सुदूरपश्चिम


भीमदत्तको मेयर भएर नमुना सहर बनाउँछु भन्थे, ४० वर्षमै अस्ताए कलौनी

भीमदत्तको मेयर भएर नमुना सहर बनाउँछु भन्थे, ४० वर्षमै अस्ताए कलौनी

गोकुल जोशी
माघ २०, २०८१ आइतबार २२:४९, कञ्चनपुर

अघि शव वाहन, पछि शुभचिन्तकहरूको बाक्लो भिडभाड। जसै शव वाहनअघि बढ्छ, मलिन अनुहारमा त्यो ताँतीले वाहनलाई पछ्याउँछ। 

वाहनको अगाडि युवावयको हँसिलो तस्बिर छ। त्यहीँमुनि लेखिएको छ, ‘शव यात्रा’।

अहिले सबैको मुटु कुँडिएको छ। यो दृश्य हो, अच्युतराज कलौनीको शव यात्राको।

शनिबार मृत फेला परेका कलौनीको आइतबार महाकाली आर्यघाटमा अन्त्येष्टि गरियो। त्यसअघि उनलाई गृहमन्त्री रमेश लेखकसहित नेता, कार्यकर्ता र शुभचिन्तकले फूलमाला चढाउँदै अन्तिम श्रद्धाञ्जली दिए। 

नेपाली कांग्रेस भीमदत्त नगर कार्यसमितिका सभापति थिए, कलौनी। उनी महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष पनि थिए। 

आगामी वैशाखमा उनको कार्यकाल सकिँदै थियो। कलौनी त्यसअघि विद्यालयका पूर्वप्रधानाध्यापक उत्तम चन्दको सम्झनामा ‘ट्रस्ट’ स्थापना गर्ने योजनामा थिए। त्यसका लागि उनले विभिन्न व्यक्तिसँग छलफल पनि चलाइरहेका थिए।  

विधान लेखन थालिसकेका उनले शनिबार पूर्वविद्यार्थीहरूसँग छलफल राखेका थिए। तर कलौनी त्यो गर्न नपाई अलप भए।

४० वर्षीय कलौनी शनिबार बिहानै भीमदत्त नगरपालिका–१८ स्थित सडक पेटीमा घोप्टो अवस्थामा मृत फेला परे। उनको मृत्युको कारण खुलेको छैन। 

कलौनीले प्रयोग गर्ने ‘एन्ड्रोइड’ मोबाइल साथमा फेला परे पनि अर्को मोबाइल नभेटिँदा शंका उत्पन्न भएको छ। शवनजिकै रित्तो वालेट फेला परेको थियो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

समाजमा लोभलाग्दो छवि कमाएका कलौनीको अकल्पनीय मृत्युको घटनाले परिवार मात्रै होइन, सिंगो समाज नै शोकमा छ।

उनले खस्दै गएको बैजनाथ माध्यमिक विद्यालयको गुणस्तर सुधारमा निकै प्रयास गरे। शिक्षक थप्दै विद्यालयमा अंग्रेजी माध्यममा पनि पठनपाठन सुरु गरे। शैक्षिक गुणस्तर सुधार गरेर विद्यार्थी वृद्धिका साथै भौतिक तथा अतिरिक्त क्रियाकलापका लागि संरचना निर्माण गरेका थिए।

कलेज पढ्दादेखि नै उनी राजनीतितिर जोडिएका थिए। २०५८ सालतिर रेडियन्ट माध्यमिक विद्यालयमा पढ्दा उनी नेपाल विद्यार्थी संघमा आबद्ध भए। त्यसबेला उनले त्यहाँको एकाइ सभापतिको जिम्मेवारी सम्हालेका थिए। 

नेविसंघको सिद्धनाथ विज्ञान क्यापस सभापति हुँदै उनी कञ्चनपुरको अध्यक्षसमेत बने। कलौनी नेविसंघको केन्द्रीय सहमहामन्त्री निर्वाचित पनि भए। त्यसपछि कांग्रेसको मूल राजनीतिमा आएर भीमदत्त नगर कार्यसमिति सभापति भएका थिए। 

उनी भीमदत्तको मेयरको दाबेदारका रूपमा हेरिन्थे। ‘टिकट पायो भने मेयरमा लड्छुँ। नेतृत्व गरेर नमुना नगर बनाउने सपना छ,’ उनी भन्थे।

कलौनीको सहयोगी भावना कहिल्यै बिर्सिन नसकिने तरुण दलका केन्द्रीय सदस्य आशिष खत्री बताउँछन्। ‘कुनै गाह्रो पर्‍यो भने गइदिने, त्यसका पक्षमा बोलिदिने। सहयोगी भावना उहाँमा थियो,’ खत्री सम्झन्छन्, ‘समस्या सम्बोधनका गर्न अग्रसर भएर लाग्थे।’

कांग्रेसमा आबद्ध भए पनि कलौनीले अन्य पार्टीका मान्छेहरूलाई विपक्षीको व्यवहार गरेनन्। अनेरास्ववियु क्रान्तिकारी सुदूरपश्चिम प्रदेश उपाध्यक्ष कैलाशचन्द्र गिरी कलौनीको सरल, सादगी र इमान्दार स्वभाव स्मरण गर्छन्। 

‘समाजमा विरलै पाइने मान्छे हो। यो पार्टी उ पार्टी नभनी दुःख परेकोलाई साथ दिनुहुन्थ्यो। भोकप्यास, रातदिन केही नभनी जनताको काममै लागिरहनुहुन्थ्यो,’ गिरी भन्छन्, ‘उहाँको गलतका विरुद्ध बोल्ने र समन्वयकारी व्यवहार सधैँ खड्किरहनेछ।’

कलौनी सुदूरपश्चिम विश्वविद्यालय स्थापनार्थ गरिएको आन्दोलन, मूल्यवृद्धि, अवैधानिक बोर्डिङ लगायत शैक्षिक क्षेत्रका आन्दोलनमा अग्रमोर्चामा थिए।

नेपाली कांग्रेसले असल, होनहार युवा गुमाएका कञ्चनपुर सचिव भीम भट्टले बताए। ‘धेरै प्रतिभा र सम्भावना बोकेको युवा नेता गुमाउँदा पार्टी लगायत समाजलाई अपूरणीय क्षति पुगेको छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad