Authors


निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठान ठानी सहभागी हुन प्रधानमन्त्रीको आह्वान

निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठान ठानी सहभागी हुन प्रधानमन्त्रीको आह्वान

नेपालखबर
कात्तिक १०, २०८२ सोमबार ५:५७, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय पर्वका रूपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्षलाई आह्वान गरेकी छन्। 

आज सोमबार बिहान छठ पर्वको शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने पनि आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनबाट अनुमोदन गराउन अपिल गरेकी हुन्।

‘सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन। आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने पनि शान्तिपूर्ण तवरले राखी आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि हो’, उनले शुभकामना सन्देशमा भनेकी छन्, ‘यसनिम्ति पनि आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्षलाई आह्वान गर्दछु।’

यस्तो छ प्रधानमन्त्री कार्कीले दिएको छठ पर्वको पूरा शुभकामना सन्देश:

छठको शुभकामना सूर्यको आराधनासाथ मनाइने महान् पर्व छठको अवसरमा सबैलाई शुभकामना। सत्य, अहिंसा र प्रकृति प्रेममा अभिप्रेरित गर्ने यस पर्वले हामी नेपालीको सांस्कृतिक र सामाजिक रूपमा समेत तराई-पहाड-हिमाल जोड्ने सेतु बनिरहेको छ।

पवित्र आस्था, कठिन व्रत र सिंगारिएका नदी तथा तलाउका किनारा र त्यहाँका उत्सवले दिने शक्तिले सबैमा सद्भाव र खुसीयाली छाओस्। छठसहित हाम्रा चाडपर्वहरु हाम्रो सामाजिक एकता, सद्भाव र भ्रातृत्वका मानक पनि हुन्।

अहिलेको अवस्थामा हामी सबै नेपालीबीच अझै बढी एकता र सद्भावको खाँचो छ। जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व हामीमाथि छ। सबै पक्षले परिस्थितिको संवेदनशीलता र आआफ्नो जिम्मेवारीको बोध गर्दै निर्वाचन सफल पार्न जुट्नुपर्ने बेला छ।

सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन। आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने पनि शान्तिपूर्ण तवरले राखी आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि हो।

यसनिम्ति पनि आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्षलाई आह्वान गर्दछु।

२०८२-७-१० ने.सं. ११४६ कछलाथ्वः षष्ठी, सोमबार सुशीला कार्की प्रधानमन्त्री, नेपाल सरकार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad