सुदूरपश्चिम


शुक्लाफाँटामा पाटेबाघ: जंगल डुल्छन् ‘युवराजदेखि महाराजा’सम्म

शुक्लाफाँटामा पाटेबाघ: जंगल डुल्छन् ‘युवराजदेखि महाराजा’सम्म

गोकुल जोशी
भदौ १, २०८२ आइतबार १०:४८, कञ्चनपुर

कञ्चनपुरको महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चार/पाँच वर्षको पाटेबाघ भर्खर आमाबाट छुट्टिएको छ। आफ्नो बासस्थान बनाउन त्यो अहिले एक्लै जंगल डुलिरहेको छ। त्यो पोथी बाघको नाम राजकुमारी राखिएको छ।

सोही उमेर र अवस्थाका दुई भाले बाघको नाम युवराज र राजकुमार राखिएका छन्। शुक्लाफाँटा जंगलमा घुम्ने अर्को पाटेबाघको नाम हो- शक्तिमान। झट्ट हेर्दा अरूभन्दा बलियो देखिने हुनाले त्यो बाघको नाम शक्तिमान राखिएको हो। यस्तै प्रकृतिको अर्को बाघलाई निकुञ्ज प्राविधिक महाराजाको नामले चिन्छन्। 

यसरी शुक्लाफाँटामा रहेका बाघको प्रोफाइल तयार पारिएको छ। उमेर, शारीरिक अवस्था, शरीरमा भएका फरक चिह्न र तिनको डुलाइका आधारमा बाघको प्रोफाइल (नामकरण) तयार पारिएको हो। 

धेरै लामो दूरीसम्म डुल्नेलाई घुमन्ते, साना धर्का भएकालाई लघुधर्के, चुरे क्षेत्रमा घुम्नेलाई चुरे किङ, सिमलफाँटा क्षेत्रमा डुल्नेलाई सिम्पा पोथी, लामो पुच्छर भएकालाई लाम्पुच्छ्रेलगायत नाम दिइएको छ।

दुई वर्षदेखि यसरी बाघ पहिचानका लागि नामकरण गर्ने गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा कार्यक्रमका प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिए। 

यसले बाघको अनुगमनसँगै आगामी दिनमा गणना गर्दा होस् वा निकुञ्जभन्दा बाहिर कुन बाघ रहेछ अथवा द्वन्द्वमा परे/नपरेको थाहा पाउन सजिलो हुने उनको भनाइ छ।

शुक्लाफाँटामा पाटेबाघको संख्या ३६ बाट बढेर ४३ पुगेको छ। नेपाल सरकारले जारी गरेको बाघ तथा आहार प्रजातिको अनुगमन प्रोटोकलमा रहेर बाघको अनुगमन गरिएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्र शेषर चौधरीले बताए।

पर्याप्त आहार, गुणस्तरीय बासस्थानलगायत उचित व्यवस्थापनले बर्सेनि पाटेबाघको संख्या बढ्दै गएको उनले बताए। 

सन् २०१३ मा पाटेबाघको संख्या १६ थियो। सन् २०२४ मा शुक्लाफाँटामा वयस्क पाटेबाघको संख्या ४३ पुगेको निकुञ्जले जनाएको छ। जसमा २१ भाले र १९ पोथी छन्।

योभन्दा अघिल्लो वर्ष शुक्लाफाँटामा पाटेबाघको संख्या ३६ थियो। ‘क्यामेरा ट्रयापिङ’ विधिबाट बाघ गणना गर्ने गरिन्छ। २०८१ कात्तिक १८ देखि पुस १० सम्म बाघको अनुगमन गरिएको थियो। 

जेडएस नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषको आर्थिक सहयोगमा गरिएको पाटेबाघको अनुगमनमा निकुञ्ज र रुद्रधवज गणका कर्मचारी र राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रमका वन्यजन्तु प्राविधिक खटिएका थिए। 

शुक्लाफाँटाको क्षेत्रफललाई २ गुणा २ किलोमिटरको सय ग्रिड बनाएर स्वचालित क्यामेरा जडान गरिएका छन्। प्रत्येक ग्रिडमा एक जोडी क्यामेरा जडान गरिन्छ। सो क्षेत्रबाट आवतजावत हुँदा क्यामेराले तस्बिर कैद गर्छ। 

स्वचालित क्यामेरामा कैद भएका तस्बिर विश्लेषण गरेर पाटेबाघको गणना गर्ने गरिन्छ। अनुगमनका लागि क्यामेरा जडान गरिएको करिब एक महिनामा पाटेबाघका १ हजार ६९ तस्बिर कैद भएका छन्। 

बाघले शुक्लाफाँटाको सबै क्षेत्रमा घुम्ने गरेको पाइएको राष्ट्रिय प्रकृति संरक्षण कोष, शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मी जोशीले बताए। उनका अनुसार निकुञ्जको घाँसे मैदान र पूर्वी सेक्टरमा पनि बाघ डुल्ने गरेको पाइएको हो। 

एउटा वयस्क बाघलाई डुल्न करिब ६५ वर्ग किलोमिटर क्षेत्रफल आवश्यक पर्ने गरेको वनकर्मी बताउँछन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा थोरै क्षेत्रफलमा पनि धेरै बाघ छन्। २०३३ मा १५५ वर्ग किलोमिटरमा विश्वकै ठूलो बाह्रसिंगाको बथान संरक्षणका लागि शुक्लाफाँटा वन्यजन्तु आरक्ष स्थापना गरिएको थियो।

त्यसपछि आरक्षको पूर्वतर्फको थप १५० वर्ग किलोमिटर क्षेत्रलाई थप गरेर वि.सं. २०५१ म ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा विस्तार गरिएको थियो। वि.सं. २०७३ मा राष्ट्रिय निकुञ्ज घोषणा गरिएको शुक्लाफाँटा बाह्रसिंगाको प्रमुख बासस्थान मानिन्छ। 

चुरेदेखि तराई क्षेत्रसम्ममा पाइने जैविक विविधताको संरक्षण र व्यवस्थापनका लागि स्थापना गरिएको निकुञ्ज भारतको लग्गाभग्गा संरक्षित जंगलसँग जोडिएको छ।

शुक्लाफाँटाको ५२ प्रतिशत क्षेत्र सालको वनले ढाकेको छ भने १९ प्रतिशत भूभाग घाँसेमैदानले ओगटेको छ।

उक्त निकुञ्जमा जंगली हात्ती, एकसिंगे गैँडा, पाटेबाघ, बाह्रसिंगा, हिस्पिड खरायो, सुनगोहोरो, अजिंगर, कृष्णसार तथा करिब ४६४ प्रजातिका पक्षी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad