बुधबार मध्यराति क्रोएसियाविरुद्ध अमेरिकी राज्य टेक्ससको ड्यालस स्टेडियममा इंग्ल्यान्डले विश्वकपको पहिलो खेल खेल्दै छ।
थोमस टुचेलको नेतृत्वमा रहेको इंग्ल्यान्ड पहिलो खेलबाटै विजयको झण्डा फहराउन चाहन्छ। समूह ‘एल’को यो खेल नेपाली समयअनुसार राति १:४५ बजे हुनेछ ।
इंग्ल्यान्डको सिनियर टोलीले पछिल्लोपटक १९६६ पछि विश्वकप जितेको छैन। यद्यपि उमेर समूहमा यु–१७ र यु–२० टोलीले सन् २०१७ मा विश्वकप उपाधि उचालेको थियो ।
यसपालि सिनियर टोलीलाई उपाधि दिलाउन चाहन्छन् टुचेल। उनी ६० वर्षको उपाधि खडेरी मेटाउन चाहन्छन्।
इंग्ल्यान्डले युरोपबाट सबैभन्दा छिटो अमेरिकाको टिकट काटेको थियो। प्रारम्भिक छनोटमा इंग्ल्यान्डले सबै आठ खेल जित्दै सबैमा क्लिन सिट पनि राखेको थियो।
तर, विश्वकपको पूर्वसन्ध्यामा भएका मैत्रीपूर्ण खेलहरु भने इंग्ल्यान्ड उरुग्वेसँग बराबरी र जापानसँग १–० ले स्तब्ध बन्यो।
इंग्ल्यान्डले कुनै पनि एसियाली मुलुकसँग हार व्यहोरेको यो नै पहिलोपटक थियो। त्यसपछि न्यु जिल्यान्ड र कोस्टारिकासँग जितेकाले ह्यारी केनको कप्तानी रहेको टोलीमा विश्वकपअघि कन्फिडेन्स बढाइदिएको छ।
कोस्टारिकाविरुद्ध टुचेलले बलियो पहिलो रोजाइलाई मैदानमा उतारेका थिए। त्यही कारण पनि ३–० को सहज जित सम्भव भएको थियो। यद्यपि थ्री लायन्सले पछिल्ला आठमध्ये सात संस्करणमा आफ्नो पहिलो खेल हारेको छैन।
सन् २०१४ मा टोली इटालीसँग २–१ ले पराजित भएको थियो। टोलीले सातमध्ये चार खेल जितेको छ भने बाँकी तीन खेल बराबरीमा टुंगिएको छ। पछिल्ला दुई संस्करण भने टोलीले क्रमशः ट्युनिसिया र इरानलाई हराएको थियो।
इंग्ल्यान्डलाई विश्वकपको इतिहासले ‘फेवर’ नगरेको टोली देखाउँछ।
यता विश्वकपमा अहिलेसम्म पनि क्रोएसियालाई उपाधिको दाबेदारका रुपमा गनिने गरेको छैन। तर, टोलीले पछिल्ला दुई संस्करण लगातार मेडल जितेको छ। रसियामा सन् २०१८ मा भएको विश्वकपमा यो टोली उपविजेता बन्न सफल रहेको थियो भने कतारमा सन् २०२२ मा कांस्य पदक जितेको थियो।
लगत्तैको सन् २०२२–२३ मा यो टोलीले नेसन्स लिगमा पनि मेडल प्राप्त गरेको थियो।
यद्यपि ज्लात्को ड्यालिकको नेतृत्वमा रहेको क्रोएसियालाई यसपालि मेडलको दाबेदार भनेर भनिहाल्न मिल्दैन । किनभने क्रोएसिया युरोपियन च्याम्पियनसिप २०२४ मा समूह चरणबाटै बाहिरिएको थियो। टोलीले एक खेल पनि जितेन।
यो क्रोएसियाका लागि २००६ यताकै सबैभन्दा खराब अन्तर्राष्ट्रिय प्रतियोगिता थियो।
क्रोएसिया अनुभवी स्क्वाडका साथ अमेरिका पुगेको छ। केही चर्चित खेलाडी अहिले करिअरको उत्तरार्धमा छन्। तर, यसो भनिरहँदा क्रोएसियाका लागि छनोट प्रतियोगिता इंग्ल्यान्डको जस्तै सम्झनलायक रह्यो। टोलीले आठ खेलमा मात्र दुई अंक गुमायो।
इंग्ल्यान्डजस्तै क्रोएसियाका लागि पनि प्रि–वर्ल्डकप फ्रेन्ड्ली त्यति खास रहेन। ब्राजिल र बेल्जियमसँग हारेको क्रोएसियाले स्लोभेनियाविरुद्ध २–१ को संघर्षपूर्ण जित निकाल्यो। स्लोभेनियारुद्ध इन्जुरी समयमा मारियो पासालिकले गोल गर्दै टोलीलाई जित दिलाएका थिए।
क्रोएसिया ‘लेट गोल’मा रमाउने टोली हो। रसियामा सन् २०१८ मा भएको विश्वकप सेमिफाइनलमा मारियो मान्जुकिचले १०९औँ मिनेटमा इंग्ल्यान्डविरुद्ध निर्णायक गोल गरेका थिए।
इंग्ल्यान्डमा अहिले इन्जुरीको समस्या छैन। तर, राइट विंगर बुकायो साकाको फिटनेश टुचेलका लागि टाउको दुखाइको विषय बनिरहेको छ। आर्सनलका साका अहिले फिट नरहेको बुझिएको छ।
साकाको ठाउँमा टुचेलले उनका आर्सनल सहकर्मी नोनी माडुवेकेलाई खेलाउने सम्भावना बलियो छ। लेफ्ट साइडमा बार्सिलोनाका नयाँ साइनिङ एन्टोनी गोर्डन हुने अनुमान छ।
क्रोएसियसँग पनि विकल्पहरु धेरै छन्। लुका मोड्रिच र इभान पेरिसिच ‘प्लेयर्स टु वाच’ हुन्। पेरिसिचका लागि गत सिजन एकदमै राम्रो रह्यो। पीएसभीले गरेका २६ गोलमा उनको संलग्नता रह्यो।
यो खेललगत्तै समूह ‘एल’को अर्को भिडन्तमा घाना र पानमाले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछ। खेल बिहीबार बिहान ३:४५ बजे हुनेछ ।
Shares

प्रतिक्रिया