सुदूरपश्चिम


शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने

शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने

नेपालखबर
पुस ४, २०८२ शुक्रबार १९:४७, कञ्चनपुर

विगत केही दिनदेखि बढ्दै गएको अत्यधिक चिसो र शीतलहरका कारण कृष्णपुर नगरपालिकाले नगरभित्रका विद्यालयहरू दुई दिन बन्द गर्ने निर्णय गरेको छ।

चिसोका कारण जनजीवन कष्टकर बन्दै गएपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै नगरपालिकाले बिदा दिने निर्णय गरेको हो। नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाका अनुसार नगरपालिका क्षेत्रभित्रका सामुदायिक र संस्थागत विद्यालयमा यही पुस ६ र ७ गते बिदा दिने निर्णय गरिएको छ।

‘प्रतिकूल मौसमलाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो’, उनले भने, ‘अत्यधिक चिसोले गर्दा पठनपाठनमा बाधा पुग्न थालेको छ, चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले नगरप्रमुखस्तरीय निर्णयअनुसार जाडो बिदाबाट मिलान हुनेगरी दुई दिन विद्यालयमा बिदा दिने निर्णय गरिएको छ।’ 

शुक्रबार भुवा पर्वको बिदा र शनिवार सार्वजनिक बिदा भएकाले नगरपालिकाले ६ र ७ गते बिदा दिने निर्णय गरेको छ।

कञ्चनपुरसहित पश्चिम तराईका जिल्लामा विगत चार दिनदेखि मौसममा आएको परिवर्तनका कारण हुस्सु, कुहिरो र शीतलहर चल्न थालेको छ। घाम नलाग्ने र दिनभरि चिसो हावा चल्ने क्रम बढेपछि सर्वसाधारणको दैनिकी प्रभावित भएको छ। विशेषगरी बिहानीको समयमा विद्यालय जाने साना बालबालिका चिसोका कारण बिरामी पर्न सक्ने जोखिम बढेको छ।

स्थानीय तहहरूले चिसोबाट जोगिनका लागि सर्वसाधारणलाई सार्वजनिक सूचना जारी गर्दै सचेत पार्ने कार्य गरिरहेका छन्। अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, न्यानो लुगा लगाउन र तातो झोलिलो खानेकुरा खान र आगो ताप्दा सावधानी अपनाउन र सचेत रहन स्थानीय तहहरूले आग्रह गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad