विलासी स्पोर्ट्स कार निर्माता कम्पनी फेरारीले सन् २०२० का लागि यसअघि गरेको नाफा अनुमान फेरि संशोधन गरेको छ।
कम्पनीले विश्व महामारीका कारण कम्पनीको नाफा अझै घट्ने जनाएको हो। चालू वर्षको दोस्रो त्रैमासिकमा कोरोनाको असर अझै गहिरिने कम्पनीको भनाइ छ ।
रातो फर्मुला १ रेसिङ कारका लागि चर्चित कम्पनीले विभिन्न ब्याज, करलगायतका कारण गत वर्षभन्दा कम अर्थात् १ देखि १ अर्ब २० करोड युरोसम्म हुने अनुमान गरेको हो । यसअघि फेब्रुअरीमा कम्पनीले यो वर्ष नाफा १ अर्ब ३८ करोडदेखि १ अर्ब ४३ करोड युरो हुने अनुमान गरेको थियो ।
इटलीको कम्पनीले सोमबारदेखि मारानेलो र मोडेनास्थित कार प्लान्टमा काम सुरु गरेको छ । कम्पनीका अनुसार फर्मुला १ कारको आम्दानी ह्वात्तै घट्नसक्नेछ । किनभने कार दौड प्रतियोगिताहरु विश्वभर रोकिएका छन् । कम्पनीको उक्त अनुमानसँगै सेयर २.७ प्रतिशत अर्थात् १३९.५५ युरो प्रतिकित्ताले घटेको थियो । फेरारीले सन् १९२९ देखि कार उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया