सुदूरपश्चिम


उत्तराखण्ड बाढी-पहिरोमा आफन्त र रोजीरोटी गुमाएका नेपाली रित्तो हात फर्किए घर

‘कोठामा राखेको पैसा पनि बाढीमै पुरियो, हिसाब गर्न बाँकी रकम पनि साहुले दिएन’
उत्तराखण्ड बाढी-पहिरोमा आफन्त र रोजीरोटी गुमाएका नेपाली रित्तो हात फर्किए घर

उत्तराखण्ड बाढी-पहिरोबाट विस्थापित नेपाली आइतबार महेन्द्रनगर बसपार्कमा।


गोकुल जोशी
भदौ ८, २०८२ आइतबार १०:५४, कञ्चनपुर

मलिन अनुहार, झुत्रा लुगा। एकाधसँग सानो झोला, बाँकीका हात रित्ता। थकित र पीडित। 

भारतको उत्तराखण्ड उत्तरकाशीस्थित धरालीमा गएको बाढीपहिरोबाट पीडित नेपालीहरू आइतबार महेन्द्रनगर बसपार्क आइपुगेका छन्। 

कमाउन गएका उनीहरू बाढीपहिरोमा आफन्त गुमाएको पीडा लिएर घर फर्किएका छन्। 

कैलालीको टीकापुर नगरपालिका-८ श्रीलंकाका प्रकाश बुढा गत माघमा काम गर्न धराली गएका थिए। साथमा उनकी श्रीमती पार्वती पनि थिइन्। 

उनीहरू धरालीमा पर्खाल, घरलगायत निर्माणका काममा मजदुरी गर्थे। दैनिक ६ सय रुपैयाँ भारु ज्याला पाउँथे। उनीहरू घर-धराली आउजाउ गरिरहन्थे। उनका भाइ रमेश र बुहारी प्रिया पनि गत वैशाखमा धराली पुगेर मजदुरी गरिरहेका थिए।

सँगै काम गर्ने उनीहरू नजिकनजिकै बस्थे। गत साउन २० गते धरालीमा बिहानैदेखि वर्षा भइरहेको थियो। उनीहरू काममा जान सकेका थिएनन्। 

प्रकाशको परिवार खाना खाइरहेको थियो। उनका भाइ रमेशको परिवार आफ्नै कोठामा खाना तयार गर्दै थियो।

‘अचानक भीषण बाढीपहिरो आयो। ऊ बसको घरसहित पूरै बस्ती बगायो’, प्रकाशले भने, ‘हामी केही वर हुनाले थाहा पाएर भागेर ज्यान जोगायौँ।’

उनीहरूले धरालीको बाढीग्रस्त क्षेत्रमा तीन साता भाइ र बुहारीको खोजी गरे। तर अत्तोपत्तो नलागेपछि हरिद्वारमा काजकिरिया गरेर घर फर्किएका छन्। 

कमाउन गएका प्रकाशले भाइ र बुहारीसँगै रोजीरोटी पनि गुमाए।

बाढीले विस्थापित उनले  घर फर्किँदा खर्च पनि पाएनन्। भाइ-बुहारीको वियोगको पीडाले बेखर्ची महेन्द्रनगर आइपुगेका प्रकाशसहित ११ जनालाई गाडीको व्यवस्था गरेर गन्तव्यतर्फ पठाइएको छ। 

‘ज्याला पाएको कोठामै राखेका थियौं। सबै बाढीपहिरोले लग्यो। लिन बाँकी काम गरेको ज्याला पनि कोसँग माग्नु? जहाँ काम गर्‍थ्यौँ, उसको होटल पहिरोमा गयो’, प्रकाशले सुनाए, ‘पैसा दिन सक्दिनँ भन्यो। बेखर्ची घर फर्किनुपरेको छ।’

बाढीले धराली तहसनहस पारेकाले बेपत्ता भेटिने आशा मारेर आफन्त घर फर्किरहेका छन्। टीकापुरकै कुशे बुढाका अनुसार अझै धरालीको अवस्था सामान्य हुन सकेको छैन।

काम गर्ने अवस्था नभएको र फर्किन पनि खर्च नहुँदा समस्या भएको उनले बताए।

‘३०/३५ फिटसम्म ग्राभेल भरिएको छ। बिहान-बेलुका एक गाँस खाएर बेपत्ताको खोजी गर्‍यौँ। तर केही अत्तोपत्तो चलेन’, कुशेले भने, ‘त्यहाँ काम गर्ने वातावरण पनि छैन। जसोतसो बाटो खर्च जुटाएर फर्किएँ।’

बाढीमा बेपत्ता परिवारले न काम गरेको ज्याला पाए न राहत।

बाढीपहिरोमा बेपत्ता आफ्ना नागरिकका परिवारलाई भने भारत सरकारले जनही ५ लाख राहत दिने घोषणा गरेको छ, त्यसैमा परेका नेपाली नागरिकलाई केही छैन। 

‘कोठामा राखेको पैसा पनि बाढीमै पुरियो। हिसाब गर्न बाँकी रकम पनि साहुले दिएन’, धनसिंह महताराले भने, ‘नेपालीलाई राहत पनि दिन सकिँदैन। तपाईंकै सरकारले देला भन्यो।’

धरालीको बाढीपहिरोमा परी २१ जना नेपाली बेपत्ता छन्। 

पछिल्लो समय धरालीमा खोजी पनि सुस्त भएको र बेपत्ताहरू भेटिने सम्भावना पनि कम रहेकाले आफन्तहरू घर फर्किएका हुन्।

अब घरमै किरिया गर्ने गरी फर्किएको बाढीपीडित नेपालीले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad