सुदूरपश्चिम


११ वर्षको उमेरमा भारत पसेका टेकबहादुर ७० वर्षमा धुमिल सम्झना लिएर खोज्दैछन् घर

११ वर्षको उमेरमा भारत पसेका टेकबहादुर ७० वर्षमा धुमिल सम्झना लिएर खोज्दैछन् घर

गोकुल जोशी
असोज १३, २०८२ सोमबार १६:४३, कञ्चनपुर

झुत्रा लुगा, वृद्ध शरीर, चाउरिएको अनुहार, फुलेर  सेतै कपाल अनि मलिन अनुहार। यस्तै हुलियामा सोमबार गड्डाचौकी नाकामा भेटिए, ७० वर्षीय टेकबहादुर चन्द। 

घर खर्च, लत्ताकपडा, कोसेली बोकेर दसैँका लागि घर फिर्ती हुने परदेशीको नाकामा भीडभाड छ। यहीबीच नाकामा पुगेका टेकबहादुर चन्द रित्तो हात छन्।

भारतमा दसकौं गरेको संघर्ष, खेप्नु परेको पीडा र घरको धुमिल स्मृति मात्रै छ, उनीसँग। दुई वर्ष काम गरेको पैसा पनि नपाएर बेखर्ची पुगेको टेकबहादुर बताउँछन्।

उनी भारतको सिम्लामा स्याउ टिप्नेदेखि गाईको हेरचाह गर्ने लगायत काम गर्थे। ‘ठेकेदार पैसा बुझेर भाग्यो। मैले पैसा नै पाइन। काम गर्ने अर्को मान्छेवालाले केही ज्याला दिएको थियो,’ उनी भन्छन्, ‘रासन र कोठा भाडा तिर्नमै सकियो।’

टेकबहादुर ७ वर्षको हुँदा उनका बुवा र आमा बिते। त्यसपछि ११ वर्षको उमेरमा भारतको सिम्ला पसेको उनी सुनाउँछन्। त्यसपछि उनी कहिल्यै फर्केर घर आएनन्। परिवार आफन्तीसँग उनको सम्पर्क पनि भएन।

सिम्लामै उनले बिबाह गरे। टेकबहादुरका अनुसार केहीवर्षअघि श्रीमतीको क्रसरमा काम गर्ने क्रममा दुर्घटनामा परेर निधन भयो। उनका सन्तान पनि छैनन्।

जीवन नै भारतमा बिताएका टेकबहादुर बोल्दा उनको लवज हिन्दी आउँछ। आफ्नो घर रुकुममा रहेको धुमिल स्मृतिले घर खोज्दै उनी त्यसतर्फ जाँदैछन्।  

‘रुकुममा मामा छन्। नेपालगञ्जतिर कान्छा बुवाका छोराहरू बस्छन्,’ टेकबहादुर भन्छन्, ‘रुकुममा थोरै जमिन पनि थियो। मामा लगायत आफन्त जिउँदै छन् कि छैनन्, धेरै वर्ष भयो केही थाहा छैन। पहिला मामा कहाँ जान्छु।’

घर खोज्दै जान लागेका उनी बेखर्ची छन्। सिम्लाबाट एक हजार रुपैयाँ गाडी भाडा मात्रै लिएर आएको उनी सुनाउँछन्। 

नाकामा अलपत्र अवस्थामा भेटिएका टेकबहादुरलाई खर्च दिएर गन्तव्यमा पठाइएको गड्डाचौकीस्थित नागरिक सहायता कक्षका प्रमुख दानसिंह बोहराले बताए।

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सञ्चालन गरेका नागरिक सहायता कक्षले लुटपाट लगायत कारणले अलपत्र परेका नेपालीलाई उद्धार गरेर खर्च दिएर गन्तव्यसम्म पठाउने गरेको छ।

यसवर्ष साउनदेखि भदौ महिनासम्म त्यस्ता १५ जनालाई उद्धार गरेर खर्च दिएर गन्तव्यमा पठाइएको बोहराले बताए। उनका अनुसार गतवर्ष १ सय २८ जनालाई उद्धार गरेर गन्तव्य पठाइएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad