कञ्चनपुरको बेलौरी नगरपालिका–९ खल्ला कुण्डाका कर्ण बहादुर कुँवरको खेतमा धानबाली पाकेर बाला झुलेका थिए। कुँवर धान बाली काटेर भित्र्याउने तयारीमा थिए।
वर्षा हुने मौसम पूर्वानुमानले गर्दा धान भिज्ने हुनाले उनी मौसम खुल्ने प्रतीक्षामा थिए। तर बाली भित्र्याउन तयार भएको धान जंगली हात्तीको बथानले नष्ट गरिदिएको छ।
अब कुँवरलाई वर्षभरि के खाने भन्ने चिन्ता थपिएको छ।
‘पानीले भिज्छ कि भनेर तयार भए पनि धान काटेका थिएनौँ। मौसम खुल्लाजस्तो भइरहेकोले अब काटौँला सोचेका थियौँ’, उनले भने, ‘मध्यरात आएको ठूलो हात्तीको बथानले सबै धान नष्ट गरिदियो।’
उनका अनुसार ३ कठ्ठा खेतको धानबाली जंगली हात्तीले नष्ट गरेको छ। खल्ला कुण्डाका खुसीराम चौधरी उखु खेती गर्ने गर्छन्। उनी उखु बिक्री गरेर जीविकोर्पाजन गरिरहेका छन्।
जंगली हात्तीको बथानले उनको उखु खेती पनि क्षति गरेको छ। ‘उखु बिक्री गरेर वर्षभरिको खर्च जोहो हुन्थ्यो। हात्तीले सबै सखाप पार्यो’, उनले भने।
जंगली हात्तीको बथानको त्रासमा खल्ला कुण्डाबासी छन्। वर्षेनी खेती तथा घरमा जंगली हात्तीले क्षति गर्ने गरेको छ। जंगली हात्ती धपाउन रातभर जाग्राम बस्ने गरेका छन्।
हात्तीले खेती नष्ट गरेपछि किसान चिन्तित छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेलौरीको खल्ला कुण्डाका बुद्धीराम चौधरी, बिन्ती राम चौधरी ७ कठ्ठा जमिनको उखु हात्तीले पूर्ण रुपमा नष्ट गरेको छ।
स्थानीय राजकुमार चौधरीको ४ कठ्ठा जमिनको उखु, शिवराज चौधरी, गोपाल चौधरी, सुरेन्द्र चौधरीको ७ कठ्ठा बराबर उखु हात्तीले सखाप पारेको छ।
स्थानीय गौरी चन्दको ३ कठ्ठा जमिनको धान, पुनाराम चौधरीको ५ कठ्ठाको उखु र जयराम चौधरीको ३ कठ्ठा बराबर अन्नबाली हात्तीले पुर्ण रुपमा नष्ट गरेको छ।
बस्ती पसेको ३०/३५ संख्याको जंगली हात्तीको बथानले अन्नबालीका साथै भौतिक संरचनामा पनि क्षति गरेको छ।
बेलौरीको खल्ला कुण्डामा कर्कट पाताले छाएको प्रतिक्षालयमा क्षति पुगको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया