सुदूरपश्चिम


कैलालीमा सुनचाँदी व्यवसायीमाथि किन चल्यो गोली?

‘सुटर’ खोज्न सीसीटीभी खोतल्दै प्रहरी
कैलालीमा सुनचाँदी व्यवसायीमाथि किन चल्यो गोली?

घाइते व्यवसायी विकास सुनार


गोकुल जोशी
पुस ४, २०७९ सोमबार १९:२५, कञ्चनपुर

आइतबार बेलुकी कैलालीको अत्तरियामा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार गर्नेहरुको अझैसम्म पहिचान खुलेको छैन। 

घोडाघोडी नगरपालिका–१ का सुनचाँदी व्यवसायी २८ वर्षीय विकास सुनारमाथि गोली प्रहार गरेर आइतबार बेलुकादेखि दुई जना फरार रहेका छन्।

घटनापछि फरार रहेका गोली प्रहार गर्नेको खोजीमा कैलाली प्रहरी सक्रिय छ। तर अझैसम्म अत्तोपत्तो पाएको छैन।

व्यवसायी सुनारको अत्तरिया र सुखडमा सुनचाँदीका दुई पसल छन्। उनी धेरै जसो अत्तरियाको पसलमा हुन्छन्। आइतबार बेलुका पसल बन्द गरेर आफू बस्ने ठाउँतिर लागे। 

उनी अत्तरिया आसपास शसस्त्र प्रहरी क्याम्प नजिकै कोठा भाडामा लिएर बस्ने गरेको खुलेको छ। सुनार प्रदेश ३०२०११ प ७३५० नम्बरको निजी मोटरसाइकलमा कोठातर्फ गइरहेका थिए।

शसस्त्र प्रहरी क्याप्प नजिकै सडक निर्माणको काम भइरहेको थियो। त्यसैले सवारी साधनको जाम जस्तै लागेको थियो। 

गोदावरी नगरपालिका–२ स्थित सशस्त्र प्रहरीको सुदूरपश्चिम मुख्यालय नजिकै सेतो रंगको ‘अपाचे’ मोटरसाइकलमा आएका अज्ञात दुई जनाले सुनारमाथि गोली प्रहार गरेका थिए।

सुनारमाथि २ राउण्ड गोली प्रहार भएको प्रहरीले जनाएको छ। गोली लागेर घाइते उनको अहिले उपचार भइरहेको छ। अवस्था खतरामुक्त छ।

प्रहरीमा सुनारले दिएको बयान अनुसार पहिलो गोली छलेको र अर्को गोली दायाँ पाखुरामा लागेको थियो। पछि उनी मोटरसाइकलबाट ढलेका थिए। 

सुनारसँगै उनको मोटरसाइकलमा एक जना अर्का पनि बसेका थिए। गोली प्रहारपछि ‘सुटर’हरुले सुनारसँग भएको झोलासमेत लिएर फरार भएका छन्।

झोलामा पैसा र सुनचाँदी रहेको सुनारले प्रहरी समक्ष बताएका छन्। सुनचाँदी र पैसा लुटपाटका लागि व्यवसायी सुनारमाथि गोली प्रहार भएको हुनसक्ने आशंका गरिएको छ।

गोली प्रहार गरेर फरार रहेकाहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले बताए।

‘घाइतेले आफ्नो कसैसँग दुश्मनी नरहेको र गोली प्रहार गर्नेहरुलाई नचिनेको भनेका छन्,’ उनले भने, ‘हामी विभिन्न माध्यमबाट प्राप्त हुने सूचनालाई केलाएर अभियुक्तको खोजीमा लागेका छौं।’

आपराधिक गतिविधिमा संलग्न हुनसक्ने त्यस क्षेत्रका सम्भावित व्यक्तिहरुमाथि सुक्ष्म निगरानी प्रहरीले राखेको छ। प्रहरीले सुटरको पहिचान गर्नका लागि घटनास्थल आसपासमा जडान गरिएका सीसीटीभी खोतलिरहेको छ।

तर अझैसम्म उनीहरुको पहिचान भने खुल्न नसकेको डीएसपी जोशीले बताए। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीका फरक फरक टोली अभियुक्तको खोजी र घटनाको अनुसन्धानमा जुटेका छन्।

कैलालीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .