सुदूरपश्चिम


नेपाल-भारत जोडिएको ब्रह्मदेव जैविकमार्गमा यसरी गरिँदै छ बाघ गणना

नेपाल-भारत जोडिएको ब्रह्मदेव जैविकमार्गमा यसरी गरिँदै छ बाघ गणना

गोकुल जोशी
पुस २०, २०८१ शनिबार १४:३४, कञ्चनपुर

कञ्चनपुरको ब्रह्मदेव जैविक मार्ग एवम् आसपासको वन क्षेत्रमा बाघ तथा आहारा प्रजातिको गणना थालिएको छ।

डडेल्धुरादेखि सीमावर्ती भारतका विभिन्न वन क्षेत्रसँग जोडिएको ब्रह्मदेव जैविक मार्गमा ‘क्यामेरा ट्रयापिङ’बाट बाघ तथा आहारा प्रजातिको गणना थालिएको हो।

जलवायु परिवर्तनका कारण बाघ पहाडी क्षेत्रमा देखापरिरहेको तथ्यांक सार्वजनिक भइरहेका बेला ब्रह्मदेव जैविकमार्गमा त्यसको अनुगमन भइरहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका  सचिव प्रमोद भट्टले जानकारी दिए।

‘बाघको संख्या बढिरहेकाले यसले बासस्थानको क्षेत्र पनि बढाइरहेका छ। निकुञ्ज मात्रै नभए बाघको मुभमेन्ट चुरे पहाडतिर पनि देखिएको छ,’ भट्टले भने, ‘बाघ भएको ठाउँमा आहारा प्रजाति पनि हुनुपर्छ। नभए बाघ बस्तीतिर पसेर मानव-वन्यजन्तु द्वन्द्वका घटना हुने गर्छन्।’

उनका अनुसार अनुसार ब्रह्मदेव जैविकमार्गमा स्वचालित क्यामेराबाट बाघ तथा आहारा प्रजातिको अनुमगनले त्यसको अवस्था पत्ता लगाउन सघाउ पुग्ने छ।

बाघ तथा आहारा प्रजातिको संख्या पत्ता लागेमा सोहीअनुसार व्यवस्थापन गरेर मानव-वन्यजन्तु द्वन्द्वका घटना न्यूनीकरण गर्न सकिने उनको भनाइ छ।

ब्रह्मदेव जैविक मार्ग एक सय ६० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। मार्ग र आसपासको वन क्षेत्रमा बाघ तथा आहारा प्रजातिको अनुगमनका लागि ७५ जोडी स्वचालित क्यामेरा जडान गरिएका छन्।

दुई गुणा दुई किलोमिटरको दूरीका ७५ ग्रिड बनाइएको छ। प्रत्येक ग्रिडमा एकजोडी स्वचालित क्यामेरा राखिएको छ। सो क्षेत्रबाट हिँडडुल हुँदा क्यामेराले तस्बिर खिच्ने गर्छ। १५ दिनसम्म क्यामेरा राखेर बाघ गणना गरिने छ।

उत्तर दक्षिण फैलिएको र नेपाल र भारतसँग जोडिएको हुनाले ब्रह्मदेव जैविक मार्गलाई महत्त्वपूर्ण मानिन्छ। जलवायु परिवर्तनले सीमावर्ती भारतको पिलिभित टाइगर रिजर्भबाट समेत बाघ आउने गर्छन्।

ब्रह्मदेव जैविक मार्गमा यस बाघको राष्ट्रिय गणना मात्रै समेटिएको थियो।

यसअघि करिब २ हजार ५ सय मिटरमाथि डडेल्धुराको परशुराममा बाघ देखा परेको थियो। जैविक मार्गलाई प्राथमिकतामा राखेर गणना गरिन लागेको यो पहिलोपटक हो।

‘बाघले लखटेर वा गर्मीका कारणले बाघ ओहोदोहोर गरिरहेको पाइन्छ,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत राजु घिमिरेले भने, ‘यो अनुगमनले निकुञ्ज बाहिर रहेका, भारत र नेपाल दुवैतर्फका साझा बाघको तथ्यांक पनि पत्ता लाग्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad