बैतडीको प्रतिनिधिसभातर्फ पछिल्ला तीन वटा निर्वाचन जितेर एमालेको जबरजस्त वर्चश्व छ। ०५६ मा सानदार जित निकालेको कांग्रेस त्यसयताका चुनावमा जितविहीन छ।
बर्चश्व तोड्ने र कायम राख्ने नेकपा एमालेका दामोदर भण्डारी र नेपाली कांग्रेसका चतुरबहादुर चन्दबीचको भिडन्तमा नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारले चुनावी प्रतिस्पर्धा रोचक बनाएको छ।
नेकपाले बैतडीमा प्रमानन्द भट्टलाई उम्मेदवार बनाएको छ भने रास्वपाले हरिमोहन भण्डारीलाई मैदान उतारेको छ।
नेकपाका भट्ट एमाले पृष्ठभूमिका नेता हुन्। एमाले बैतडीका संस्थापक रहेका भट्ट नेकपा एकीकृत समाजवादी हुँदै नेकपामा समाहित भए। एमालेबाटै जिल्ला विकास समितिको सभापति भइसकेका भट्ट पूर्वसहकर्मीसँग भिड्दै छन्।
यस्तै, रास्वपाका भण्डारी कांग्रेस पृष्ठभूमिका नेता हुन्। ०७९ को चुनावमा प्रदेशसभामा टिकट आकांक्षी थिए उनी। तर टिकट नपाएपछि वागी उठेका भण्डारी बैतडी प्रदेशसभा १(१) मा एमालेका सुरेन्द्र पालसँग १ हजार ८१३ मतान्तरले पराजित भएका थिए।
केही महिनाअघि उनै भण्डारी रास्वपा प्रवेश गरेर प्रतिनिधिसभा चुनावको उम्मेदवार बनेका छन्। यी चार जना उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
राप्रपाका संस्थापक नेता पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा भूपेनबहादुर चन्द पनि चुनावी मैदानमा उत्रिएका छन्।
लोकेन्द्रबहादुरको गृहजिल्ला समेत भएकाले छोरा भूपेन बुवाको विरासत फिर्ता ल्याउँदै संसद छिर्न कस्सिएका छन्।
पेसाले आईटी इन्जिनियर, पाइलट र अभिनेतासमेत रहेका भुपेन राजनीतिमा होमिएका छन्। यसका साथै अन्य ६ जना पनि बैतडीको चुनावी मैदानमा छन्।
स्वतन्त्र जयप्रकाश पन्त, नेमकिपाका नवराज कोइराला, माओवादीका राम बहादुर कुँवर, आजपाका बिसन सिंह बोहरा, जसपाका आन सिंह भण्डारी र श्रम संस्कृतिका गजेन्द्र राज पाण्डे बैतडीमा उम्मेदवार छन्।
चौथो पटक संसद् पस्ने दाउमा भण्डारी
एमालेलाई ०७० देखि ०७९ सम्मको चुनावमा जित दिलाउने दामोदर भण्डारीले अर्थराज्यमन्त्री हुँदै उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्रीसम्म हुने मौका पाए।
०७०, ०७४ र ०७९ मा गरेर ह्याट्रिक जित निकालेका भण्डारी यसपटकको चुनावमा पनि उम्मेदवार छन्। पाँचौ पटक चुनाव लडिरहेका भण्डारी जित निकाल्दै चौथो पटक संसद यात्रा तय गर्ने रणनीतिमा छन्।
पहिलो पटक २०६४ मा चुनाव लडेका भण्डारी माओवादीका नरेन्द्रबहादुर कुँवरसँग साविक बैतडी क्षेत्र नम्बर १ मा पराजित भए। दोस्रो संविधानसभा चुनावमा साविक क्षेत्र नम्बर १ मा कांग्रेसका लोकराज अवस्थीलाई पराजित गर्दै भण्डारीले पहिलो पटक संसद यात्रा तय गरे। भण्डारीले त्यसबेला ११ हजार ६७२ र अवस्थीले १० हजार ८० मत प्राप्त गरेका थिए।
०७४ मा वाम गठबन्धनको साझा उम्मेदवार बनेका भण्डारी कांग्रेसकै नरबहादुर चन्दलाई पराजित गर्दै दोस्रो पटक संसदमा पुगे। ०७९ को चुनावमा वामलोकतान्त्रिक गठबन्धनका नरेन्द्रबहादुर कुँवरलाई हराउँदै भण्डारी तेस्रो पटक सांसद निर्वाचित भएका थिए।
चौथो पटक संसद छिर्ने दाउसहित चुनावमा होमिएका भण्डारी अहिले मतदातासँग भेटघाटमा व्यस्त छन्। एमालेको सुदृढ संगठन नै जित्ने आधार भएको नेताहरू बताउँछन्।
‘विगतमा बैतडीमा धेरै काम भएका छन्। संगठन सुदृढ छ, अघिल्लो चुनावमा कांग्रेस माओवादी मिल्दा त जित्यौँ,’ एमालेका एक नेता भन्छन्, ‘अहिले एक्ला एक्लै छौँ, सहजै जित हासिल हुनेमा विश्वस्त छौँ।’
एमालेका संस्थापक नेता भट्ट नेकपाबाट उम्मेदवार बनेपछि उनले एमाले पङ्क्तिका मत काट्ने अनुमान गरिएको छ।
माओवादी र नेकपा एकीकृतको संगठित मत एकतृत राख्दै एमाले कांग्रेसको समेत मत तानेर चुनाव जित्ने रणनीतिमा भट्ट छन्।
‘एमालेमै लामो समय काम गरेकोले त्यहाँको मत पनि तानिन्छ। हामी पनि मिलेर एकजुट भएका छौँ,’ नेकपाका नेता भन्छन्, ‘अहिले हामी बलियो अवस्थामा छौँ।’
विगतका चुनाव
०४८ को चुनावमा बैतडीमा कांग्रेसले किल्ला जमायो। ३ क्षेत्र रहेको त्यसबेला कांग्रेसले ‘क्लिनस्वीप’ गरेको थियो।
कांग्रेसको किल्ला ०५१ को मध्यावधि चुनावसम्म टिकेन। ०५१ मा २ निर्वाचन क्षेत्र रहँदा दुवैमा राप्रपाका लोकेन्द्रबहादुर चन्दले वर्चश्व जमाए।
०५३ को उपचुनावमा केशबबहादुर चन्दले जित्दै कांग्रेसलाई ‘कमब्याक’ गराए। ०५६ मा दुवै क्षेत्र फेरि कांग्रेसले नै जित्यो। क्षेत्र नम्बर १ बाट नरेन्द्रबहादुर बम र क्षेत्र नम्बर २ बाट विनयध्वज चन्दले चुनाव जितेका थिए।
०६४ को पहिलो संविधानसभा चुनावमा माओवादीले किल्ला जमायो। क्षेत्र नम्बर १ मा नरेन्द्रबहादुर कुँवर र क्षेत्र नम्बर २ मा रेनु चन्दले विजय हासिल गरेका थिए।
०७० को चुनावमा क्षेत्र नम्बर १ मा एमालेका दामोदर भण्डारी र क्षेत्र नम्बर २ मा कांग्रेसका नरबहादुर चन्दले जितेका थिए।
२६ वर्षपछि ‘कमब्याक’ खोजिरहेको कांग्रेस
बैतडीमा चतुरबहादुर चन्द नेपाली कांग्रेसलाई २६ वर्षपछि कमब्याक गराउँदै पहिलो पटक संसदको यात्रा तय गर्ने दाउका साथ चुनावी मैदानमा उत्रिएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)को दुई कार्यकाल नेतृत्व गरेका चन्द यसअघि नै कांग्रेसबाट बैतडीमा चुनाव लड्न खोजिरहेका थिए।
टिकट वितरणमा पाखा लाग्दै आएका चन्दलाई यसपटक कांग्रेसले टिकट दिएको हो।
करिब २३ वर्षे लामो शिक्षण पेशा त्यागेर चन्द राजनीतिमा सक्रिय भएका थिए। पटक पटक महाधिवेशन प्रतिनिधि चयन भएका चन्द ०७६ मा कांग्रेस बैतडीको उपसभापति हुँदै अहिले सभापति छन्।
उनी अहिले गाउँबस्ती पुगेर मतदाता रिझाउनमा व्यस्त छन्। बाटोघाटो, खानेपानी, विद्युतीकरणलगायत समस्या समाधान गर्ने प्रतिवद्धता उनले मतदातामाझ गरिरहेका छन्।
‘३१ वर्षदेखि विभिन्न संघसंस्थामा रहेर शिक्षा, खेलकुद लगायत सामाजिक योगदानमा सक्रिय छु। अन्यायमा परेकोले मौका पाए यसले काम गर्न सक्छ भन्ने छ,’ चन्द भन्छन्, ‘जनताले परिवर्तन खोजेका छन्। निर्वाचित गराउनेमा विश्वस्त छु।’
पछिल्लो १२/१५ वर्षको अवधिमा एउटै व्यक्तिलाई जिताएर पठाउँदा पनि काम नगरेको गुनासो आइरहेको उनले बताए। झुलाघाटमा पक्की पुल, महाकाली करिडोर तथा पहाडको उजाड जमिन व्यवस्थापन गर्दै बसाइसराइँ रोक्ने लगायत योजना पनि उनले अघि सारिरहेका छन्।
हरिमोहनले तान्लान् रास्वपाको लहर?
अघिल्लो चुनावमा प्रदेशसभामा झिनो मतान्तरले पराजित हरिमोहन रास्वपाको लहर बैतडीमा तान्दै संसदमा डेब्यू गर्ने दाउमा छन्।
सिगास गाउँपालिका क्षेत्रमा अहिले चुनाव प्रचारप्रसारमा रहेका उनी कृषि क्रान्ति, प्राविधिक शिक्षालय स्थापना तथा पर्यटन विकास लगायत मुद्दा लिएर मतदाता रिझाइरहेका छन्।
जनताले परिवर्तन खोजेको र परिवर्तनको संवाहकको रुपमा देशभर रास्वपा छाएकोले जित हासिल हुने हरिमोहन दाबी गर्छन्।
‘अहिलेको चुनाव सामान्य होइन। परिवर्तन बोकेको चुनाव हो। पहिलो हामी हुन्छौँ,’ उनी भन्छन्, ‘दोस्रो तेस्रोका लागि अन्यबीच प्रतिस्वर्धा हुन्छ।’
प्रदेशसभामा स्वतन्त्र लड्दा पाएको मत जोगाउँदै थप मत तान्नु पर्ने स्थितिमा छन् भण्डारी। तर विगतमा टिकट नदिएर कांग्रेसले अन्याय गरेकोले सहानुभूतिको मत पाएको भएपनि अहिले त्यो मत नपाउने विश्लेषण छ।
‘टिकटमा अन्याय गरेकोले जिते पनि हारे पनि कांग्रेस नै हो भनेर कांग्रेसीले नै सहयोग गरेका थिए। तर अहिले त्यस्तो अवस्था छैन,’ कांग्रेसका एक नेताको विश्लेषण छ, ‘रास्वपमा गएकाले पहिले पाएको पूरै मत पाउन गाह्रो छ।’
०७९ को अंकगणित
०७९ को चुनावमा पाएको समानुपातिक मतको आधारमा नेकपा एमाले बलियो स्थितिमा देखिएको छ। अघिल्लो चुनावमा एमालेले २९ हजार ४० मत पाउँदा कांग्रेसले २४ हजार ५०० मत पाएको थियो।
यस्तै, नेकपा माओवादी केन्द्रले ११ हजार ४०, रास्वपाले २ हजार २५०, राप्रपाले १ हजार ९८८ र नेकपा एकीकृत समाजवादीले १ हजार ४०० समानुपातिक मत पाएको थियो।
Shares

प्रतिक्रिया