाधिनजिक पुगे पनि सफल हुन सकेन। लिग चरणमा भारतलाई पराजित गर्दै सनसनी मच्चाएको महिला टोली फाइनलमा भने नयाँ इतिहास नजिक पुगेर टाढियो।
एभीसी एसियन सेन्ट्रल जोन च्याम्पियनसिपको पहिलो सहभागितामा नै नेपालले स्वर्णपदक जित्दै इतिहास बनाएको थियो। २०७६ मा बंगलादेशमा भएको एभीसी एसियन सेन्ट्रल जोन च्याम्पियनसिपमा उपाधि उचालेको थियो। पहिलो संस्करण नेपालले एक सेट पनि नगुमाई फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको थियो।
२०७८ मा बंगलादेशमा भएको दोस्रो संस्करण उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले उपाधि रक्षा गर्यो। सुरुवाती दुई संस्करण घरेलु मैदानमा खेलेको नेपाली महिला टोलीले घरेलु मैदानमा भने लगातार तेस्रो पटक काभाको प्रतियोगिताको खेल्न लागेको हो।

फरक नाममा भएको काभाको अन्तर्राष्ट्रिय प्रतियोगिताको तेस्रो संस्करणमा नेपाल सेमिफाइनलबाट अघि बढ्न सकेन।
चौथो संस्करण अर्थात् २०८१ मा घरेलु मैदानमा भारतसँग पराजित हुँदै नेपाल उपविजेतामा सीमित बन्न पुग्यो। तर यो पटक महिला टोलीको लक्ष्य उपाधि नै हो। काभाका लागि निरुता ठगुन्नाको कप्तानीमा १४ सदस्यीय अन्तिम टोलीको घोषणा भएको छ।
महिला भलिबलकी सफल कप्तान अरुणा शाही अस्ट्रेलिया पुगेपछि टोलीको कप्तानी जिम्मेवारी निरुताको काँधमा आएको छ। टोलीकी कप्तान निरुता ठगुन्नाले युवा र अनुभवी खेलाडीले टोली बलियो रहेको बताइन्।

कप्तान अरुणासहित महिला टोलीका अनुभवी र सिनियर खेलाडीहरु सरस्वती चौधरी, साफिया पुन, प्रतिभा माली, पुनम चन्द, कविता भट्टलगायतका खेलाडी अष्टे«लिया पुगेका छन्।
त्यसैले यो पटक काभा खेल्ने टोलीमा युवा र अनुभव खेलाडीको सम्मिश्रण छ। युवा खेलाडीलाई समेट्दै बनेको नेपाली टोलीको प्रदर्शन कस्तो होला भन्ने जिज्ञासा भलिबल समर्थकको छ।
नेपाली टोली जगदीश भट्टको प्रशिक्षणमा व्यस्त छ।

भट्ट महिला भलिबलका सफल प्रशिक्षक हुन्। उनको प्रशिक्षणमा नै नेपालको महिला टोलीले पहिलोपटक स्वर्ण पदक जितेको थियो। टोलीका मुख्य प्रशिक्षक भट्टले घरेलु मैदानमा आफूहरु उपाधिका लागि नै स्पर्धा गर्ने बताएका छन्।
दुई पटकको च्याम्पियन नेपाल यो पटक घरेलु मैदानमा उपाधि जित्ने योजनामा छ।
च्याम्पियनसिपको पहिलो खेलमा नै भारतसँग भिड्न लागेको नेपाली टोलीको यो पटकको काभा यात्रा अझ रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने आशा छ।
भिडिओ






प्रतिक्रिया