नेपालसँग सीमा जोडिएको भारत उत्तराखण्डका विभिन्न जिल्लामा बर्ड फ्लुको संक्रमण फैलिएसँगै नेपालमा पनि जोखिम बढेको छ। भारतबाट अवैध रुपमा कुखुराको आयात हुने भएकाले संक्रमणको जोखिम उच्च रहेको छ।
उत्तराखण्डका केही जिल्लामा बर्ड फ्लुको संक्रमण फैलिएको जानकारी आएको र भारतबाट अवैध रुपमा कुखुरा आयत हुने भएकाले कैलाली र कञ्चनपुर त्यसको जोखिम बढेको सुदूरपश्चिम पशुपन्थी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा.पानसिंह ठगुन्नाले बताए।
भारतबाट चोरी छिपी कुखुरा तथा कुखुराजन्य पदार्थ भित्रिन सक्ने भएकाले कैलाली र कञ्चनपुरका पशु पालक कृषकहरुलाई सतर्कता अपनाउनु पर्ने उनले बताए।
‘भारतबाट कुखुरा तथा कुखुराजन्य पदार्थ नेपाल भित्रिन सक्ने भएकाले संक्रमणको जोखिम देखिन्छ,’ उनले भने, ‘सेवा विज्ञ केन्द्र र सम्बन्धित पालिकाको पशु सेवा शाखाले रोग भित्रिन नदिन पहल गर्नु हुन अनुरोध छ।’
संक्रमण भित्रिन नदिन नाकामा रोकथामदेखि जाँचमा आवश्यक कडाइ गर्नुपर्ने देखिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उत्तराखण्डको उद्यमसिंहनगर र बागेश्वरमा केही दिनयता बर्ड फ्लु तीव्र गतिमा फैलिएको छ।
जसका कारण उक्त क्षेत्रमा रहेका पोल्ट्री फार्ममा धमाधम कुखुरा मरिरहेका छन्। सीमावर्ती जिल्लामा बर्ड फ्लुको संक्रमण देखिएपछि कुखुरा व्यवसायसँगै मानव स्वास्थ्यमा जोखिम बढेको पशु क्वारेन्टिन चेक पोष्ट गड्डाचौकीका पशु स्वास्थ्य प्राविधिक धनकृष्ण अधिकारी बताउँछन्।
‘पशुपन्क्षी नष्ट हुनुका साथै मानिस पनि सर्ने खतरा हुन्छ। यो रोग भित्रिएमा कुखुरा व्यवसाय पूरै धरायसी हुन्छ। र मानव स्वास्थ्यमा पनि ठूलो जोखिम छ,’ उनले भने,‘त्यसैले पशु र पन्क्षीजन्य पदार्थ पदार्थ आयात गर्न प्रतिबन्ध छ।’
कैलाली र कञ्चनपुरका विभिन्न नाकाबाट चोरी छिपी पन्क्षीजन्य पदार्थ भित्रिन सक्ने जोखिम छ। उद्यमसिंहनगर कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकासँगै सीमा जोडिएको क्षेत्र हो। दुवैतर्फका बस्तीहरु एक आपसमा जोडिएका कारण पनि उक्त क्षेत्रमा बढी जोखिम हुन सक्ने देखिन्छ।

‘हामीले सचेतनाका कामहरु गरिरहेका छौं, स्थानीय तहको सम्बन्धित शाखाले पनि जिम्मेवार हुनुपर्छ,’ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगरका पशु विकास निर्देशक श्याम खड्काले भने, ‘जनचेतनाका कामहरु हामीले गरिरहेकै छौँ, सीमावर्ती क्षेत्रमा संक्रमण देखिएपछि सबै सजग हुनुपर्छ।’
बर्ड फ्लुको जोखिम र यसबाट हुन सक्ने असरबारे कुखुरा पालक किसानहरुलाई जानकारी दिन सके संक्रमणको जोखिम कम गर्न सकिने पशु विकास निर्देशक खड्का बताउँछन्। उनले नाकामा रहेको पशु क्वारेन्टाइनले पनि कडाइका साथ जाँच गर्नुपर्ने बताए।
प्रतिबन्धित पन्क्षी र पन्क्षीजन्य पदार्थ भित्रिन नदिन नियमति जाँच भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराले बताए।
उनका अनुसार भारतबाट अवैध रूपमा भित्रिइरहेका कुखुराको चल्ला ब्रह्मदेव क्षेत्रबाट बरामद गरिएका ३ सय ६० गोटा चल्ला नष्ट गरिएको हो।
उनका अनुसार पछिल्लो समय नेपालसँग सीमा जोडिएको भारत उत्तराखण्डको उद्यमसिंहनगर जिल्लामा वर्ड फ्लुको संक्रमण देखिएपछि नाकामा कडाइ सँगै सतर्कतासमेत अपनाइएको छ।
‘बरामद गरिएका चल्ला सबै नष्ट गरिएको छ,’ डीएसपी बोहराले भने, ‘भारतमा वर्डफ्लुको संक्रमण देखिएकाले सबैले सतर्कता अपनाउनुपर्छ।’
भारतबाट पन्छी तथा पन्छीजन्य पदार्थ आयातमा सरकारले प्रतिबन्ध लगाएको छ।
Shares

प्रतिक्रिया