ad ad

सुदूरपश्चिम


सुदूरपश्चिम बन्यो सडक दुर्घटनाको केन्द्र, ४ वर्षमा ७०३ जनाले गुमाए ज्यान

सुदूरपश्चिम बन्यो सडक दुर्घटनाको केन्द्र, ४ वर्षमा ७०३ जनाले गुमाए ज्यान

फाइल फोटो


गोकुल जोशी
चैत १४, २०८० बुधबार १९:११, कञ्चनपुर

गत सोमबार अछामको मेल्लेख गाउँपालिका–७ नन्देगडाको सुयडीमा ट्याक्टर दुर्घटना हुँदा एकै गाउँका ५ जनाको घटनास्थलमै मृत्यु भयो। दुर्घटनामा परेर ३ जना घाइते भए।

होली खेलेर फर्किरहेका बेला सुदूरपश्चिम प्रदेश ०१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो। मेल्लेख गाउँपालिका–१ ऋषिदहका २१ वर्षीय जनक धामी, ५५ वर्षीय रंग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी र ३७ वर्षीय नरबहादुर धामीको मृत्यु भएको थियो।

केही साताअघि बैतडीको डिलाशैनी गाउँपालिका–१ घारडामा सुपप्र ०१००१ च ३१४६ नम्बरको मलामी बोकेको जिप दुर्घटनामा परेको थियो।

डिलाशैनी गाउँपालिका–१ धावलाका ५० वर्षीय गोपाल बोहराको च्यापिएर घटनास्थलमै मृत्यु भएको थियो। जिपमा सवार १३ जनामध्ये दुर्घटनामा परेर ५ जना घाइते भए।

बाजुराको स्वामी कार्तिक खापर गाउँपालिका–३ मा बिरामीलाई लिन गएको एम्बुलेन्स पनि दुर्घटनामा पर्‍यो।

सुदूरपश्चिम प्रदेश ००१ झ ३९१ नम्बरको एम्बुलेन्स सडकबाट तल खसेको थियो। वर्षातले सडक चिप्लो भएर दुर्घटनामा परेको एम्बुलेन्स सडक छेउकै रुखमा अड्किँदा मानवीय क्षति हुनबाट जोगिएको थियो।

केही महिनाअघि बाजुराको बडिमालिका नगरपालिका–८ स्थित थुवाकाँधमा अटो दुर्घटनामा परेर खगेन्द्र उपाध्याय र प्रकाश नेपालीले घटनास्थलमै ज्यान गुमाए। सडकबाट २ सय मिटर तल खसेको अटोमा सवार अन्य २ जना घाइते भए।

यी प्रतिनिधिमूलक घटना मात्रै हुन। पछिल्ला केही वर्षयता सुदूरपश्चिममा सडक दुर्घटना बढ्दै गएका छन्।

४ वर्षमा १ हजार ६ सय दुर्घटना, ७ सय ३ जनाको मृत्यु
सुदूरपश्चिममा ४ वर्षका अवधिमा १ हजार ६ सय सडक दुर्घटनाका घटना भएका छन्। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याङ्कअनुसार सो अवधिमा सडक दुर्घटनामा परेर ७ सय ३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक वर्ष २०७६/०७७ मा भएका २ सय ५ सडक दुर्घटनामा १४३ जनाले ज्यान गुमाएका छन्। आर्थिक वर्ष २०७७/०७८ मा सडक दुर्घटना बढेर ५६२ भए। ती दुर्घटनामा १ सय ८७ जनाको मृत्यु भएको छ।

आर्थिक वर्ष २०७८/०७९ मा ५ सय १ दुर्घटना हुँदा १ सय ९६ जनाले ज्यान गुमाएका छन्। आर्थिक वर्ष २०७९/०८० मा भएका २ सय ५२ सडक दुर्घटनामा परेर १ सय ७७ जनाको मृत्यु भयो।

चालु आर्थिक वर्षको माघ मसान्तसम्म १ सय ८३ दुर्घटनामा परेर १ सय ५ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीसँग तथ्याङ्क छ।

कुन सवारी साधन बढी?
चार वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशभर २ हजार १ सय ६१ सवारी साधन दुर्घटनामा परे। जसमा सबैभन्दा बढी मोटरसाइकल छन्।

यस अवधिमा १ हजार १ सय ३० मोटरसाइकल दुर्घटनामा परेका छन्। त्यसपछि बढी दुर्घटनामा पर्ने साधनमा जिप, ट्याक्टर, बस, ट्रक, टिप्पर र डोजर पर्छन्।

ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार चार वर्षको अवधिमा २ सय ८६ जिप दुर्घटनाका घटना भएका छन्। यस्तै, २ सय ७ ट्याक्टर, १ सय १९ बस, १ सय १२ ट्रक, ७७ टेम्पो, ३६ टिप्पर र १५ वटा डोजर दुर्घटनामा परेका छन्।

बर्सेनी दुर्घटना बढ्दै गएपछि सडक यात्रा असुरक्षित बन्दै गएको यात्रुहरु बताउँछन्।

‘पहाडी क्षेत्रमा फराकिलो सडक नहुँदा पनि दुर्घटना भइरहेका छन्। वर्षौं हुँदासम्म ग्रामीण क्षेत्रमा स्तरीय बाटो छैन’, कञ्चनपुरको भीमदत्त नगरपालिका–९ तिलकेनीका भानदेव जोशी भन्छन्, ‘क्षमता भन्दा बढी यात्रु राखेर गाडी हुँकिन्छन्। त्यसले गर्दा पनि सडक दुर्घटना बढिरहेका छन्।’

ग्रामीण सडकमा मालबाहक गाडीमा यात्रु चढाएर ओहोरदोहोर गर्दा दुर्घटना भएर ठूलो मानवीय क्षति भइरहेको छ। दशकभन्दा लामो समयदेखि सुदूर पहाडमा बस चलाउँदै आएका केशव साउद भने गाडी बिग्रिएर सडक दुर्घटना भइरहेको बताउँछन्।

‘गाडी मेसिनरी चिज भएकाले प्रावधिक समस्या आएर पनि दुर्घटना भइरहेका छन्,’ उनले भने, ‘पहाडमा घुम्ती नै घुम्ती हुन्छन्। ब्रेक नै फेल भए पनि एक सेकेन्डमै गाडी दुर्घटना भइहाल्छ।’

किन बढ्दैछ सडक दुर्घटना?
ट्राफिक प्रहरी कार्यालय अत्तरियाका एसपी राजीव बस्नेतका अनुसार पुराना गाडी यान्त्रिक परीक्षणबिना चलाउँदा पनि दुर्घटना बढिरहेका छन्। पहाडी भेगको सडक गतिलो नहुनु तथा जनचेतनाको कमीलगायत त्रुटिले दुर्घटना भइरहेका छन्।

‘पहाडी भेगमा लाइसेन्सबिना सिकारुले पनि गाडी चलाइरहेको पाइएको छ। सबैतिर जाँचका लागि जनशक्ति कमी छ,’ उनले भने, ‘ग्रामीण भेगमा ट्राफिकको पहुँच छैन। गाडी चालकको लापरबाही गर्दा ठूलो क्षति भइरहेको छ।’

ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि जाँचमा कडाइ गर्नुका साथै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। सुदूर पहाडी भेगको मुख्य राजमार्गअन्तर्गत घुम्तीमा अगाडि पछाडि दुवैतर्फ देखिने ऐना राखिँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .