ad ad

खेल


स्पेन र मोरक्कोबीचको खेल अतिरिक्त समयमा

स्पेन र मोरक्कोबीचको खेल अतिरिक्त समयमा

नेपालखबर
मंसिर २०, २०७९ मंगलबार २२:४१, काठमाडौँ

फिफा विश्वकप २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा स्पेन र मोरक्को बीचको खेल निर्धारित ९० मिनेटको समय गोललरहित बराबरीमा सकिएको छ।

पूर्वविश्वविजेतासमेत रहेको स्पेनले खेलमा अधिकांश समय बलमा नियन्त्रण राखे पनि गोल भने गर्न सकेन। मोरक्कोले पनि केही राम्रा अवसर सिर्जना गरेको भए पनि गोल भने गर्न सकेन। 

यो विश्वकपमा अतिरिक्त समयमा गएको यो दोस्रो खेल हो। यसअघि जापान र क्रोएसियाबीचको खेलको निर्धारित समय बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो

मोरक्को समूह एफको विजेता हो भने स्पेन समूह ईको उपविजेता हो। 

समूहको अन्तिम खेलमा जापानसँग अनपेक्षित पराजय व्यहोर्दा स्पेनको मोरक्कोसँग भेट भएको हो। समूह विजेता बनेको जापान भने यसअघि क्रोएसियासँग पराजित भइसकेको छ। 

गोल्डेन पुस्ता मानिएको बेल्जियममाथि जित हात पार्दै मोरक्कोले नकआउटको यात्रा तय गरेको हो। त्यसअघि क्रोएसियासँग पहिलो खेल बराबरी खेलेको थियो। अन्तिम खेलमा क्यानडालाई सहजै पराजित गर्दा मोरक्को समूह विजेता बन्यो। 

उता स्पेन भने अन्तिम खेलमा जापानसँग पराजित भएको थियो। तर पहिलो खेलमा कोस्टारिकालाई ७–० ले पराजित गर्दा उसको नकआउटको यात्रा सम्भव भएको थियो। गोल अन्तरमा जर्मनीलाई पछि पार्दै स्पेन समूह उपविजेताका रुपमा अगाडि बढेको हो।
अफ्रिकी देशबाट सेनेगलसँगै मोरक्को अगाडी बढेको थियो। सेनेगल अन्तिम १६बाट बाहिरिँदा अफ्रिकाको अन्तिम आश अब मोरक्को बनेको छ। 

पहिलो पटक १९८६ मा पहिलो पटक नकआउटमा पुगेर बाहिरिएको मोरक्कोको यो दोस्रो नकआउट हो। अफ्रिकी देशले अहिलेसम्म विश्वकप उपाधि जित्न सकेका छैनन्। स्पेनले भने पहिलो पटक २०१० मा उपाधि जितेको थियो। 

पहिलो खेलको नतिजाबाट हौसिएको स्पेन अन्तिम खेलको नतिजापछि दबाबमा छ। जापानविरुद्ध अग्रता जोगाउन नसक्दा स्पेन पराजित भएको थियो। 

२०१४ मा समूह चरणबाटै बाहिरिएको स्पेन २०१८ मा अन्तिम १६ सम्म पुगेको थियो। छैटौं पटक विश्वकपमा सहभागी भएको मोरक्को यसअघि एक पटक मात्रै नकआउटमा पुगेको थियो। अहिलेसम्म उसले क्वार्टर फाइनलमा स्थान बनाउन सकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .