सुदूरपश्चिम


सुदूरपश्चिममा देउडाको रौनक, झुम्मिदै वृद्धदेखि युवासम्म (तस्बिर)

सुदूरपश्चिममा देउडाको रौनक, झुम्मिदै वृद्धदेखि युवासम्म (तस्बिर)

गोकुल जोशी
भदौ २०, २०८२ शुक्रबार १६:२०, कञ्चनपुर

केहीदिनयता महेन्द्रनगर बजारमा देउडाको रौनक छ। गाउँ बस्तीमा पनि देउडाले गुञ्जयमान छन्। तन्नेरीदेखि वृद्धवृद्धा गोलवद्ध भएर देउडा खेलमा झुम्मेका देखिन्छन्। 

सबैले खुट्टाको चालमा चाल मिलाउँछन्। यसरी तीन पुस्ता एकसाथ देउडा खेल्दै रमाइलो गर्ने गरेका छन्।

गोलो घेराको बीचमा देउडिया (गीतकार)ले गीत गाउँछन्। त्यही गीतलाई गोलो घेरामा रहेकाहरूले लय मिलाएर पालैपालो दोहोर्‍याउँछन्। 

देउडामा पाइला मिलाइरहेका भेटिए, भीमदत्त नगरपालिका– २ का ७० वर्षीय शिवदत्त जोशी। उनी केही दिनयता प्रत्येक दिन बेलुकी महेन्द्रनगर आएर देउडा खेलमा मिसिन्छन्। 
‘गौरा पर्वको अवसरमा देउडा आयोजना गरिएको छ। युवायुवतीले पनि देउडा खेलेको देख्दा खुसी लागेको छ,’ शिवदत्त भन्छन्, ‘नयाँ पुस्ता पनि हाम्रो संस्कृति सिकिरहेको छ। यसले संस्कृत पुस्तान्तरणमा सघाउँछ।’

शिवदत्तको परिवार डोटीबाट वि.सं. २०२८ सालमा डोटीबाट तराई झरेको हो। त्यसपछि प्रत्येक वर्ष तराईमा नै देउडा खेल्ने गरेको उनले सुनाए। 

‘देउडा खेल्दा आनन्द आउँछ, सबैसँग भेट हुन्छ,’ उनले भने, ‘देउडा मनोरञ्जन मात्रै नभएर ज्ञानका कुरा समेत सिकिने भएकाले युवापुस्ता समेत देउडामा आकर्षित छन्।’

देउडामार्फत मनोरञ्जनात्मक सवाल जवाफ मात्रै नभएर इतिहास, संस्कृति, पुर्खा र देवीदेवताको महिमाको कथा पनि गाउने गरिन्छ। 

गौरा पर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका बस्तीमा छाएको छ। सुदूरपश्चिमको मौलिक पर्व गौराको अवसरमा आयोजित देउडा कार्यक्रमले संस्कृति संरक्षण र पुस्तान्तरणमा टेवा पुगेको लक्ष्मण अधिकारीले बताउँछन्। 

उनका अनुसार देउडा गायन र खेल दुवैरूपमा प्रस्तुत हुने गर्दछ। देउडा खेल्दा गोलो घेरामा एकापसमा हात जोडेर गाउँदै पैतलाको तालमा घुम्ने गरिन्छ। 

पाइतालाको चालकै आधारमा डेड पाइला अगाडि र डेड पाइला पछाडि चलाउँदै खेलिने भएकाले यसको नाम देउडा रहन गएको जानकारहरू बताउँछन्।

‘नयाँ पुस्ताले मौलिक संस्कृति बिर्सिदै गएको अवस्थामा गाउँ बस्तीमा देउडा आयोजना हुनाले आफ्नो संस्कृति जोगाउन टेवा पुगेको छ,’ उनले भने, ‘७०/८० वर्षका वृद्धवृद्धासँग १२/१५ वर्षका बालबालिकालाई पनि खेल्न आइरहेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad