सुदूरपश्चिम


देउवाले जमाएको ३४ वर्षे कांग्रेसको विरासत भत्काउँदै संघीय संसदमा उदाए तारा

देउवाले जमाएको ३४ वर्षे कांग्रेसको विरासत भत्काउँदै संघीय संसदमा उदाए तारा

गोकुल जोशी
फागुन २३, २०८२ शनिबार २१:५०, कञ्चनपुर

डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. तारा प्रसाद जोशी कांग्रेसका नैनसिंह महरलाई ७ हजार १० मतान्तरले उछिन्दै निर्वाचित भएका छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाका जोशीले १९ हजार १३१ मत पाउँदा कांग्रेसका महरले १२ हजार १२१ मत मात्रै प्राप्त गर्न सके। 

यस्तै, नेपाली कम्युनिष्ट पार्टीका मानसिंह मालले ६ हजार ८३४ र नेकपा एमालेका चक्र प्रसाद स्नेहीले २ हजार ९२६ मत प्राप्त गरेका छन्। 

योसँगै रास्वपाका जोशीले ३४ वर्षदेखि डडेल्धुरामा कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले कायम गरेको वर्चश्व तोडेका छन्। 

०४८ यताका चुनाव जित्दै आएका देउवा कांग्रेस सभापतिबाट विस्थापित भएपछि यसपटक डडेल्धुरामा उम्मेदवार बनेनन्। उनको स्थानमा कांग्रेसले युवा नेता नैनसिंह महरले चुनावमा उठाएको थियो। 

कांग्रेसका महरलाई भारी मतान्तरले पराजित गर्दै रास्वपाका जोशीले गृहजिल्ला डडेल्धुरामा देउवाले जमाएको कांग्रेसको विरासत भत्काउँदै संघीय संसद यात्रा तय गर्न सफल भएका छन्। 

को हुन् तारा ?
डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा वि.सं. २०२७ सालमा जन्मिएका तारा विद्यार्थी जीवनदेखि नै राजनीतिमा जोडिए। 

०४५ मा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुबाट उनले राजनीति सुरु गरेका थिए। ०४८ सालमा शिक्षण पेशामा आबद्ध रहँदा उनी शिक्षक संगठनको सदस्य बने। 

०५१ मा एमाले डडेल्धुरा काठमाडौं सम्पर्क मञ्चको सदस्य बनेका उनी ०५३ सालमा एमाले डडेल्धुरा जिल्ला कमिटी सदस्य बनेका थिए। 
०५४ सालमा जिल्ला कमिटी सचिव हुँदै ०६९ मा एमालेको जिल्ला अध्यक्ष बनेका थिए। एमाले विभाजनमा उनी साविकको नेकपा एकीकृत समाजवादीतिर गएका थिए। 

०७९ को चुनावमा साविकको वामलोकतान्त्रिक गठबन्धनबाट टिकट नपाएपछि स्वतन्त्र भिडेका जोशी प्रदेश सांसद निर्वाचित भएका थिए। 

जेनजी आन्दोलनपछि कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी नेपालमा आबद्ध भएका जोशी रास्वपासँग एकीकरण भंग भएपनि उनी रास्वपामै रहेर प्रतिनिधिसभाको उम्मेदवार बने। 

जोशी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर चुनाव भिडेका उनले प्रतिनिधिसभाको याता तय गरेका छन्। 

०७० को चुनावमा देउवासँग प्रतिनिधिसभामा पराजित जोशी ०७४ मा कांग्रेसकै कर्णबहादुर मल्लसँग प्रदेश सभामा पराजित भएका थिए। 

०७९ को चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर प्रदेश सांसद निर्वाचित जोशी अहिले त्यसबाट राजीनमा दिएर चुनाव जित्दै संघीय सांसद बनेका छन्। देउवासँग पहिलो पटक हार व्यहोरेको १२ वर्षपछि उनी चुनावी मैदानमा नभएको मौकामा कांग्रेससँग बदला लिँदै उनले संसद यात्रा तय गर्न सफल भए।

राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक तह र भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अन्तराष्ट्रिय सम्बन्ध विषयमा उनले विद्यावारिधि हासिल गरेका छन्। 

अन्तराष्ट्रिय राजनीतिक नीति तथा सम्बन्ध, विकास, उद्यम विकास, सार्वजनिक वित्त, सार्वजनिक प्रशासन तथा मानव अधिकारका क्षेत्रमा डा. जोशीको अनुभव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad