फोहोर डंगुर छ। हातमा ग्लब्स, मुखमा माक्स लगाए महिलाहरु फोहोरमै काममा व्यस्त छन्। कुहिने, नकुहिने र पुनः प्रयोग हुने सामानलाई छुट्याएर राखिरहेका छन्।
नजिकै मल बन्ने फोहोरलाई थुपारेर राखिएको छ। शुक्लाफाँटा नगरपालिका–११ वनहरामा दुई सातायता सरसफाइ कर्मचारी यस्तै काममा व्यस्त भइरहेका छन्।
शुक्लाफाँटा नगरमा एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको हो। नगरको बजार क्षेत्र र ग्रामीण क्षेत्रमा उत्सर्जन हुने फोहोर संकलन गरेर व्यवस्थापन केन्द्रमा राख्ने गरिएको छ।
निर्माणको काम सम्पन्न भएपछि भदौ १९ गतेदेखि फोहोर मैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको निर्माण कम्पन्नी रमन केएस जेभीका साइट इन्चार्ज उद्धवसिंह साउदले बताए।
‘निर्माणको काम पूरा भएको छ। फोहोर व्यवस्थापनको काम थालनी गरिसकेको छौँ,’ उनले भने, ‘फोहोर व्यवस्थापनको परीक्षण चरणमा छौँ’ दैनिक रुपमा व्यवस्थापन केन्द्रकै साधनले फोहोर ओसारेर ल्याउने गरेको उनले बताए।
फोहर मैला व्यवस्थापन केन्द्रमा १० वटा फोहोर संकलन गर्ने साधन छन्। ८ जना सरसफाइ कर्मचारी राखिएको छ।
एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण भएको हो।
वि.सं. २०७९ बैशाख २५ मा निर्माण कम्पनी रमन केएस जेभी धनगढीसँग केन्द्र निर्माणको लागि सम्झौता भएको थियो। दुई वर्षभित्र ०८१ कार्तिक मसान्तमा निर्माणको काम सक्नु पर्ने थियो।
३.९ हेक्टर क्षेत्रफलमा फैलिएको यो व्यवस्थापन केन्द्र ३० करोड २५ लाख २ हजार ६ सय ५२ रुपैयाँ लगानीमा निर्माण भएको हो।
दैनिक दुईदेखि तीन मेट्रिक टन फोहोर संकलन भएर आइरहेको इन्जिनियर जयन्त भट्टले बताए। फोहोर मैला व्यवस्थापन केन्द्रको क्षमता ६ मेट्रिक टन हो।
‘फोहोर व्यवस्थापनको क्षमता त धेरै छ। अहिले दैनिक क्षमताको आधा मात्रै फोहोर आइरहेको छ,’ उनले भने, ‘ठोस फोहोर र मलमुत्रजन्य फोहोर व्यवस्थापन हुन्छ।’
बिहान फोहोर संकलक गाडी नगरको शहरी र ग्रामीण क्षेत्रमा डुलेर फोहोर संकलन गरेर ल्याउँछन्। तौल गरेर उक्त फोहोरलाई ‘रिसेप्सन यार्ड’मा राखिन्छ।
त्यहाँ कुहिने, नकुहिने र पुनः प्रयोग हुने फोहोरलाई छुट्याइन्छ। कुहिने फोहोरबाट ‘कम पोष्ट’ मल तयार गरेर बिक्री गरिने योजना रहेको इन्जिनियर भट्टले बताए।
केही काम नलाग्ने फोहोरलाई गाडेर व्यवस्थापन गरिने छ। शुक्लाफाँटामा सञ्चालनमा आएको एकीकृत फोहोर व्यवस्थापन केन्द्र कञ्चनपुरको पहिलो हो।
एडीबीको आर्थिक सहायतामा यस्तै व्यवस्थापन केन्द्र भीमदत्त नगरमा पनि निर्माण गर्ने तयारी थियो। तर त्यसका लागि स्थान नपाउँदा परियोजना फिर्ता भएको थियो।
तस्बिरमा हेर्नुहोस्:














Shares

प्रतिक्रिया