खेल


लक्ष्य स्वर्ण, तयारी अपूर्ण (भिडियो)

लक्ष्य स्वर्ण, तयारी अपूर्ण (भिडियो)

यज्ञराज जोशी
साउन ३१, २०७६ शुक्रबार १०:२३,

‘नेपाललाई स्वर्ण जिताएर सन्न्यास लिन मन छ’

नेपालबाट ४१ क्याप जितेकी र करिअरको उत्तरार्धमा रहेकी नेपाली महिला टोलीकी कप्तान निरू थापा(३०) जस्तै सम्पूर्ण नेपाली महिला फुटबल टोलीका सदस्यहरूले पछिल्लो समय देख्दै आएको सपना हो- नेपाललाई स्वर्ण दिलाउने।

सन् २०१० मा निरूले नेपाली टोलीबाट डेब्यु गरिन्। त्यसयताको नेपाली महिला टोलीलाई स्वर्णिम पुस्ता मानिन्छ। २०१० यताको टोलीले नेपाललाई ७ वटा फाइनलमा पुर्यायो। तर, उपाधिको भोक भने कहिल्यै मेटिएन।

सातैमा फाइनलमा उपविजेतामै रोकिनुपरेको महिला टोलीले यसपटक पुनः स्वर्णको लक्ष्य राखेको छ। घरेलु मैदानमा आगामी मंसिर १५-२४ मा हुने दक्षिण एसियाली खेलकुद(साग)मा स्वर्ण जित्ने लक्ष्यसहित नेपालले प्रशिक्षण समेत सुरु गरिसकेको छ।

nepali women final listनेपाली महिला फुटबल टोलीले खेलेका फाइनल र नतिजा

सन् २०१० मा ढाकामा भएको साग गेम्समा पहिलोपटक महिला फुटबल समावेश गरिएको थियो। पहिलो संस्करणसँगै २०१६ मा भारतको सिलोङमा भएको साग महिला फुटबलको पनि नेपाल फाइनलिस्ट टोली हो। तर, दुवैपटक नेपाल फाइनलमा भारतसँग पराजित भयो।

ती दुवै फाइनलमा उपाधि जित्न नसकेको नमिठो अनुभव बोकेकी निरूले यसपटक घरेलु मैदानमा नेपाललाई स्वर्ण जिताएर सन्न्यास लिने योजना बनाएकी छन्। उनी भन्छिन्, ‘सागमा गोल्ड मेडल ल्याएर सन्न्यास लिन चाहन्छु। त्यसका लागि टिम र मैले कडा मेहनत गरिरहेका छौं।’

सागसँगै नेपालले खेलेका अन्य ६ फाइनलबाट नेपाललाई उपाधि विमुख बनाउने टोली पनि भारत नै हो। तर, गत वर्ष भएको हिरो गोल्डकपमा भारतलाई उसैको भूमिमा पहिलोपटक हराएर नेपालले मनोबल उच्च बनाएको थियो।

भारतलाई हराउँदा नेपालको कप्तान निरू नै थिइन्। फाइनलमा भने म्यानमारसँग ३-१ ले नेपाल पराजित भयो। यस्तै अघिल्लो वर्ष नै निरूको कप्तानीमा नेपाल पहिलोपटक ओलम्पिक छनोटको दोस्रो चरणमा पुग्यो। अनु लामाको स्थानमा ओलम्पिक छनोटमा नै निरूले पहिलोपटक नेपाली टोलीको कप्तानी पाएकी थिइन्।

niru thapaकप्तान नीरु थापाको नेपाललाई स्वर्ण दिलाउँदै सन्न्यास लिने योजना छ। तस्बिर: प्रबिन कोइराला

फागुन(२०७५)मा विराटनगरमा नेपालले साफ महिला च्याम्पियनसिप खेल्यो। केही अघिमात्रै हिरो गोल्डकपमा भारतलाई पराजित गरेको नेपालले यस साफमा भारतलाई पन्छाउँदै उपाधिको खडेरी तोड्ने अनुमान थियो। तर, भारतसँग पुनः ३–१ ले फाइनलमा पराजित भएपछि नेपालको स्वर्ण सपना पछाडि अझै धकेलियो।

