दार्चुला जिप दुर्घटनाका घाइते ४ जनालाई थप उपचारका लागि कैलालीको धनगढी ल्याइएको छ।
नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरूलाई धनगढी पठाइएको दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिइन्।
गोकुलेश्वर अस्पतालले घाइतेहरू भारतीय नागरिक १७ वर्षीय सोहिन शाह, जिप चालक मालिकार्जुन गाउँपालिका-८ पस्तीका ३० वर्षीय सुनील जोशी, बैतडीको डिलाशैनी गाउँपालिका-५ का २८ वर्षीय उत्तम रोकाया र शैल्यशिखर नगरपालिका-५ का ८ वर्षीय सन्दीप रावललाई रेफर गरेको हो।
मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको म १ ज ३३८ नम्बरको जिप शुक्रबार बिहान शैल्यशिखर नगरपालिका-६ बकजेबलामा दुर्घटना भएको हो।
दुर्घटनामा ७ जनाको घटनास्थलमै एक यात्रुको गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किरहेका १३ जना चढेको जिप सडकबाट डेढ सय मिटर तल खसेको हो।
दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया