World Cup 2026


६० वर्षपछि विश्वकपमा अर्जेन्टिना र स्पेनको भेट : सुपरस्टार र राइजिङ स्टारको फाइनल भिडन्त

६० वर्षपछि विश्वकपमा अर्जेन्टिना र स्पेनको भेट : सुपरस्टार र राइजिङ स्टारको फाइनल भिडन्त

नेपालखबर
साउन ३, २०८३ आइतबार १७:५३, काठमाडौँ

फिफा विश्वकपको फाइनलमा आज राति स्पेन र अर्जेन्टिना भिड्दै छन्। 

अमेरिकाको न्युजर्सीस्थित इस्ट रथरफोर्डमा रहेको न्युयोर्क न्युजर्सी स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार आइतबार राति १२ः४५ बजे हुँदै छ। 

दुई देशको उपाधि भिडन्तलाई विश्व नम्बर १ र विश्व नम्बर २ बीचको घमासान प्रतिस्पर्धाको रुपमा प्रतीक्षा गरिएको छ। 

अर्जेन्टिना साबिक विजेता पनि हो भने स्पेनले १६ वर्षदेखि विश्वकप उचाल्न सकेको छैन। स्पेन सन् २०१० को विश्वविजेता हो। 

त्यसो त अर्जेन्टिनाले पनि ३६ वर्षपछि अर्को विश्वकप उचालेको थियो सन् २०२२ मा। हालसम्म अर्जेन्टिनाले तीनपटक विश्वकप जितेको छ। पहिलो पटक सन् १९७८ मा विश्वकप जितेको अर्जेन्टिनी टोलीले सन् १९८६ मा दोस्रो र सन् २०२२ मा तेस्रो पटक उपाधि जितेको थियो। 

यो विश्वकप जित्न सके उसले आफ्नो राष्ट्रिय जर्सीमा चार तारा चम्काउन पाउनेछ। 

त्यसकारण आज हुने खेललाई १६ वर्षदेखिको उपाधि भोक मेट्ने र साबिक विजेताको छवि जोगाउनेबीचको रोचक भिडन्त मानिएको छ।

यमाल र मेसीको दोस्रो भेट 
फिफा विश्वकपको उपाधि भिडन्तमा विश्वका सुपरस्टार लियोनल मेसी र सानै उमेरमा विश्वका स्टार बन्दै गरेका लमिन यमालको प्रतिस्पर्धा हेर्न पाइनेछ। एउटै क्लबबाट नाम कमाएका यी दुई खेलाडीको यो दोस्रो भेट हुनेछ। मैदानमा भने यो पहिलो भेट हो। 

यसअघि युनिसेफको एक कार्यक्रमले यी दुईको पहिलो भेट गराइदिएको थियो। जतिबेला यमाल शिशु र मेसी उमेरको दोस्रो दशक पार गर्दै थिए। बाथटबमा यमाललाई नुहाइदिएको त्यही तस्बिर अहिले फेरि इन्टरनेटमा भाइरल बनिरहेको छ। मेसीले बार्सिलोनाबाटै करिअर चम्काए, यमाल सोही क्लबमा स्टार कहलाउँदै छन्। 

ला मासिया एकेडेमीबाट दुवैले फुटबल सिकेका हुन्।  मेसीले ८ सय बढी करिअर गोल गरेर आफूलाई फुटबल दुनियाँमा स्थापित गरेका छन् भने १९ वर्षीय यमाल उत्कृष्ट फुटबल कला पस्किँदै बेग्लै छाप छोडिरहेका छन्।

सन् २०२२ मा मेसीले अर्जेन्टिनालाई तेस्रोपटक विश्वकप जिताए। त्योसँगै फुटबलका चर्चित हस्तीहरुसँगै आफूलाई उभ्याएका छन्। मेसीले २००६ देखि २०२६ सम्म छ पटक विश्वकप खेलेका छन्। फिफा विश्वकपमा २१ गोल गरिसकेका छन्। सन् २००६ मा १ गोलबाट स्कोरिङ सुरु गरेका उनले २०१० को विश्वकपमा गोलविहीन हुनुपर्यो। सन् २०१४ मा उनले ४ गोल गरे भने २०१८ मा १, सन् २०२२ मा ७ गोल गरेका थिए। जारी विश्वकपमा हालसम्म ८ गोल उनले आफ्नो नाममा गरिसकेका छन्। 

यता यमालले जारी विश्वकपमा साउदी अरेबियाविरुद्ध स्पेनले ४–० ले जित्दा १ गोल आफ्नो नाममा गरेका छन्।

फाइनलसम्मको यात्रा 
स्पेन ७ अंक बटुल्दै समूह ‘एच’को विजेताका रुपमा नकआउट चरणमा पुगेको टोली हो। उसले समूह चरणमा साउदी अरेबिया र उरुग्वेलाई हरायो भने केप भर्डेसँग बराबरी खेल्यो। अन्तिम ३२ मा अस्ट्रियालाई ३–० ले विदाइ गरेको उसले अन्तिम १६ मा पोर्चुगललाई १–० ले पाखा लगायो। 

क्वार्टरफाइनलमा बेल्जियन टोलीलाई २–१ ले पराजित गर्दा सेमिफाइनलको यात्रा तय भएको थियो। विश्वविजेताको सम्भावित टोली फ्रान्सलाई २–० ले हराएर स्पेन फाइनलमा आइपुगेको हो। 

उता, अर्जेन्टिनाले पनि समूह ‘जे’को विजेताका रुपमा नकआउट यात्रा तय गरेको थियो। उसले समूह चरणमा अल्जेरिया, अस्ट्रिया र जोर्डनलाई पराजित गर्‍यो। अन्तिम ३२ मा उसले अतिरिक्त समयमा केप भर्डेको चुनौती ३–२ ले पन्छायो। अन्तिम १६ को विवादित प्रतिस्पर्धामा इजिप्टविरुद्ध ३–२ को जितसँगै अन्तिम ८ (क्वार्टरफाइनल) मा प्रवेश गरेको थियो। 

क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई हराउन पनि अर्जेन्टिनाले अतिरिक्त समयकै सहारा लियो। जहाँ ३–१ को जितपछि सेमिफाइनलमा पुगेको थियो। जसमा इंग्ल्यान्डविरुद्ध २–१ को कमब्याक जितपछि अर्जेन्टिनाले स्पेनसँगको उपाधि भेट पक्का गर्‍यो।

हेड टु हेडमा कुन टोली अघि? 
स्पेन र अर्जेन्टिना दोस्रोपटक विश्वकपमा भेट्न लागेका हुन्। सन् १९६६ को विश्वकपमा यी दुई टोलीले समूह चरणमा खेलेका थिए। जुन खेल २–१ ले अर्जेन्टिनाको पक्षमा गएको थियो। 

आजसम्मको सबै गरी अर्जेन्टिना र स्पेनले १४ खेल खेलेका छन्। जसमा स्पेनले ६ पटक जित्दा अर्जेन्टिनाले पनि ६ पटक नै जितेको छ भने दुईपटक बराबरीमा सकिएको छ। 

दुई टोलीबीचका पछिल्लो समयका मैत्रीपूर्ण खेलका नतिजाहरु मिश्रित रहेका छन्। 

सन् २०१८ मार्चमा भएको खेलमा स्पेन ६–१ ले विजयी भएको थियो। त्यसअघि सन् २०१० को सेप्टेम्बरमा अर्जेन्टिना ४–१ ले विजयी भएको थियो। त्यस्तै सन् २००९ नोभेम्बरको खेलमा स्पेन २–१ ले हावी हुँदा सन् २००६ अक्टोबर ११ को खेलमा पनि सोही नतिजा निस्किएको थियो। सन् १९९९ को नोभेम्बरमा भएको खेलमा भने अर्जेन्टिना २–० ले विजयी भएको थियो।

आजको खेलमा स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले ४–२–३–१ संरचनामा खेल्न सक्नेछ। जसमा साइमन, पोर्रो, क्युबार्सी, लापोर्ते, क्युकुरेला, रोद्री, राइज, यमाल, ओल्मो, बाइना र अयर्जबललाई खेलाउन सक्नेछन् भने अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले ४–१–३–२ को संरचनामा मार्टिनेज, मोलिना, रोमेरो, लिसान्द्रो, ताग्लिएफिको, पेरेदिस, डि पल, फर्नान्डेज, म्याक एलिस्टर, मेसी र अल्भारेजलाई उतार्न सक्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad