ad ad

सुदूरपश्चिम


देउवाको गृहप्रदेशबाट ३ सिटका लागि कांग्रेसले पठायो ८४ जनाको नाम

देउवाको गृहप्रदेशबाट ३ सिटका लागि कांग्रेसले पठायो ८४ जनाको नाम

गोकुल जोशी
पुस २०, २०८० शुक्रबार १०:२१, कञ्चनपुर

पार्टी सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा नेपाली कांग्रेसभित्र राष्ट्रिय सभा सदस्य बन्न चाहनेको लर्को लागेको छ।

स्थानीय तहका प्रमुख भइसकेकादेखि संसदीय चुनावमै जनताले नपत्याएका सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्रीसम्म राष्ट्रिय सभा सदस्य बन्ने ध्याउन्नमा छन्।

राष्ट्रिय सभाका २० सदस्य चुन्न आगामी माघ ११ गते हुने निर्वाचनका लागि सत्ता गठबन्धनभित्र भागबन्डा नटुंगिदै दलहरुले धमाधम नाम सिफारिस गरिरहेका छन्। राष्ट्रिय सभा सदस्य निर्वाचनका आंकाक्षीहरुले टिकटका लागि दौडधुप थालेका छन्। 

राष्ट्रिय सभाको चुनाव नजिँकिदै जाँदा सत्ता गठबन्धनमा आबद्ध दलहरु भागबन्डा मिलाउन निरन्तर छलफलमा छन्।

सुदूरपश्चिमबाट राष्ट्रिय सभाका तीन सिटका लागि सुदूरपश्चिम कांग्रेसले ८४ जनाको नाम पार्टीको केन्द्रमा सिफारिस गरेको छ।

जिल्लाबाट सिफारिस भएर आएका नाम सदर गर्दै केन्द्रमा पठाइएको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री नरनारायण शाहले जानकारी दिए। 

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आउँदो माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिसकेको छ। 

सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनय हुने १ जनासमेत गरेर फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको पदावधि सकिँदै छ। उक्त पद रिक्त हुनु ३५ दिनअगावै निर्वाचन गरी सदस्य चुन्नुपर्ने संवैधानिक व्यवस्था छ। 

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेका ३ जनाको पदावधि फागुनमा सकिँदै छ। नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका कैलालीका हरिराम चौधरी उत्सव, डडेल्धुराका महेश महरा  र नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी कञ्चनपुरकी इन्दु कडरियाको पदावधि सकिन लागेको हो।

रिक्त हुने तीन सिटमा सत्तारुढ गठबन्धनको शीर्ष दल नेपाली कांगेसमा ८४ जना आकांक्षी  देखिएका छन्। सुदूरपश्चिममा खाली हुने ३ सिटका लागि सत्तारुढ गठबन्धनभित्र कुन दलले कति उम्मेदवार खडा गर्ने भन्ने टुंगो लाग्न बाँकी छ।

देउवाको गृहजिल्ला डडेल्धुराबाट ५ नेताले राष्ट्रिय सभामा आकांक्षा देखाएका छन्। सुदूरपश्चिमका पूर्वसामाजिक विकासमन्त्री गोविन्दराज बोहरासहित ५ जनाको नाम डडेल्धुराबाट प्रदेश कार्यसमिति हुँदै केन्द्रमा सिफारिस भएको छ।

बोहरा यसपटकको चुनावमा डडेल्धुराममा पराजित भएका थिए। अघिल्लो पटकको स्थानीय तह निर्वाचनमा डडेल्धुराको परशुराम नगरपालिकाको मेयर जितेका भीमबहादुर साउद पहिलो नम्बरमा सिफारिसमा परेका छन्। 

उनी कांग्रेस डडेल्धुराको सभापति हुन्। यस्तै, नेपाल विद्यार्थी संघका पूर्व सभापति तथा कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर पनि राष्ट्रिय सभा सदस्यको लागि सिफारिस भएका छन्।

डडेल्धुराबाट रघुवर भट्ट र तारक बुढाऐरलाई पनि राष्ट्रिय सभामा अघि सारिएको छ। नेपाली कांग्रेसका बैतडीका सभापति समेत रहेका नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द बैतडीबाट पहिलो नम्बरमा सिफारिस भएका छन्।

प्रताप सिंह ठगुन्ना, लोकराज अवस्थी, इन्जिनियर दिनेशप्रसाद भट्ट, सुरेन्द्रबहादुर चन्द र सुरेन्द्र सिंह ऐर पनि बैतडीबाट सिफारिस भएका छन्। अवस्थी पहिलो संविधान सभा चुनावमा  एमालेका दामोदर भण्डारीसँग पराजित भएका थिए।

बैतडीबाट अपांगतर्फ राजेन्द्र कलौनी र महिलातर्फ देवु ठगुन्ना सिफारिस भएका छन्। बाजुराबाट रामसिंह रावल, मनबहादुर रावल र कविराज पण्डित तथा आरक्षणतर्फ मानबहादुर थापा, मनमति ऐडी, लालबहादुर सुनार, दीपा रोकाया, राधिका सुनार, देवु न्यौपाने र विद्या तिमिल्सेना सिफारिसमा परेकी छन्।

दार्चुलाबाट करवीर सिंह कार्की, महादेव बडु, चन्द्रसिंह सामन्त र गणेशराज भट्ट तथा आरक्षणतर्फ ललितसिंह बोहरा, वासुदेव ऐतवाल, अमरसिंह धामी, राजु अवस्थी र दोप्रती डाँगाको नाम केन्द्रमा पठाइएको छ।

कञ्चनपुरबाट खुलातर्फ बलदेव बोहरा, यज्ञराज जोशी, प्रेमबहादुर विष्ट र ठाकुर बराल सिफारिस भएका छन्। अपांगतर्फ दिवाकर पाण्डेय र महिलातर्फ कल्पना केसी, माया भट्ट र शान्ता शर्मालाई अघि सारिएको छ। 

कांग्रेसमा सबैभन्दा बढी आकांक्षी कैलालीमा देखिएका छन्। रामचरण चौधरी, वीरबहादुर हमाल, मोहनसिंह राठौर, हिरादत्त भट्ट, जनक बम, धर्मराज न्यौपाने, विजयबहादुर स्वार, खेमराज डगौरा थारु, फकिर कडायत, गोपालबहादुर देउपा, नारायणदत्त भट्ट, सुशीला स्वार, रीता भण्डारी बम, पुष्पा जोशी भट्ट, नरनारायण शाह र बलबहादुर विष्ट सिफारिस भएका छन्।

डोटीबाट कुमार टेलर, दीपक विष्ट, भरत खड्का, टेकबहादुर ओझा, प्रदीप कुमार देउवा र भक्तबहादुर बलायर खुलातर्फ सिफारिसमा परेका छन्। आरक्षण कोटातर्फ रामचन्द्र राना, दुर्गा शर्मा, प्रशिष महरा, प्रेमा श्रेष्ठ र माया कुँवरलाई डोटीबाट राष्ट्रिय सभाका लागि अघि सारिएको छ।

अछामका गोविन्दबहादुर शााह, भरतकुमार स्वार, टीकाराम खनाल, बलबहादुर कुँवर, अर्जुन ताम्राकार, भूमिशरण ढकाल बजगाईं, रामबहादुर शाही, देवराज देवकोटा, हर्कबहादुर स्वार र अक्कलबहादुर विष्टले आकांक्षा देखाएका छन्।

यस्तै, आरक्षणतर्फ अनुराधा स्वार, रुपा आउजी, भुवनेश्वरी शर्मा र पूर्णा शाहलाई अछामबाट कांग्रेस सुदूरपश्चिमले केन्द्रमा सिफारिस गरेको छ। बझाङबाट अर्जुनजंग बहादुर सिंहको नाम राष्ट्रिय सभाका लागि सिफारिस भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .