ad ad

सुदूरपश्चिम


एनपीको क्षेत्रमा हरिको दाबी, साउद र लेखकमध्ये को होलान् हावी?

देउवाका दुई विश्वासपात्रबीच बर्चस्वको होडबाजी
एनपीको क्षेत्रमा हरिको दाबी, साउद र लेखकमध्ये को होलान् हावी?

फाइल तस्बिर


गोकुल जोशी
साउन ३०, २०७९ सोमबार ७:३३, कञ्चनपुर

कञ्चनपुरमा नेपाली कांग्रेसको संस्थापन पक्ष दुई धारमा विभाजित छ। यहाँबाट राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व गर्ने कांग्रेसका केन्द्रीय सदस्यद्वय रमेश लेखक र एनपी साउद संस्थापन पक्ष निकट नेता हुन्। 

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने नेताद्वय लेखक र साउदले गृहजिल्लामा बर्चस्व बढाउन आ–आफ्नै उपगुट चलाइरहेका छन्। 

संस्थापन इतर समूह कमजोर रहेको कञ्चनपुरमा कांग्रेसको अधिवेशन होस् वा चुनावमा टिकटका लागि होस्, उनीहरुबीच नै प्रतिस्पर्धा हुने गरेको छ। 

पूर्वमन्त्रीद्वय लेखक र साउदबीचको संघर्ष चुनावका बेला झनै चर्किने गरेको छ। यसपटकको संसदीय चुनावमा कांग्रेसभित्र टिकटका लागि उनीहरुबीच प्रतिस्पर्धा हुने देखिन्छ।

नेता एनपी साउदको निर्वाचन क्षेत्र कञ्चनपुर–२ मा निवर्तमान सभापति हरि बोहराले पनि चुनाव लड्ने बताएका छन्। क्षेत्र नम्बर २ बाट यसअघि निर्विकल्प उम्मेदवारका रुपमा हेरिएका साउदलाई बोहराले यसपटक चुनौती दिएका छन्।

संस्थापन समूहका बोहरा कञ्चनपुरमा रमेश लेखकनिकट नेता मानिन्छन्। कांग्रेस नेता बोहराले क्षेत्र नम्बर २ मा दाबी प्रस्तुत गरेपछि कांग्रेसमा हलचल पैदा गरेको छ। 

साउदले क्षेत्र नम्बर २ मा वि.सं. २०६४ मा चुनाव हारेका थिए। त्यसपछि ०७० मा त्यहीँबाट उनी विजयी भए। यी दुई निर्वाचनमा कञ्चनपुरमा ४ वटा निर्वाचन क्षेत्र रहेका थिए।

तीन निर्वाचन क्षेत्र भएपछि वि.सं. २०७४ सालको निर्वाचनमा साउद वाम गठबन्धनका नरबहादुर धामीसँग पराजित भएका थिए।

‘लोकतन्त्रमा निर्विकल्प कोही हुँदैन, गत चुनावका बेला सभापति हुनाले दाबी गर्न सकिन, यसपटक आकांक्षा राखेको छु,’ बोहराले नेपालखबरसँग भने, ‘टिकटका लागि केन्द्रमा लबिङ गरिरहेको छु।’

नेताद्वय बोहरा र साउदले निर्वाचन क्षेत्रमा चुनाव केन्द्रित गतिविधिमा सक्रियता बढाएका छन्।

अगामी मंसिर ४ गते हुने प्रदेश र संघीय चुनावमा पनि सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णयसँगै गठबन्धनका दलहरुले क्षेत्र भागबण्डाका लागि कार्यदल गठन गरेर भागबण्डा मिलाउने काम गरिरहेको छ। 

तीन संघीय निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा क्षेत्र २, ३ कांग्रेस र १ माओवादी केन्द्रले पाउन सक्ने प्रबल सम्भावना रहेको नेताहरु बताउँछन्। 

गठबन्धनको भागबण्डा सकस बनेको अवस्थामा कांग्रेसले क्षेत्र नम्बर २ पाएमा टिकट कसलाई दिने भन्ने विषय पनि थप पेचिलो बन्ने देखिएको छ।

निर्वाचन क्षेत्र नम्बर ३ नेपाली कांग्रेसका नेता रमेश लेखकको क्षेत्र हो। वि.सं. २०७४ सालको निर्वाचनमा उनी वाम गठबन्धनका उम्मेदवार डा. दीपक प्रकाश भट्टसँग झिनो मतान्तरले पराजित भएका थिए।

यसपटक पनि चुनाव लड्ने तयारी गरेका नेता लेखक निर्वाचन क्षेत्रमा खटिइसकेका छन्। उनलाई चुनौती दिने गरी कांग्रेसमा अहिलेसम्म अन्य कसैले दाबी गरेका छैनन्।

बोहराले क्षेत्र नम्बर २ मा दाबी प्रस्तुत गरेपनि टिकट पाउने सम्भावना न्यून रहेको कांग्रेस नेताहरुको बुझाइ छ।

‘क्षेत्र नम्बर २ मा एनपी दाइको प्रभाव बढी छ, केन्द्रमा पनि राम्रो सम्बन्ध छ,’ एक नेताले भने, ‘यस क्षेत्रका लागि उहाँ (एनपी) कांग्रेसको निर्विकल्प उम्मेदवार हो, यो क्षेत्र गठबन्धनको भागबण्डामा कांग्रेसकै भागमा पर्छ, उहाँ नै चुनाव लड्नुहुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .