यसपालि अर्जेन्टिनाले उपाधि रक्षा गर्ला कि फ्रान्सले विश्वकप उचाल्ला? कि यसपालि पोर्चुगलको विश्वविजेता बन्ने समय त हैन?
जुलाई १९ ले गर्नेछ यसको फैसला। अमेरिकाको न्युयोर्क न्युजर्सी स्टेडियममा ४८ मध्येको कुनै एक टोलीले यही दिन फिफा विश्वकप २०२६ को ट्रफी उचाल्दै खुसी साटिरहेको हुनेछ। त्यो ट्रफी उचाल्ने टोली कुन हुनेछ? आउनुहोस्, हेरौँ ५ दाबेदारलाई।
फिफा विश्व वरीयताअनुसार शीर्ष ५ टोलीलाई यसपालि ट्रफीको दाबेदार मानिएको छ। फिफा विश्व वरीयताका शीर्ष ५ मा फ्रान्स, स्पेन, अर्जेन्टिना, इंग्ल्यान्ड र पोर्चुगल छन्।
यी पाँचै टोली विश्वस्तरीय प्रतिभावान् खेलाडी र उपाधिको महत्त्वाकांक्षा बोकेर विश्वकपमा सहभागी हुँदै छन्। वरीयताका यीमध्ये ४ राष्ट्रले ७ वटा विश्वकप जितेका छन्। फ्रान्सले सन् १९९८ र सन् २०१८, स्पेनले सन् २०१०, अर्जेन्टिनाले सन् १९७८, १९८६ र २०२२ तथा इंग्ल्यान्डले सन् १९६६ मा विश्वकप उचाल्दा पोर्चगल अझै पर्खाइमै छ।
दुई पटकको विश्वविजेता फ्रान्स सन् २०२२ मा कतारमा भएको विश्वकपको उपविजेता हो। फाइनलमा फ्रान्सलाई पाखा लगाउँदै अर्जेन्टिनाले तेस्रोचोटि उपाधि उचालेको थियो। स्पेन र इंग्ल्यान्डले १–१ पटक उपाधि चुमेका छन्। उनीहरु यसपालि उपाधिको भोक लिएर मैदानमा जाँदै छन्। यता पोर्चुगल पहिलो ट्रफीको व्यग्र प्रतीक्षामा देखिन्छ।
यस्ता छन् विश्वविजेताका ५ दाबेदार

फ्रान्स
२०१८ को विजेता मात्र होइन, पछिल्लो विश्वकपको फाइनल खेलेको फ्रान्सले डिडियर डेशच्याम्पको प्रशिक्षणयता विश्वकपमा सधैँको दाबेदारको बेग्लै बेन्चमार्क खडा गरेको छ।
प्रतिभाशाली युवाको आगमनसँगै फ्रान्स बलियो टोलीका रुपमा विश्वकपमा उत्रिँदै छ। आफ्नो करिअरकै उचाइमा रहेका केलियन एमबाप्पे रहेको यो टोली उपाधिको भोको देखिन्छ। उनले २७ नपुग्दै फ्रान्सलाई विश्वविजेता बनाइसकेका छन्।
चार वर्षअघि कतारमा उनले फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बनेका थिए। त्यसयता उनी अहिले पीएसजीबाट रियल मड्रिडमा आएका छन्। क्लब फुटबलमा पहिलो दुई सिजन धेरै गोल गर्ने खेलाडी बनेका छन्।
२०२५–२६ सिजनमा उनले ४४ खेलमा ४२ गोल गरेका थिए। एम्बाप्पे मात्र होइनन्, फ्रान्सेली टोलीमा द बेस्ट फिफा मेन्स प्लेयर विजेता उसमान डेम्बेले पनि छन्। यसपालिको यो टोली पेस, पावर र अनुभवको संयोजनले भरिपूर्ण छ।
यदि यसपालि फ्रान्सले युवा आक्रामक खेलाडीलाई एकीकृत बनाउन र लयमा राख्न सक्यो भने उपाधि जित्न सक्ने देखिन्छ।

स्पेन
२०२४ को युरोपेली विजेता र अहिलेको अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा राम्रो टिम हो स्पेन। लुइस डे ला फ्युन्टेको प्रशिक्षणमा स्पेन विश्वकपमा उत्रिँदै छ।
उनले टोलीलाई परम्परागत पोसेसनमा आधारित पहिचान भरिदिएका छन् भने आक्रमणमा स्वतन्त्रता दिएका छन्। यो टोलीका सर्वाधिक आकर्षण र भरोसायोग्य खेलाडी हुन् लामिन यामल।
१८ वर्षीय उनले यसअघि नै स्पेनको सबैभन्दा आकर्षक आक्रामक हतियार साबित गरिसकेका छन्। बार्सिलोनाका यी विंगर युरो २०२४ पछि द्रुतगतिमा उदाएका छन्। क्लब खेलमा उनको लोभलाग्दो प्रदर्शन छ। २८ ला लिगा खेलमा १६ गोल र १२ असिस्ट दिएका उनले समग्रमा २८ गोलमा योगदान गरेका छन्। जसले बार्सिलोना लिग च्याम्पियन बन्न मद्दत गरेको छ।
यसपालि उनी नै स्पेनको उपाधि आशाको केन्द्रमा छन्। स्पेनको टोलीमा युवा र अनुभवी दुवैको संयोजन छ। रोड्री, पेड्री, डानी ओल्मो र यामलले यो टोलीको आक्रमणमा क्रिएटिभिटी र अनप्रेडिक्टेबिलिटी दिनेछन्। युरो सफलतापछि यो टोली झनै बलियो बनेकाले पनि यसपालिको दाबेदारका रुपमा स्पेनलाई लिन सकिन्छ।
यद्यपि धेरैजसो युवा खेलाडीको पहिलो विश्वकप भएकाले अनुभवको कमी भने हुन सक्नेछ। तीव्र प्रतिस्पर्धात्मक खेलमा सही समयमा सही निर्णय गर्न सक्ने, विपक्षीको रक्षापंक्ति तोड्ने सेन्ट्रल स्ट्राइकरबारे पनि चुनौती र प्रश्नहरु नभएका होइनन्।

अर्जेन्टिना
अर्जेन्टिना साबिक विश्वविजेताको रुपमा क्यानडा, मेक्सिको र अमेरिकामा हुने विश्वकपमा जानेछ। सन् १९६२ मा ब्राजिल लगातार विश्वकप जित्ने पहिलो टोली बनेजस्तै बन्ने यसपालि अर्जेन्टिनाको लक्ष्य हुनेछ।
कतारमा जितेयता लियोनल स्कालोनीको यो टोली आकर्षणको केन्द्रमा छ। यसले २०२४ को कोपा अमेरिका समेत जितेको थियो। यसका स्टार प्लेयर लियोनल मेसी छन्। ३९ वर्षको उमेरमा पनि उनी अर्जेन्टिनाको मुटुको ढुकढुकी बनेका छन्।
उनी खेललाई आफ्नो पोल्टामा पार्न सिपालु मानिन्छन्। उनीसँग त्यो भिजन र खुबी छ। इन्टर मायामीमा खेलिरहेका मेसीले अमेरिकामा एमएलएस कप उचालिसकेका छन्। उनी ठूला प्रतिस्पर्धामा निर्णायक समयमा गोल गर्न सक्ने खेलाडी हुन्।
स्कालोनीले यो टोलीलाई लयमा राख्न सफल भएका छन्। त्यसैको फल २०२२ को विश्वकप थियो। जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टार, क्रिस्टियन रोमेरो जस्ता खेलाडी करिअरकै महत्त्वपूर्ण समयमा रहेकाले यो विश्वकपमा अर्जेन्टिना दाबेदार टोली हो।
मैदानी सन्तुलन, चलाखीपूर्ण अनुशासन र खतरनाक प्रतिस्पर्धी मानसिकताको संयोजनले भरिएको यो टोलीलाई बलियो दाबेदारका रुपमा हेरिएको छ। यद्यपि मेसीको शारीरिक अवस्थालाई लिएर केही चिन्ता भने छ। उनको यो छैठौँ विश्वकप खेल हो। कतारमा जित्दाझैँ भावनात्मक सघनता यो टिमले यसपालि पनि दोहोर्याउनुपर्ने चुनौती भने छ।

इंग्ल्यान्ड
पछिल्ला चार मुख्य प्रतिस्पर्धामध्ये तीनवटामा इंग्ल्यान्ड सेमिफाइनलसम्म पुगेको छ। यसपालि पनि इंग्ल्यान्ड टोली सन् १९६६ यता पहिलो मुख्य ट्रफी जित्न सकिन्छ भन्ने विश्वास र आशामा विश्वकपमा जाँदै छ।
२०२१ को यूईएफए च्याम्पियन्स लिग विजेता थोमस टुचेलको प्रशिक्षणमा यो टोली छ। नयाँ पुस्ताका आकर्षण जुडे बेलिङघाम क्लब र देशका लागि निर्णायक घडीमा गोल गर्न सक्ने खेलाडी मानिन्छन्। यो टोलीको आक्रमण पंक्ति पनि बलियो छ। जसलाई ह्यारी केनले नेतृत्व गर्नेछन्। बुन्डेसलिगा खेलिरहेका केनले ५१ खेलमा ६१ गोल गरी बायर्न म्युनिखलाई उपाधि जिताएका छन्।
उनीसँगै बुकायो साका र मार्कस राशफोर्डजस्ता प्रतिभाशाली खेलाडी छन्। यो टोलीमा मोर्गन रोजर्स, एबरेची एज र एन्थनी गोर्डनजस्ता पर्याप्त विकल्पहरु रहेकाले टोली सन्तुलित देखिन्छ।
यता प्रशिक्षक टुचेललाई ६० वर्षको अन्तर्राष्ट्रिय उपाधिको खडेरी टार्नुपर्ने चुनौती छ। अघिल्ला प्रशिक्षक ग्यारेथ साउथगेटले सन् १९९० यता पहिलोपटक सन् २०१८ मा टोलीलाई विश्वकप सेमिफाइनलसम्म पुर्याएका थिए।
उनको नेतृत्वमा यो टोली लगातार युरो फाइनल पुगेको थियो। कतारको विश्वकपमा भने क्वार्टरफाइनलबाट बाहिरियो। केनको फिटनेस यो टोलीको चुनौती हो।

पोर्चुगल
एउटा पूर्ण टोलीका रुपमा पोर्चुगल विश्वकपमा जाँदै छ। सन् २०१६ मा युरोकप, दुईवटा नेशन्स लिग जितेयता पोर्चुगलले आफूलाई मुख्य प्रतिस्पर्धामा सधैँको दाबेदार टोली साबित गर्दै आएको छ।
यो विश्वकपमा उपाधिका लागि खरो उत्रिने आशा र विश्वासमा टोली विश्वकपमा जानेछ। यसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो छन्।
कीर्तिमानी रुपमा छैठौँ विश्वकप खेल्ने खेलाडी बन्न लागेका उनी यो टोलीका कप्तान समेत हुन्। प्रभावशाली खेलाडी व्यक्तित्व उनले क्लबस्तरमा अझै पनि निरन्तर गोल गर्दै आएका छन्। साउदी अरेबियाको अल नासरमा खेल्ने उनीसँगै पोर्चुगलले धेरै आक्रमण विकल्पहरु पाएको छ।
रोनाल्डोको नेतृत्व, अनुभव र खेल चलाखीले पोर्चुगलको उपाधि सपना साकार पार्न सक्नेछ। साथमा ब्रुनो फर्नान्डेज र भिटिन्हा पोर्टाे जस्ता खेलाडीले रोबर्टो मार्टिनेजको टोलीमा नियन्त्रण, मध्यपंक्तिमा सिर्जनशीलता भर्नेछ। बर्नार्डो सिल्भा, रफाइल लियो र जोआओ नेभेसले प्राविधिक गुणस्तर र शक्ति थप्नेछन्। रुबेन डियाजजस्ता खेलाडीले ब्याकलाइन मजबुत बनाउनेछ।
समग्रमा टोली बलियो रहेकाले उपाधि जित्न सक्ने टोली मानिएको छ। यो टोलीको चुनौती भनेको स्थापित खेलाडी र उदाउँदो पुस्ताबीचको सन्तुलनको मेल हो। मार्टिनेजले यसलाई कसरी मिलाउलान् हेर्न बाँकी छ। त्यसैगरी पोर्चुगलका लागि बलियो टोलीसँग खेल्दा रक्षापंक्तिमा स्थिरता कायम गर्नु अर्को चुनौती हुनेछ।
Shares

प्रतिक्रिया