ad ad

सुदूरपश्चिम


महाकाली सन्धिको २७ वर्षपछि मूल नहरमा पानी परीक्षण

महाकाली सन्धिको २७ वर्षपछि मूल नहरमा पानी परीक्षण

गोकुल जोशी
असार १३, २०७९ सोमबार १७:९, कञ्चनपुर

नेपाल र भारतबीच महाकाली सन्धि भएको २७ वर्षपछि महाकाली सिँचाइ आयोजना तेस्रो चरण अन्तर्गतको मूल नहरमा पानी परीक्षण गरिएको छ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने महाकाली सिँचाइ आयोजना तेस्रो चरणको भारतले निर्माण गरेको १२ सय मिटर मूल नहरमा सोमबार पानी परीक्षण गरिएको हो।

भारततर्फको टनकपुर ब्यारेजदेखि नेपालतर्फको १२ सय मिटरमा अहिले पानी परीक्षणको काम भइरहेको आयोजना निर्देशक रणबहादुर बमले जानकारी दिए।

‘नहर परीक्षणका लागि भारतले जम्मा गरेको पानी रोक्दै छाड्दै गरेको छ,’ उनले भने, ‘असार १५ गते धान दिवसका अवसरमा नहर सञ्चालन गर्ने गरी काम भइरहेको छ। त्यो दिन यो आयोजनाको पानीले कुनै न कुनै ठाउँमा रोपाइँ गर्ने कार्यक्रम बनाएका छौं।’ 

सन्धिअनुसार भारतले बनाएको १२ सय मिटर मूल नहरमा भारत आफैँ पानी परीक्षण गरिरहेको हो। आयोजनाका निर्देशक बमका अनुसार पानी थुनिएको र त्यसलाई एकैपटक छाड्दा नहर संरचनामा क्षति पुग्न सक्ने र लिकेज पनि हेर्नुपर्ने भएकाले अलि, अलि गरेर पानी छाड्ने काम भइरहेको छ। 

महाकाली सिँचाइ आयोजना तेस्रो चरण कार्यालयका अनुसार १८.५ किलोमिटर ब्रम्हदेवदेखि बगुन खोलासम्म मूल नहरको निर्माणको सम्पूर्ण काम सम्पन्न भएको छ।

आर्थिक वर्ष २०६३/०६४ सालदेखि निर्माण सुरु भएको महाकाली सिँचाइ आयोजना तेस्रो चरण अन्तर्गतको मूल नहरमा डेढ दशक पछि पानी सञ्चालनको तयारी थालिएको छ। 

भारततर्फको टनकपुर ब्यारेजदेखि नेपालतर्फ २५ किलोमिटर मूल नहरमा पानी सञ्चालन हुने आयोजना कार्यालयले जनाएको छ । 

निर्माण सम्पन्न भएको मूल नहरमा परीक्षण गरेर पानी सञ्चालनको तयारी भइरहेको आयोजनाका सूचना अधिकारी उमेश गुप्ताले बताए। 

‘२५ किलोमिटर मूल नहरसम्म पानी परीक्षण गरेर सञ्चालन गर्न सकिन्छ, त्यसका लागि परीक्षण गर्छौं,’ सूचना अधिकारी गुप्ताले भने, ‘असार १५ गते धान दिवसको दिन परीक्षण गर्ने तयारी छ।’

महाकाली सन्धि भएको २६ वर्ष बितिसक्दा पनि नेपालले महाकालीको पानी उपभोग गर्न पाएको छैन। नहर निर्माणमा ढिलाई हुँदा टनकपुर बाँधबाट नेपालले पाउनुपर्ने पानी २६ वर्ष बितिसक्दा पनि पाउन नसकेको हो।

२९ माघ २०५२ मा नेपाल र भारतबीच महाकाली सन्धि भएको थियो।  सन्धि अनुसार नेपालले टनकपुर बाँधबाट नहरमार्फत वर्षायाममा २८.३५ घनमिटर प्रति सेकेन्ड तथा सुख्खा याममा ८.५० घनमिटर प्रति सेकेन्ड पानी पाउनुपर्छ।

यो पानी उपयोग गर्नका लागि नेपालले १५२ किलोमिटर लामो मूल नहर, १७२ किलोमिटर लामो शाखा नहर र एक हजार २३ किलोमिटरको प्रशाखा नहर निर्माण गर्नु पर्छ। तर नहर निर्माण कार्य सुस्त गतिमा हुँदा सन्धि अनुसार पाउनु पर्ने पानी नेपालले पाउन सकेको छैन। 

दुई वर्षअघि राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएपछि भने महाकाली सिँचाइ तेस्रो चरणको कामले गति लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .