खेल


पोखरा थन्डर्सद्वारा विराटनगर सिटी १-० ले पराजित

पोखरा थन्डर्सद्वारा विराटनगर सिटी १-० ले पराजित

नेपालखबर
बैशाख १५, २०७८ बुधबार १४:०,

फरवार्ड नवयुग श्रेष्ठको गोलमा पोखरा थन्डर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा विराटनगर सिटी एफसीलाई १-० ले पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नवयुगले खेल सकिन ७ मिनेट बाँकी रहँदा गरेको गोल नै पोखराको जितमा निर्णायक बन्यो। नवयुगले ८३औं मिनेटमा मौसा अब्बाको फ्रिकिकलाई हेडमार्फत गोल गरेका हुन्।

खेलको ११औं मिनेटमा मौसा अब्बाले वान भर्सेस वानको अवस्थामा गरेको प्रहार आकासिदा पोखरा थन्डर्स अग्रता लिनबाट चुक्यो। अघिल्लो खेलमा धनगढीलाई ३–० ले हराएको विराटनगरले पोखराविरुद्ध भने हार भोगेको हो।

४४औं मिनेटमा पेड्रो मान्जीले गोलरक्षक दिप कार्कीलाई बिट गर्दै गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा विराटनगर अग्रता लिनबाट चुक्यो। ६१औं मिनेटमा रवि पासवानले पेनाल्टी बक्सबाहिरबाट गरेको सशक्त प्रहार क्रसबारमा लागेर बाहिरिदा पोखराले अग्रता लिन सकेन।

८३औं मिनेटमा नवयुगले गोल गर्दै पोखरालाई १–० को अग्रता दिलाएका हुन्। मौसा अब्बाको फ्रिकिकमा नवयुगले अघि बढ्दै हेडमार्फत गोल गरेका हुन्। जितपछि पोखराले २ खेलबाट ३ अंक जोडेको छ। पराजित विराटनगरको दुई खेलबाट ३ अंक छ।

खेलका ‘प्लेयर अफ द म्याच’ नवयुग श्रेष्ठले २५ हजार रुपैयाँ प्राप्त गरे भने ‘इमर्जिङ प्लेयर’ नितिन थापाले १० हजार रुपैयाँ प्राप्त गरे।

एनएसएलमा बिहीबार ललितपुर सिटी एफसी र धनगढी सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ। नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ।

एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन्।

प्रतियोगिताको विजेताले ३५ लाख तथा उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन्। व्यक्तिगत विधातर्फका उत्कृष्टले जनही १ लाख तथा उत्कृष्ट युवा खेलाडीले पनि १ लाख रुपैया हात पार्नेछन्। हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार रुपैयाँ पाउने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad