सुदूरपश्चिम


चुनावको उल्लासमा सञ्जिवको मृत्युले शोकमग्न त्रिवेणी

चुनावको उल्लासमा सञ्जिवको मृत्युले शोकमग्न त्रिवेणी

गोकुल जोशी
मंसिर ४, २०७९ आइतबार २३:४, कञ्चनपुर

संविधान जारी भएपछि दोस्रो पटक आइतबार प्रतिनिधि र प्रदेश सभा चुनावको मतदान सम्पन्न भयो। 

आगामी पाँच वर्षका लागि आफ्नो जनप्रतिनिधि चुन्न हर्षोल्लासका साथ लाखौं जनताले आफ्नो मताधिकार प्रयोग गरे। 

मतदान गरिसकेपछि अहिले कस्ले जित्ला भनेर प्रक्षेपण हुन थालेको छ। तर, चुनावले तताएको माहोलकाबीच अहिले बाजुराको त्रिवेणी नगरपालिका–७ मा भने सन्नाटा छाएको छ।   

मतदानको क्रममा कतिपय ठाउँमा झडप भए। त्यसमध्येको एक हो–बाजुरा। मतदानको क्रममा बाजुराका धेरै ठाउँमा तनाव उत्पन्न भयो। 

कतिपय ठाउँमा विवाद हुँदा राजनीतिक दलका कार्यकर्ताबीच दोहोरो झडप भए। मतपेटिका खोसाखोस, जलाउनेदेखि प्रहरीलाई गोली चलाउनेसम्मको स्थिती त्यहाँ देखियो। 

विवादले बूढीगंगा, बूढीनन्दा, त्रिवेणी लगायत ठाउँमा केही मतदानस्थल एकाएक रणमैदान बने।

त्रिवेणी नगरपालिका–७ मा मतदानको क्रममा विवाद हुँदा सिर्जना भएको तनावले एक युवकले ज्यान नै गुमाउनु परेको छ।

त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी आधारभूत विद्यालयमा मतदान अन्तिम चरणमा थियो। त्यसै क्रममा फर्जी मतको विषयमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भयो। 

उत्पन्न स्थिती नियन्त्रणमा लिन गोली चलाउँदा २३ वर्षीय सञ्जिव ऐडीले ज्यान गुमाए। उनी वडा नं. ७ कै कुसेडीका हुन। घटनामा अन्य तीन जना घाइते भए।

घाइते खडक ऐरी, परशुराम पाध्याय र प्रेम थापालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगेको छ।

चुनावको उल्लासमा युवकको ज्यान गएपछि बाजुरा शोकमग्न छ। ‘सबैले खुसी साथ पाँच वर्ष पछि मत खसाले, तर मतदानको दिनमै दुखद घटनाले हामी शोकमा डुबेको छौं,’ वडा नं. ७ का वडाध्यक्ष जुद्धबहादुर ऐडी भन्छन्, ‘गाउँनै ‘शान्त’ भएको छ।’

उनका अनुसार मृतक ऐडी केही दिनअघि मात्रै काठमाडौंबाट घर फर्किएका थिए। उनका बुवा मानबहादुर शिक्षक हुन। पितृ शोकमा रहेका मानबहादुरको परिवारलाई कलिलो सन्तान गुमाउँदा बज्रपात परेको छ।

प्रहरीका अनुसार फर्जी मतका विषयमा विवाद हुँदा दुई पक्ष मतपेटिका तानातानमा उत्रिए। त्यसपछि सृजित स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर बिष्टले बताए।

मृतक ऐडीको छातीमा गोली लागेको थियो। त्यसपछि नाटेश्वरी आधारभूत विद्यालय मतदानस्थलमा मतदान प्रक्रिया नै सुरु हुन सकेको छैन।

सोमबार छलफल पश्चात् मतदानको बारेमा टुंगो लगाइने वडाध्यक्ष ऐडीले बताए। घटनामा केही प्रहरी पनि घाइते भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .