नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावकै झल्को दिने गरी मध्यपहाडी लोकमार्गको महाकाली मेची यात्रामा निस्किएका छन्।
बिहीबार बिहान बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर यात्रा सुरु गरेका ओली अहिले सुदूरपश्चिममा व्यस्त छन्।
उनी कतिबेला मन्दिर दर्शन पुगिरहेका छन् त कतिबेला आमसभा सम्बोधन गर्न। ओलीले सम्बोधन गर्ने आमसभामा कार्यकर्ताको उपस्थिती बाक्लो छ। ठाउँ ठाउँमा स्वागत गरिरहेका छन्, कार्यकर्ता।
झण्डा, ब्यानरले सुदूर पहाड रङ्गिचङ्गी छ। तामझामसहित एमालेले थालेको यात्रामा पार्टी प्रवेश गर्नेलाई स्वागत गर्न ओलाई भ्याई नभ्याई छ।
यसले एमालेजनमा उत्साह छाएको छ। गृहप्रदेशमै पार्टीको कार्यक्रममा नेता डा. भीम रावल भने सहभागी छैनन्। जसले एमालेकै एक पङ्क्तिमा असन्तुष्टि छ। रावलनिकट नेता कार्यकर्ता निराश छन्।

— Bhim Rawal, PhD (@BhimRawal179) November 28, 2023नेकपा (एमाले), काे मध्ये पहाडी पुष्पलाल राजमार्ग अभियानमा मलाइ सहभागिताकाे लागि अायाेजकबाट भनिएकाे भन्ने सत्य हाेइन । तथ्य यस्ताे छः pic.twitter.com/ktJK3lnoOm
पदयात्राको टोली मंसिर १६ गते रावलको गृहजिल्ला अछाम पुग्ने कार्यतालिका छ। मंगलसेनमा आमसभा राखिएको छ। ओलीसहितको टोली त्यो राति अछाममै बिताउनेछ। अछाममा रावलनिकट एमाले कार्यकर्ता रनभुल्ल छन्।
‘पार्टीको यति ठूलो कार्यक्रममा रावल कमरेडलाई पनि सहभागी गराउनुपर्थ्यो। नेतृत्वले त्यो नगर्दा नराम्रो लागेको छ,’ रावलनिकट अछामका एक नेताले भने, ‘अभियानको जुन उत्साह उमंग हुनुपर्ने हो त्यो देखिँदैन। मन खिन्न बनाएर कार्यक्रममा जानुपर्ला।’
भीम रावल समर्थकले विरोधको कार्यक्रम गर्नसक्ने आकलन गरिएको छ। एमालेमा उपेक्षामा परेका रावलले चुनावमा अछामबाट टिकट नपाउँदा उनका समर्थकले ओलीविरुद्ध नाराबाजी गर्दै कालोझण्डा नै देखाएका थिए।
ग्रासरुटका अभियानका बेला रावल समर्थकले अछाममा एमालेका उपाध्यक्ष विष्णु पौडेलको कार्यक्रम बिथोलेका थिए। अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेपछि उपेक्षामा परेका रावल अहिले एमालेमा सक्रिय छैनन्।
उनी हाल संघीय राजधानी काठमाडौँमा छन्। मेची महाकाली यात्राअन्तर्गत सुदूरपश्चिमको यात्रा अवधिभर रावल त्यहीँ रहनेछन्। मंसिरको अन्तिम साता रावल अछाम आउन सक्ने उनी निकट नेताहरु बताउँछन्।

नेता रावलले पदयात्राको लागि आफूलाई निम्ता नगरिएकोले सहभागी नहुने सामाजिक सञ्जाल एक्समा केहीदिनअघि उल्लेख गरेका थिए।
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले निमन्त्रणाका लागि रावलसँग टेलिफोन सम्पर्क गरेका थिए। रावलले अध्यक्ष ओलीले निम्तो गरे आफू कार्यक्रममा सहभागी हुने सन्देश पठाएका थिए।
बैतडीको झुलाघाटबाट सुरु भएको महाकाली मेची यात्राको टोली बिहीबार डडेल्धुरा पुग्दैछ। एमाले नेता दामोदर भण्डारीले राष्ट्रिय कार्यक्रम भएकाले सहभागितामा लागि कसैलाई रोक नलगाइएको बताए।
Shares

प्रतिक्रिया