सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन भत्किएको छ।
कांग्रेसबाट सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेतर्फका सबै ४ मन्त्रीलाई पदबाट बर्खास्त गरेका हुन्।
बुधबार मुख्यमन्त्री शाहले एमालेका ३ मन्त्री र १ राज्यमन्त्रीलाई सरकारबाट हटाएका हुन्।
योसँगै कांग्रेस-एमाले गठबन्धन पनि भत्किएको छ।
कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा एमालेबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मलादेवी साउद सहभागी थिए।
मुख्यमन्त्री शाह उच्चस्तरमा छलफल गरेर बुधबार मात्रै काठमाडौँबाट धनगढी फर्किएका थिए।
तर बजेट पारित गर्ने विषयमा एमालेसँग सहमति जुट्न नसकेपछि उनले एमालेतर्फका मन्त्रीहरूलाई हटाउने निर्णय गरेको हुन्।
सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका विषयमा केही दिनदेखि सत्तारूढ नेपाली कांग्रेस र एमालेबिच विवाद भइरहेको थियो।
Shares

प्रतिक्रिया