पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पछिल्लो समय पार्टी राजनीतिमै सक्रिय छिन्। एमालेको पूर्वउपाध्यक्षसमेत रहेकी उनी पछिल्लो समय सोही पार्टीको विभिन्न गतिविधिमा संलग्न भइरहेकी छन्।
उनी राजनीतिमा सक्रिय भएर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै चुनौती दिन थालेपछि अहिले उनको सदस्यता नवीकरणको विषयलाई लिएर अनेक टिकाटिप्पणी भइरहेको छ। एमालेले उनको सदस्यता नवीकरण नगर्ने निर्णय नै गरिसकेको छ।
यसै सन्दर्भमा उनले भने आफ्नो सदस्यता नवीकरण भइसकेको बताउँदै त्यहीअनुसार सक्रियता बढाएकी छन्। एमालेकै उपाध्यक्ष ईश्वर पोखरेलसहितका केही नेताहरू भने उनको सदस्यता रोक्न नहुने बताउँदै पार्टीमा फरक मत राख्दै आएका छन्।
यसैबीच आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा एमालेको विधान महाधिवेशन जारी छ। महाधिवेशन स्थलबाहिर विद्या भण्डारीका समर्थनकहरूले उनको पत्र वितरण गरिरहेका छन्। विद्याले बिहीबार साँझ एमालेका विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई सम्बोधन गर्दै पत्र लेखेकी थिइन्।
सोही पत्र महाधिवेशन स्थलमा रहेका युवा संघ तथा अनेरास्ववियुका नेता कार्यकर्ताले प्रतिनिधिलाई हातहातमा प्रदान गरिरहेका छन्।
उनले पार्टी नेतृत्वको सल्लाहबमोजिम नै सदस्यता नवीकरण गरेको र अहिले आएर तिनैले घोचपेच गर्न थालेको भन्दै विधान महाधिवेशनका प्रतिनिधिहरूसँग साथ मागेकी छन्।
उनले पत्रमा पहिला सदस्यता नवीकरण गर्न सल्लाह दिने जिम्मेवार नेताहरूले पूर्वधारणा परिवर्तन गरेकोमा उनले आश्चर्य पनि प्रकट गरेकी छन्।
Shares

प्रतिक्रिया