कप्तान निरू भन्छिन्, ‘साफमा हामीले रक्षापंक्ति र अग्रपंक्तिमा बिगारेका थियौं। यसपटक त्यसैमा सुधार ल्याउने योजनामा छौं। भारतलाई यसअघि पनि पराजित गर्दै हामीले क्षमता प्रमाणित गरिसकेका छौं। सागअघि म्याच एक्सोजर पाइयो भने यसपटक स्वर्ण ल्याउनेछौं।’

तयारीः भारतको स्पेनमा, नेपाली सुस्त
नेपालको मुख्य प्रतिद्वन्द्वी भारत अहिले स्पेनमा तयारी गरिरहेको छ। उसले त्यहाँको कोटिफ कपमा सहभागिता जनाउँदै बोलिभिया, भिल्ला रियल तथा स्पेन यू–१९ लगायतका टोलीसँग प्रतिस्पर्धा गर्‍यो। प्रतियोगितामा भारतको प्रदर्शनबाट प्रभावित हुँदै आयोजकले इतिहासमै पहिलोपटक स्पेसल ट्रफीका रूपमा भारतलाई तेस्रो स्थानको ट्रफी दियो। जुन आयोजकले आजसम्म कसैलाई दिएको थिएन।

स्पेसल ट्रफी पाएपछि भारतीय टोलीकी मुख्य प्रशिक्षक मोयमल रोक्कीको प्रतिक्रिया थियो- ‘यसपटक हाम्रो प्रदर्शन निकै राम्रो थियो र त्यसमा आयोजकको पनि ध्यान पुग्यो। हामीले भिल्लारियल(ला लिगा टोली) र स्पेनसँग हारे पनि कडा चुनौती दिएका थियौँ। आयोजकले पछिल्लो एक वर्षमा हामीले गरेको प्रगतिको कदरस्वरूप स्पेसल ट्रफी प्रदान गर्दा खुसी छौं।’

indiaदक्षिण एसियाली फुटबलमा नेपालको मुख्य प्रतिद्वन्द्वी भारत हो

साफपछि भारतीय महिला टोलीका सदस्यले भारतीय लिगसँगै निरन्तर अभ्यास गर्दै यूरोप गएर अभ्यास गर्न समेत भ्याए। तर, नेपालमा भने साफपछि उपमेयर कप महिला फुटबल मात्रै भयो। त्यसमा पनि विभागीय टोलीहरूलाई खेल्न नपाइने नियमका कारण अधिकांश राष्ट्रिय टोलीका खेलाडीहरूले सहभागिता जनाउन पाएनन्।

भारतले विदेश गएर तयारी गर्दासमेत नेपालको तयारी सुरु नहुनुले महिला फुटबलप्रति सम्बन्धित निकायको ध्यान नपुगेको अनुभव गरेको राष्ट्रिय टोलीकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी बताउँछिन्।

‘साफ च्याम्पियनसिपपछि नै म्याच एक्सोजरका लागि विदेश पठाएको भए अझै राम्रो नतिजा दिन सकिन्थ्योे,’ सावित्रा भन्छिन्, ‘भारतले स्पेनमा गएर टुर्नामेन्ट खेलिरहेको छ। तर, घरेलु मैदानमा स्वर्ण जित्ने लक्ष्य लिएका हामीले अझै राम्रोसँग तयारी गर्न पाइरहेका छैनौं। यसले सम्बन्धित निकायहरूको ध्यान महिला फुटबलमा अझै नपुगेको महसुस हुन्छ।’ 

nepali women team 5नेपाली महिला टोली। तस्बिर: प्रबिन कोइराला

नेपालले दुई साताअघिबाट मात्रै प्रारम्भिक प्रशिक्षण थालेको हो। सुरुको एक हप्ता नेपालले एन्फास्थित कृत्रिम मैदानमा फिटनेस अभ्यास गर्‍यो। जहाँ राष्ट्रिय पुरुष सिनियर टोली, यू-२३ टोली को पनि प्रशिक्षण भइरहेकाले महिला टोलीले मैदान अभावको समस्या खेप्नुगर्‍यो। मैदान अभावकै कारण एक हप्ताभन्दा बढी कृत्रिम मैदानको एकापट्टि यू–२३ पुरुष टोली र अर्कापट्टि महिला टोलीले प्रशिक्षण गरे।

गत आइतबारबाट भने बल्ल महिला टोलीले नेपाल प्रहरीको केन्द्रीय कार्यालय नक्सालमा रहेको मैदानमा बन्द प्रशिक्षण सुरु गरेको छ।

अझै पनि उपर्युक्त प्रशिक्षण तथा म्याच एक्सोजर पाए आफूहरूले भारतसँग साफ च्याम्पियनसिपमा हारेको बदला लिन सक्ने सावित्रा बताउँछिन्।

‘साफ च्याम्पियनसिप सजिलै जितौंला भन्ने थियो तर पहिलो हाफभन्दा दोस्रो हाफमा आफ्नै कमजोरीले हार्न पुग्यौं,’ उनी थप्छिन्, ‘यसपालि विशेष तयारीमा ढिलो गर्नुहुन्न। एसियनमात्रै नभएर युरोपियन देश गएर पनि म्याच एक्सोजर लिन पायौं भने सागमा भारतलाई हराएर रिजल्ट दिनसक्छौं।’

sabitra Bhandariसावित्रा भण्डारी नेपाली महिला फुटबल टोलीकी मुख्य स्ट्राइकर हुन् । तस्बिर: प्रबिन कोइराला

अखिल नेपाल फुटबल संघ(एन्फा)ले ३ दिनअघि(साउन २८)मात्रै म्याच एक्सोजरका लागि किर्गिस्तानमा हुने नादेझ्दा कप खेल्ने टुंग्याएको छ। त्यसमा पनि ५ दिनमा ४ खेल खेल्दै नेपाली टोली घर फर्कनेछ। जसमा आयोजक किर्गिस्तानसँगै ताजिकिस्तान र उज्बेकिस्तानले पनि सहभागिता जनाउँदै छन्।

स्वर्णकै लक्ष्य
मुख्य प्रशिक्षक खड्काले सागको तयारी लागि प्रारम्भिक चरणमा ८ नयाँ खेलाडीसहित ४२ खेलाडी बोलाएका हुन्। आफूले उत्कृष्टमध्येबाट पनि उत्कृष्ट खेलाडी छानेको प्रशिक्षक खड्का बताउँछन्।

‘मैले उत्कृष्ट खेलाडीहरू छानेर त्यसैका आधारमा टिम बनाएको छु,’ खड्काले नेपालखबरसँग ‘जुनसुकै प्रशिक्षकले जिम्मेवारी लिइसकेपछि उसको लक्ष्य स्वर्ण नै हुन्छ। त्यो लक्ष्य मेरो पनि छ। हामीले स्वर्णकै लक्ष्य राखेरै तयारी शुरु गरेका हौं। त्यसका लागि टिमले भरपुर मेहनत गर्नेछ।’ 

Hari Khadka 1हरी खड्का

प्रशिक्षक खड्काले साफ च्याम्पियनसिपमा भएका कमजोरी सुधार्नेमा मुख्य ध्यान दिएको बताउँछन्। ‘घरेलु मैदानमा यस टोलीले जित्ने भावना जगाएका थिए। त्यसका बाबजुद पनि हार्यौ,’ खड्काले भने, ‘अहिले के कारणले हार्यौ भनेर केलाएका छौं। साफमा पहिलो हाफ राम्रो खेल्दाखेल्दै दोस्रो हाफमा केही कमजोरी भए। व्यवस्थित डिफेन्स, पाएका अवसरहरु सदुपयोग गर्न नसक्नुजस्ता कमजोरीलाई सुधार्दै कप्याक्ट टिम बनाउँनमा मेरो प्रशिक्षण केन्द्रित छ।’ 

प्रशिक्षक खड्का पनि भारत नै सागमा पनि नेपाली स्वर्ण लक्ष्यको तगारो हुने मान्छन्। उनी भन्छन्, ‘मुख्य प्रतिद्वन्द्वी भारत नै हो। बंगलादेशले पनि अपग्रेड गरिरहेको छ। भारतको बलियो पक्ष हामीले औल्याएको छौं। उनीहरूको बलियो पक्षलाई कसरी ब्लक गर्ने र हाम्रो कमजोरीलाई कसरी बलियो पक्षमा कन्भर्ट गर्ने भन्नेमा म केन्द्रित छु। म्याच एक्सोजरका लागि खेल्ने प्रतियोगिताहरुले पनि त्यसमा सघाउ पुर्याउनेछ।’

भिडियो:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad