नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्टले नेपाली कांग्रेसलाई यथास्थितीमा विश्वासको मत नदिने निर्णय गरेको बताएका छन्।
मुख्यमन्त्री कमल बहादुर शाहलाई भेटेर शनिबार माओवादी सुुदूरपश्चिमका इन्चार्ज समेत रहेका भट्टले यतास्थितीमा विश्वासको मत दिन नसकिने बताएका छन्।
‘आज हामीले एउटा मात्रै निर्णय गरेका छौँ, हिजोको सहमति अनुसार मुख्यमन्त्री माओवादीले पाउनुपर्छ,’ भट्टले भने, ‘यससंगै पुरक निर्णयको रुपमा यथास्थितीमा विश्वासको मत दिन नसकिने निर्णय गरेका छौँ।’
मुख्यमन्त्री शाहसँगको छलफलमा यस बारेमा जानकारी गराएको उनले बताए।
चुनावताका कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादीका भट्टलाई भावी मुख्यमन्त्रीका रुपमा चित्रण गरेका थिए। चुनावअघि माओवादी र कांग्रेसकाबीचमा माओवादीलाई मुख्यमन्त्री दिने सहमति भएकाले सोही अनुसार अगाडि बढ्नु पर्ने पक्षमा भट्ट छन्।
यो संगै विश्वासको मतका विषयमा माओवादीमा दुई धार देखिएको छ। भट्टलाई मुख्यमन्त्री हुनबाट रोक्न उनकै पार्टीका केही साँसद सक्रिय रहेका नेताहरु बताउँछन्।
‘राजनीतिमा असम्भव केही पनि छैन, संवैधानिक रुपमा माओवादीले मुख्यमन्त्री पाउन कुनै बाधा छैन,’ भट्टले भने, ‘हामीहरूले कानूनविद्हरु संगै छलफल गरेका छौँ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता हैसियतले २६ माघमा शाह सुदूरपश्चिमको तेस्रो मुख्यमन्त्री नियुक्त भएका थिए।
उनले एक महिनाभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था छ। सोही अनुसार आइतबार बस्ने प्रदेश सभा बैठकमा शाहले विश्वासको मत लिने तयारी गरेका छन्।
नागरिक उन्मुक्ति र माओवादी केन्द्रले विश्वासको मत नदिए कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकार ढल्ने छ।
यसअघि २७ पुसमा मुख्यमन्त्री नियुक्त एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावललाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिँदा २९ दिनमै सरकार ढलेको थियो।
माओवादी केन्द्रले भोलि (आइतबार) फेरि संसदीय दलको बैठक बोलाएको छ।
प्रतिक्रिया