नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम संसदीय दलमा रडाको मच्चिएको छ। मन्त्री छनौटलाई लिएर संसदीय दलमा तीव्र मतभेद देखिएको छ।
नाउपाको भागमा परेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अहिले रिक्त छ। नाउपाका लक्ष्मणकिशोर चौधरीले आर्थिक लेनदेनको अडिओ प्रकरणमा मुछिएपछि राजीनामा दिएका थिए।
त्यसपछि उक्त मन्त्रालयलाई मुख्यमन्त्री कमल बहादुर शाहले आफू मातहत नै राखेर चलाइरहेका छन्। नाउपामा विवाद देखिएपछि मन्त्री नियुक्तिमा ढिलाइ भइरहेको हो।
केही समय शिथिल रहेको अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीबीच टकराव फेरि मन्त्री चयनमा प्रकट भएको छ। संसदीय दलभित्रको आन्तरिक शक्ति संघर्षले गर्दा नाउपाको राजनीतिमा नाटकीय शृङ्खलाहरू पटाक्षेप हुँदै गएका छन्।
नाउपाका संसदीय दलका नेता धनश्याम चौधरीले मन्त्रीमा सिफारिस गरेका रामेश्वर चौधरीको शपथ ग्रहण रोकिएको छ।
प्रमुख सचेतक खुसीराम चौधरीले मुख्यमन्त्री कार्यालयमा दल नेताले मन्त्री छनौटमा एकलौटी गरेको र चौधरीलाई विधान विपरित सिफारिस गरेको भन्दै निवेदन दिएपछि शुक्रबार हुने भनिएको रामेश्वरको शपथ रोकिएको हो।
‘दलको बैठक नै बसेको छैन। एकलौटी मनोमानी रुपमा नाम सिफारिस गरिएको छ,’ खुसीरामले भने, ‘विधान विपरित भएकाले मेरो आपत्ति हो।’
उनले मुख्यमन्त्री कार्यालय, पार्टीको अनुशासन विभाग र संसदीय दललाई पत्र पठाउँदै मन्त्री छनोटमा आपत्ति प्रकट गरेका छन्।
दल नेता धनश्याम चौधरी, सांसद इन्द्रिरा गिरी, रामेश्वर चौधरी र खुसीराम चौधरी उपस्थित बैठकले रामेश्वरलाई सरकारमा पठाउने निर्णय गरेको दाबी छ। तर त्यसमा आपत्ति जनाउँदै खुसीराम ‘ब्याक’ भएपछि रामेश्वर मन्त्री बन्नबाट रोकिएका हुन्।
पार्टी केन्द्रले मन्त्रीको नाम सिफारिस गर्न नहुने पक्षमा छन्, खुसीराम। प्रदेश संसदीय दल स्वतन्त्र रहेकाले विधान अनुसार सर्वसम्मत वा बहुमतका आधारमा निर्णय गर्न सकिने उनको तर्क छ। तर दलको बैठक नै नबसी एकलौटी नाम सिफारिस गरिएपछि आपत्ति जनाएको उनको जिकिर छ।
सुदूरपश्चिम प्रदेश सभामा नाउपाका ७ सांसद छन्। तीमध्ये दल नेता धनश्याम रेशम निकट मानिन्छन्। दल नेता धनश्यामले केहीदिन पहिले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पत्र लेख्दै रायसहित सिफारिस मागेका थिए।
त्यसपछि अध्यक्ष श्रेष्ठले वैशाख ३१ मा कैलाश चौधरीलाई मन्त्री बनाउन निर्देशन दिएकी थिइन्। कैलाश सुरुवातदेखि नै रञ्जिता निकट मानिन्छन्।
रञ्जिताले अघि सारेका कैलाशलाई मन्त्रीमा रोक्न रेशम पक्षले दल नेता समेत रहेका धनश्यामलाई नै मन्त्री बनाउने गरी छलफल गरेको थियो। तर उनी दल नेता र अर्थ विकास तथा प्राकृतिक स्रोत समिति सभापति समेत रहेकाले पछि हटे।
त्यसपछि दल नेता धनश्यामले रामेश्वरलाई मन्त्रीमा अघि सारेका थिए। आन्तरिक शक्ति संघर्षले रामेश्वर पनि मन्त्री बन्नबाट रोकिएका छन्।
रञ्जिता पक्षीय सांसद कैलाश चौधरी दल नेताले पार्टीमा द्वन्द्व सिर्जना गर्ने गतिविधि गरिरहेका आरोप लगाएका छन्।
‘कहिले केन्द्रलाई मन्त्रीको नाम दिन भनेर अनुरोध गर्छन्। नाम दिएपछि त्यो कार्यान्वयन हुँदैन, बैठक नै नबसी मनोमानी भइरहेको छ,’ चौधरीले भने, ‘जसले गर्दा समस्या भइरहेको छ।’
Shares

प्रतिक्रिया