सुदूरपश्चिम


सुदूरपश्चिम प्रदेशसभाको बर्खे अधिवेशन सुरु

सुदूरपश्चिम प्रदेशसभाको बर्खे अधिवेशन सुरु

नेपालखबर
जेठ ११, २०८२ आइतबार २०:१८, धनगढी (कैलाली)

सुदूरपश्चिम प्रदेशसभाको छैटौँ अधिवेशन (बर्खे अधिवेशन) प्रदेशसभा भवन धनगढीमा सुरु भएको छ।

अधिवेशन अन्तर्गतको आजको दोस्रो बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेश सरकारको आर्थिक वर्ष २०८२-८३ को बजेटसँग सम्बन्धित विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतालाई (कर प्रस्तावबाहेक) सभासमक्ष प्रस्तुत गरे।

बैठकमा प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिमा दफावार छलफल भई संशोधनसहित तयार पारिएको सुदूरपश्चिम स्थानीय सेवाको गठन, सञ्चालन तथा सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन समितिका सभापति दिवानसिंह विष्टले पेस गरे।

यसअघि छैटौँ अधिवेशनको पहिलो बैठकमा नेपाली कांग्रेसका विक्रमसिंह धामी, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका खगराज भट्ट, नेकपा एमालेका राजेन्द्रसिंह रावल, नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही र नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरीले अधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गरे।

उनीहरूले प्रदेशको विकास र समृद्धिका लागि सत्ता प्रतिपक्षी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।

बैठकको प्रारम्भमा सभामुख भीमबहादुर भण्डारीले अधिवेशन आह्वानसम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा वाचन गर्दै छैटौँ अधिवेशन उपलब्धिमूलक होस् भनी शुभेच्छा व्यक्त गरे।

अनावश्यक नियुक्ति खारेज गर्नुपर्नेलगायतका माग राखेर प्रदेशसभाको अघिल्लो अधिवेशनमा प्रतिपक्षी दलका सदस्यहरूले बैठक अवरुद्ध गर्दै आएका थिए। निरन्तरको अवरोधबीच उक्त अधिवेशन अन्त्य गरिएको थियो।

छैटौँ अधिवेशन सुरु गर्नुअघि मुख्यमन्त्री कमलबहादुर शाहको पहलमा बसेको सर्वदलीय बैठकमा प्रतिपक्षीले उठाउँदै आएका समसामयिक विषयलाई प्रस्तावका रूपमा सदनमा लैजानका लागि सर्वपक्षीय समिति गठन गर्ने दलहरुबीच सहमति भएपछि सदनको अवरोध खुलेको हो।

प्रतिपक्षी दलले तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीको विवादास्पद अडियो (श्रव्य सामग्री) प्रकरणका बारेमा छानबिन हुनुपर्ने माग उठाउँदै आएका छन्। उक्त घटनापछि तत्कालीन मन्त्री चौधरीले गत वर्ष चैतमा पदबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad