सशस्त्र द्वन्द्वकालमा तत्कालीन विद्रोही माओवादीको आक्रमणपछि ध्वस्त भएको ऐतिहासिक मंगलसेन दरबार ठडिएको छ। अछामको मंगलसेन नगरपालिका–५ मा तत्कालीन विद्रोही माओवादीको आक्रमणपछि २०५८ फागुन ४ गते पूर्ण रुपमा ध्वस्त भएको दरबार पुनर्निमाण गरिएको हो।
करिब २३ वर्षपछि ऐतिहासिक दरबार पुनर्निमाण गरेर ठड्याउन सफल भएको मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले बताए। सोमबार उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले दरबारको उद्घाटन गरेका छन्।

‘वर्षौंको अथक प्रयासपछि दरबार पुनर्निणको एक हिस्सा काम गर्न सफल भएका छौँ,’ नगर प्रमुख बोहराले भने, ‘अझै पर्खाल, प्रवेशद्धार लगायतको ठूलो काम बाँकी नै छ। त्यसका लागि ठूलो बजेट आवश्यक पर्छ।’
सघन शहरी विकास आयोजनाअन्तर्गत पुरातत्व विभागको करिब ९ करोडको लगानीमा दरबारको पुनर्निमाण गरिएको नगर प्रमुख बोहराले बताए।
उनका अनुसार २ करोड बजेटमा पर्खाल र प्रवेशद्धार निर्माणको काम जारी रहेको छ। तर दरबार क्षेत्रमा पर्खाल लगायत अन्य संरचना निर्माण गर्नका लागि उक्त बजेट अपर्याप्त छ।

दरबारको उद्घाटन गर्दै उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले दरबारलाई अछामको आर्थिक उन्नतिमा सदुपयोग गर्नुपर्ने बताए।
मंगलसेन दरबारको निकै ढिलो गरी पुनःनिर्माण भएको हो। माओवादी आक्रमणले ध्वस्त भएपछि वि.सं. २०६५ असार २४ गतेदेखि निर्माण सुरु भएको थियो।
वि.सं. २०६७ मा निर्माण गरिसक्नु पर्ने थियो। तर पटकपटक म्याद थप हुँदा पनि दरबार पुननिर्माणको काम सम्पन्न भएको थिएन। पुननिर्माणको काम सुरु भएको १६ वर्षपछि दरबार ठडिएको हो।

माओवादी आक्रमणमा परी अछामका तत्कालीन प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्री, उनकी पत्नी, राष्ट्रिय अनुसन्धानका अधिकृत लगायत सुरक्षाकर्मी मारिएका थिए।
दरबारमा पहिले जिल्ला प्रशासन कार्यालय, तत्कालीन जिल्ला पञ्चायत, मालपोत, जिल्ला अदालत, कारागारलगायतका महत्वपूर्ण कार्यालय सञ्चालन थिए। पछि प्रशासन बाहेक अन्य कार्यालय अर्को भवनमा सरेका थिए। आक्रमणका बेला जिल्ला प्रशासन दरबारमै थियो।
स्थानीय बुढापाकाका अनुसार मंगलसेन दरबार तत्कालीन अछामी राजा दलबहादुर शाहको पालामा १९३५ मा निर्माण सुरु भएको थियो। दरबार वि.सं. १९४१ म निर्माण भएको बताइन्छ।

यो दरबारलाई २०२९ सालमा अछामी राजाका सन्तानबाट सरकारले किनेको थियो। परम्परागत शैलीमा निर्माण गरिएको उक्त तीन तले दरबारमा ३० कोठा थिए।
दरबार परम्परागत शैलीमै पुनःनिर्माण गरिएको मंगलसेन नगरपालिकाका नगर प्रमुख बोहरा बताउँछन्।
‘परम्परागत शैलीमै निर्माण गर्ने प्रयास गरिएको छ। जस्ताको त्यस्तै त गर्न सकिएको छैन,’ उनले भने, ‘यो अछामी जनताको चिनारी हो। यहाँको जनताको रगतपसिनालाई जीवन्त राख्ने हरप्रयास गरेका छौँ।’

दरबारलाई अछाम संग्रहालयको रुपमा विकास गर्न सकिने उनी बताउँछन्। दरबारको प्रत्येक कोठामा अछामका स्थानीय तहका कलासंस्कृति झल्किने ऐतिहासिक वस्तु र एउटा कोठामा राजाहरुको तस्बीर र उनीहरुको योगदानलाई उल्लेख गर्न सकिने र पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने नगर प्रमुख बोहरा बताउँछन्।
अहिले जिल्ला प्रशासनलाई दरबार हस्तान्तरण गरिएको छ। दरबारमा पुनः जिल्ला प्रशासन कार्यालय सञ्चालनमा ल्याउनु पर्ने मत पनि छ। छलफल गरेर दरबारको प्रयोगका विषयमा निर्क्यौल गरिने मेयर बोहरा बताउँछन्।
Shares

प्रतिक्रिया