खेल


फुटबल टोलीले फेरि गुमायाे घरेलु दर्शकबीच अन्तर्राष्ट्रिय खेल खेल्ने मौका

फुटबल टोलीले फेरि गुमायाे घरेलु दर्शकबीच अन्तर्राष्ट्रिय खेल खेल्ने मौका

लक्ष्मी जि.सी
चैत १, २०७७ आइतबार ७:५७,

छ वर्षपछि घरेलु दर्शकको उपस्थितिमा दशरथ रंगशालामा खेल्ने नेपाली राष्ट्रिय टोलीका खेलाडीको चाहना पूरा नहुने भएको छ।

नेपालले दशरथ रंगशालामा खेल्ने भनेर तय भएको खेल नहुने पक्का भएपछि औपचारिक अन्तर्राष्ट्रिय खेलका लागि राष्ट्रिय टोलीले केही समय अझै कुर्नुपर्ने भएको हो।

नेपाल समावेश विश्वकप छनोट २०२२ तथा एसियन कप २०२३ का छनोटका बाँकी सबै खेल कुवेतमा गर्ने एसियाली फुटबल महासंघ (एएफसी) खेलले गत शुक्रबार नै जानकारी गराएको छ।

कोभिड १९ का कारण एएफसीले विश्वकप छनोटका सबै समूहको खेल सेन्ट्रलाइज्ड भेन्युका रुपमा कुवेतमा हुने गरी जेठ १७ देखि असार १ गतेसम्मका लागि तय गरेको छ।

पूर्वनिर्धारित होम म्याच देशबाहिर हुँदा नमज्जा लागेको सुनाउँछन् राष्ट्रिय टोलीका सदस्य सुजल श्रेष्ठ।

उनले नेपालखबरसँग भने, ‘घरेलु मैदानमा खेल्न उत्साहित थियौँ। आफ्नो ठाउँमा खेल्दा समर्थकहरुको साथ हुन्थ्यो। अरुको भूमिका खेल्दा त्यो समर्थन हुँदैन।’

यहाँ भएको भए केही अंक बुटल्न सक्ने आशा गरेको श्रेष्ठले बताए। यद्यपि देशबाहिर खेल्नका लागि पनि टोली तयार रहेको उनको भनाइ छ।

उनले भने, ‘लामो समयदेखि प्रशिक्षणमा छौँ। त्यसले प्रदर्शनमा असर पर्न दिँदैनौँ।’

football teamm

नेपाल रहेको समूह ‘बी’का बाँकी खेलहरु अब कुवेतमै हुनेछ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले विश्वकप छनोटका लागि सबैखाले तयारी गरिएको उल्लेख गरे।

विश्वकप छनोटमा ८ मध्ये नेपालले ५ खेल खेलिसकेको छ। ‘अवे’ खेल खेलिसकेको नेपालले ‘होम’अन्तर्गत अर्को एक खेल तटस्थ भूमिका रुपमा भुटानमा खेलेको थियो।

भुटानमा कुवेतसँग १–० ले गुमाएको नेपालले त्यसअघिको ‘अवे’ खेलमा पनि सोही टोलीसँग ७–० ले पराजित भएको थियो।

नेपालले घरेलु मैदानमा अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईसँग खेल्ने तालिका थियो।

अस्ट्रेलियासँग ५–०, जोर्डनसँग ३–० को हार व्यहोरेको नेपालले चाइनिज ताइपेईलाई भने २–० ले हराएको थियो।

यसै वर्षको असोजका लागि तय छनोट खेल कोभिड १९ कारण चैतमा सारिएको थियो। चैतमा हुने भनिएको खेल पनि पछि नहुने भन्दै एएफसीले नयाँ मिति र सेन्ट्रलाइज्ड भेन्यु तय गरेको हो।

यसका लागि समेत एन्फाले पहल गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए।

एएफसीले आयोजनाका लागि आफ्नो तर्फबाट प्रस्ताव गर्न भनेको थियो।

‘त्यहीअनुसार हामीले प्रस्ताव गरेका थियौँ’, उनले भने, ‘एएफसीले तोकेको मापदण्डअनुसार दशरथ रंगशाला तयारी अवस्थामा राखेका पनि थियौँ। प्रशिक्षण मैदानमा पनि व्यवस्थित गरेका थियौँ।’

विश्वकप छनोट स्वदेशमा खेल्न नपाउँदा नेपाली टोलीले त्यसको फाइदा उठाउन नपाउने भएको महासचिव तुलाधरको तर्क छ।

‘हाई अल्टिच्युटको कारण हामीले जोर्डन र अस्ट्रेलियासँगको खेलमा फाइदा लिन सक्थ्यौं भन्ने आशा थियो’, उनले थपे, ‘अब त्यो अवसर प्राप्त नहुने भएको छ। यद्यपि लामो तयारी गरेकाले राम्रो नतिजाको आशा राखेका छौँ।’

नेपाली टोलीले पछिल्लो पटक सन् २०१५ मा भारतविरुद्ध विश्वकप छनोट खेलेको थियो। त्यसयता कुनै अन्तर्राष्ट्रिय खेल खेल्न पाएको छैन।

२०७२ वैशाखको भूकम्पले रंगशालामा क्षति पुर्याएपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता भएको थिएन।

गत वर्ष आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)का लागि रंगशालाको पुनर्निर्माण गरिएको थियो।

सागको उद्घाटन समापन र फुटबल दशरथ रंगशालामा भएको थियो। विश्वकप छनोट घरेलु मैदानमा हेर्न पाउने अवसरबाट वञ्चित हुँदा फुटबल समर्थक पनि निराश भएका छन्।

फुटबल विश्लेषक सञ्जीव मिश्रले भने कोभिड–१९ ले गर्दा विभिन्न देशको आफ्नै नियमका कारण एएफसीले सेन्ट्रलाइज्ड भूमिमा खेलाउने निर्णय गरेको बताए।

त्यहीअनुसार नेपालले नोभेम्बरबाट तयारी गरिरहेको उनको भनाइ छ। ‘त्यसले गर्दा खेलाडीहरु फिट छन्’, उनले भने, ‘अष्ट्रेलिया र चाइनिज ताइपेईलाई पनि हामीलाई जस्तो समस्या पर्छ। यो एएफसीको पनि बाध्यात्मक परिस्थिति हो।’

समूह बीमा अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ। समान खेलबाट १० अंक जोडेका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै ३ अंकका साथ चौथो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .