सुदूरपश्चिम


जेनजी घाइतेकी दिदी आकृति: भदौ २३ ले मोडियो जीवन, एनजीओमा काम गर्दागर्दै सांसद

जेनजी घाइतेकी दिदी आकृति: भदौ २३ ले मोडियो जीवन, एनजीओमा काम गर्दागर्दै सांसद

गोकुल जोशी
चैत ९, २०८२ सोमबार १६:५३, कञ्चनपुर

डडेल्धुराको अमरगढी नगरपालिका–५ की २७ वर्षीया आकृति अवस्थीले कहिल्यै राजनीतिमा आउने सोचेकी थिइनन्। 

उनी निड्स नेपाल नामक एनजीओमा काम गरिरहेकी थिइन्। अन्तर्राष्ट्रिय सम्बन्ध र विकासको क्षेत्रमा उनी कार्यरत थिइन्। 

तर, २३ भदौको एउटा घटनाले उनको जीवनमा अप्रत्याशित मोड ल्यायो—जुन दिन उनको परिवारमाथि ठूलो बज्रपात पर्‍यो।

उनका जेठा भाइ २२ वर्षीय मुकेशले सबइन्जिनियरिङको अध्ययन सकाइसकेका थिए। उनी काठमाडौँमै बस्थे। थप अध्ययनको लागि अष्ट्रेलिया जाने र अध्ययनपछि फर्केर स्वदेशमै फर्केर काम गर्ने सोचमा थिए, मुकेश।

२३ भदौमा सुशासन, भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जालमाथि लागेको प्रतिबन्ध फुकुवाको माग गर्दै भएको जेनजी आन्दोलनमा उनी पनि सहभागी भए। 

आन्दोलनका क्रममा मुकेशको खुट्टामा गोली लागेर उनी घाइते भए। उनले आन्दोलनमा खुट्टा गुमाए। त्यस घटनापछि आकृतिको जीवन मात्र होइन, सोच र लक्ष्य पनि परिवर्तन भए। 

जेनजी आन्दोलनपछि भएको प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले घाइते मुकेशकी दिदी आकृतिलाई समानुपातिक उम्मेदवारको बन्द सूचीमा नाम समावेश गर्‍यो। 

उनै आकृति डडेल्धुराबाट समानुपातिक सांसद भएर संसदमा पुगेकी छन्। अब उनी व्यक्तिगत पीडालाई सामाजिक आवाजमा रूपान्तरण गर्दै जेनजीसँग सम्बन्धित मुद्दाहरू संसदसम्म पुर्‍याउने अठोटमा छिन्।

‘देशको अवस्था देखेर चिन्तित थिएँ। राजनीतिमा आउने त्यस्तो कुनै सोच बनाएकी थिइनँ। आफ्नो क्षेत्रबाट काम गर्नेमै थिएँ,’ उनी भन्छिन्, ‘पार्टीले समानुपातिकमा राखेपछि अब संसदमा सुशासन र भ्रष्टाचार अन्त्यका लागि जेनजीको अभिभावक बनेर आवाज उठाउँछु।’

करिब एक दशक विभिन्न राष्ट्रिय, अन्तराष्ट्रिय संघसंस्थाका विभिन्न परियोजनामा काम गरेको उनको अनुभव छ। 

यस दौरानमा उनले परियोजना समन्वय, अनुगमन तथा मूल्यांकन, दस्तावेजीकरण र समुदाय सशक्तीकरणका क्षेत्रमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरूसँग सहकार्य गर्दै काम गरेकी छन्। 

लैङ्गिक मूलप्रवाहीकरण, सामाजिक समावेशीकरण र नारीवादी दृष्टिकोणमा विशेष ज्ञान तथा अनुभव छ। आकृतिले निड्स नेपालको ट्रोसा कार्यक्रममा संयोजक, वाक नेपालमा फिल्ड प्राविधिक अधिकृत र कृषि तथा पोषण अधिकृत लगायत जिम्मेवारी सम्हालिसकेकी छन्। 

उनले सुदूरपश्चिम विश्वविद्यालयबाट विकास अध्ययनमा स्नाकोत्तर गरेकी छन्। 

वि.सं. २०७० सालमा एसएलसी उतिर्ण गरेकी उनले अर्थशास्त्र र स्वास्थ्यमा प्लस टु, सीटीइभीटीबाट जेटिए र आइएस्सी एजी उतिर्ण गरेकी आकृतिले त्रिभुवन विश्वविद्यालयबाट स्नातकसम्मको अध्ययन पूरा गरिन्। 

एनजीओमा महिला सशक्तिकरणका साथै विकासका विभिन्न परियोजनामा काम गर्दागर्दै उनी संसदमा पुगेकी छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad