खेल


मलेसियालाई हराउँदै नेपाल शीर्षस्थानमा, उपाधिका लागि नेदरल्यान्ड्ससँग भिड्ने

मलेसियालाई हराउँदै नेपाल शीर्षस्थानमा, उपाधिका लागि नेदरल्यान्ड्ससँग भिड्ने

लक्ष्मी जि.सी
बैशाख ९, २०७८ बिहिबार ११:२१,

तीन देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय सिरिजको उपाधिका लागि नेपालले नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ।

बिहीबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गर्दै सहज जित निकालेको हो।

नेपालले ४ खेलमा ३ जितसहित ६ अंक जोड्यो। नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो।

नेदरल्यान्ड्सले ४ खेलमा ५ अंक जोड्यो। मलेसिया ४ खेलमा १ अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको छ।

नेदरल्यान्ड्सले ४ खेलमा २ मा जित, १ मा हार र १ मा बराबरी गर्दै ५ अंकमा तालिकाको दोस्रो स्थानमा रह्यो। ४ खेलमा १ खेलमा वर्षका कारण बराबरी गरेको मलेसियाले बाँकी खेलमा हार भोग्दै लिग चरणबाटै यात्रा सकाएको छ। फाइनल खेल शनिबार हुनेछ।

नेपालले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको मलेसिया १९ दशमलव १ ओभरमा १ सय ४८ रन जोड्दा अल आउट भयो।

मलेसियालाई कम स्कोरमा रोक्न सन्दीप लामिछाने, सोमपाल कामी र कमल सिंह ऐरिले समान ३ विकेट झारे। सुसन भारीले एक विकेट लिए।

मलेसियाका अनिमुद्धिन र्याम्लीले ४१ रन जोडे। १८ बलको सामना गरेका उनले ५ छक्का र १ चौका हाने। कप्तान अहमद फैजले ३१ रन थपे। फिर्ती सामले १४, विरनदिप सिंहले १३ रन जोडे।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ७ रनको योगफल तयार पारेको हो।

सातौं नम्बरमा ब्याटिङ गर्न आएका करणले १३ बलमा ७ छक्का मद्दतमा ४५ रनको महत्वपुर्ण योगदान दिए। टि–ट्वान्टी क्रिकेटमा नेपालले दोस्रो ठूलो योगफल तयार पारेको हो।

त्यसअघि नेपालले नेपालमा भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले २ सय ३६ रनको योगफल बनाएको थियो।

ओपनर आसिफ शेखले ४२ रनको योगदान दिए। ३२ बलको सामना गरेका उनले ३ चौका र ३ छक्का हाने। कप्तान ज्ञानेन्द्र मल्लले ४१ रन थपे।

२५ बलमा कप्तान मल्लले १ चौका र ४ छक्का हाने। उपकप्तान दिपेन्द्र सिह ऐरिले ३३ रन जोडे। कुशल भुर्तेलले १६ रन, विनादे भण्डारीले ८ रन जोडे। कुशल मल्ल १९ रनमा नटआउट रहे। सोमपाल कामी २ रन जोड्दा एलबीडब्लु धरापमा परे।

मलेसियाका सयद अजिज र फिर्ती सामले समान २ विकेट लिँदा मुहम्मद वाफिकले एक विकेट लिए।

sandip2021abc

सन्दीपको सयौं खेल
ट्वान्टी ट्वान्टी क्रिकेटमा एक सयौं खेल खेलेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा ४२ रन खर्चेर ३ विकेट लिएका हुन्।

सिरिजमा उनी सर्वाधिक विकेट कर्ताको शीर्ष स्थानमा छन्। सन्दीपले ४ खेलमा १ सय ३७ रन खर्चेर ११ विकेट लिएका छन्। उनलाई नेपालकै सोमपाल कामीले पछ्याएका छन्। सोमपालले समान खेलबाट ६८ रन खर्चेर ५ विकेट लिए।

बिहीबार भएको मलेसियाविरुद्धको खेलबाट सन्दीप एक सयौं टि–ट्वान्टी खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका छन्।

सन् २०१८ को १२ मे मा इण्डियस प्रिमियर लिग (आईपीएल) बाट ट्वान्टी ट्वान्टी खेल्न सुरु गरेका सन्दीपले हालसम्म ९९ खेल खेलिसकेका छन्। सन्दीपले नेपालबाट हालसम्म २५ र टेष्ट देशको फ्रेन्चाइज लिगमा कुल ७५ खेल खेलेका छन्।

सन्दीपले देल्ली क्यपिटल्सबाट रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेल्दै टि२० मा डेब्यु गरेका थिए। सन् २०१८ कै ३१ मे मा आइसीसी विश्व ११ बाट वेस्टइन्डिजविरुद्ध खेल्दै टि ट्वान्टी आईमा डेब्यू गरेका हुन्। सन्दीप आफ्नो देशबाट नभएर संयुक्त टोलीबाट टि ट्वान्टी अन्तराष्ट्रिय डेब्यू गर्ने पहिलो खेलाडी पनि हुन्।

सन्दीपपछि पूर्वकप्तान पारस खड्काले ५६ टि ट्वान्टी खेल खेलेका छन्। त्यस्तै ज्ञानेन्द्र मल्ल ५३, विनोद भण्डारी ४६, वसन्त रेग्मी र शरद भेषावकरले समान ४० खेल खेलेका छन्।

kamal singh 2021aa

डेब्युकर्ता कमलको ३ विकेट
तीन देश सम्मिलित टि–ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा मलेसियाविरुद्धको खेलबाट टि ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका तीव्र गतिका बलर कमल सिंह ऐरिले ३ विकेट लिए। ३ ओभर १ बलिङ गरेका कमलले १६ रन खर्चेर ३ विकेट लिए।

कमलले २०७६ को माघ २६ गते घरेलु मैदानमै भएको आईसीसी विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्ध डेब्यू गरेका हुन्। त्यो बेला कमललाई नेपालको २३ औं ओडीआई क्याप कप्तान ज्ञानेन्द्र मल्लले दिएका थिए।

सन् २०१६ मा श्रीलंकामा भएको यू–१९ एसिया कपबाट यात्रा अघि बढाएका कमलले गत सेप्टेम्बरमा श्रीलंकामा नै भएको यू–१९ एसिया कप बाट उमेर समुहको यात्रा सकाएका थिए।

उमेर समूह र घरेलु क्रिकेट खेल्दै आएका कमलले तल्लोक्रममा ब्याटिङ सम्हाल्ने क्षमता समेत राख्छन्। श्रीलंकासँग यू१९ टोलीसँग डेब्यू गर्दै ३ विकेट लिनुको साथै ९ रन बनाएका थिए।

कमलले एभरेष्ट प्रिमियर लिगमा चितवन टाइगर्स, धनगढी प्रिमियर लिगमा च्याम्पियन सिवाईसी अत्तरिया र पोखरा प्रिमियर लिगमा धनगढी ब्लुजबाट खेलेका थिए। फ्रेन्चाइज बाहेकका अन्य घरेलु प्रतियोगितामा भने कमलले सशस्त्र प्रहरी बल एपिएफको जर्सीमा देखिन्छन्।

कमल चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी बनेका थिए। जारी सिरिजबाट कुशल भुर्तेल, आसिफ शेख, शाहब आलमले पहिलो खेलमा नै डेब्यु गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .