अटो


कोरोना प्रभाव : यो वर्ष विद्युतीय सवारीसाधन बिक्रीमा कमी आउने

कोरोना प्रभाव : यो वर्ष विद्युतीय सवारीसाधन बिक्रीमा कमी आउने

नेपालखबर
जेठ ९, २०७७ शुक्रबार ७:२२,

कोभिड १९को प्रभाव लगातार बजार वृद्धि भइरहेको विद्युतीय सवारीमा पनि पर्ने भएको छ। ‘ब्लुमबर्ग एनईएफ’ले सार्वजनिक गरेको ‘इलेक्ट्रिक भेहिकल आउटलुक २०२०’ रिपोर्टले २०१९ को तुलनामा विद्युतीय सवारी बिक्रीमा कमी आउने देखाएको हो।

मुख्य लेखक कोलिन म्याककेराचरसहित २० जना यातायात तथा प्रविधि विश्लेषकहरुले संयुक्त रुपमा रिपोर्ट तयार पारेका हुन्।

विद्युतीय गाडीमा प्रयोग हुने ब्याट्रीको मूल्यमा गिरावट, ब्याट्रीको पावरमा वृद्धि, चार्जिङ स्टेसन निर्माणसहितका पूर्वाधार निर्माणले विद्युतीय गाडीको विस्तार भइरहेको उक्त रिपोर्टले देखाएको छ।

सन् २०१५ मा विश्वभर विद्युतीय यात्रुवाहक सवारी ४ लाख ५० हजार बिक्री भएकोमा २०१९ मा आइपुग्दा २१ लाख बिक्री भएको तथ्यांकमा उल्लेख छ।

तर कोभिड १९को कारण २०२० मा १७ लाख गाडी मात्रै बिक्री हुने अनुमान गरिएको छ। यो वर्ष पेट्रोलमा भारी गिरावट आएकाले डिजेल÷पेट्रोलबाट चल्ने गाडीमा ध्यान जान सक्नेछ।

कोभिड १९ मुख्य कारण भए पनि पेट्रोलियम पदार्थको भारी मूल्य गिरावट विद्युतीय सवारीसाधन बिक्री कम हुनुको अर्को कारण हुनसक्ने विश्लेषण गरिएको छ।

विभिन्न देश तथा सहरहरुले आफ्नो ठाउँ स्वच्छ राख्नको लागि विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहित गरिरहेकाले २०२१ बाट भने विद्युतीय गाडीमा आकर्षण बढ्ने र २०२५ सम्म ८५ लाख विद्युतीय गाडी बिक्री हुने रिपोर्टमा उल्लेख छ।

सन् २०३० मा २ करोड ६० लाख पुग्ने र २० वर्षपछि अर्थात् २०४० मा ५ करोड ४० लाख बिक्री हुने अनुमान गरिएको छ।

अहिले बजारमा अन्य गाडीको तुलनामा अहिले विद्युतीय गाडीको प्रयोग थोरै रहे पनि वर्षेनी बजार हिस्सा तीव्र गतिमा बढिरहेको छ। २०२० मा २.७ प्रतिशत बजार हिस्सा भएको विद्युतीय गाडीको २०२५ सम्म १० प्रतिशत, २०३० सम्म २८ प्रतिशत हुने अध्ययनको अनुमान छ।

सन् २०४० सम्म सडकमा अन्य सवारीको तुलनामा विद्युतीय यात्रुवाहक सवारीको प्रयोग बढी हुनेछ। २० वर्षपछि बजारमा ५८ प्रतिशत हिस्सा यात्रुवाहक विद्युतीय सवारीले लिने पनि अध्ययनले देखाएको छ।

२ वर्षमा ५ सय मोडलका विद्युतीय सवारी
विश्व बजारमा अन्य सवारीको तुलनामा विद्युतीय मोडलका सवारी कम छन्। जसले मानिसहरुमा गाडी खरिदको लागि छान्ने धेरै अप्सन छैन। अध्यायन रिपोर्टअनुसार सन् २०२२ सम्म विश्वभर ५ सय फरक–फरक विद्युतीय मोडलका गाडी सार्वजनिक हुनेछन्।

धेरै मोडलका गाडी बजारमा आउँदा प्रतिस्पर्धा हुने र विद्युतीय सवारीप्रति आकर्षण बढ्ने अध्ययनको निष्कर्ष छ।

विद्युतीय गाडी उत्पादन तथा बिक्रीमा चीनको सबैभन्दा बढी हिस्सा हुनेछ। सन् २०३० सम्म विद्युतीय गाडीको विश्व बजारमा आधा हिस्सा हुनेछ।

‘२०२५ सम्म ५४ प्रतिशत, २०३० सम्म ४९ प्रतिशत विद्युतिय गाडीको हिस्सा चीनको मात्रै हुनेछ’, अध्ययनमा भनिएको छ, ‘२०४० मा चीनको बजार हिस्सा घटेर ३३ प्रतिशत मात्रै हुन्छ।’

चीनले सहर सफा र स्वच्छ राख्न विद्युतीय गाडीको प्रयोगलाई प्रवर्द्धन गर्दै विद्युतीय गाडीमा लगानीको लागि आकर्षित गर्नेछ।

सन् २०१० को तुलनामा २०१९ सम्म ८७ प्रतिशतसम्म ब्याट्रीको मूल्यमा गिरावट आएको छ। ब्याट्री महंगो हुँदा विद्युतीय गाडीको मूल्य बढी छ। गाडीको मूल्य कम गर्न थुप्रै अध्ययन हुनेछन्। लिथियम आयन ब्याट्रीको मूल्यमा भारी गिरावट आउँदा हरेक वर्ष ५ प्रतिशत पावर बढ्ने गरी ब्याट्रीको विकास हुने र चार्जिङ स्पिड पनि बढ्ने अनुमान गरिएको छ।

अटो उत्पादक कम्पनीहरुले आफ्नो लगानी विद्युतीय गाडीको उत्पादनमा लगाउनेछन्।

सन् २०३० को दशकसम्म हाइब्रिड गाडीले पनि केही बजार हिस्सा पाउने तर त्यसपछि पूर्ण विद्युतीय गाडीमा लगानी बढ्ने अध्ययनले देखाएको छ।

विद्युतीय सवारीअनुकूल नीति
धेरै देशले आफ्नो नीति विद्युतीय गाडीलाई प्राथमिकता दिने खालको हुने बताइसकेका छन्। जलवायु प्रदूषणको मुद्दालाई हल गर्न विद्युतीय गाडीको प्रयोगलाई नै प्रवर्द्धन गर्ने ती देशले प्रतिबद्धता जनाएका छन्।

पेट्रोलियम पदार्थको प्रयोगका कडा कानुन निर्माण हुने र सहरहरुले आफ्नो क्षेत्र सफा राख्न पेट्रोलियम गाडीलाई निरुत्साहित गर्ने अनुमान छ।

१३ देशले पेट्रोलियम गाडीको फेज आउट गर्ने नीति बनाइसकेका छन्। ३१ सहरले पनि विद्युतीय गाडी मात्रै प्रयोग गर्न पाउने नीति अंगालेका छन्।

आगामी १० वर्षसम्म बजारमा गुड्ने धेरै दुई पांग्रे स्कुटर तथा मोटरसाइकल विद्युतीय हुनेछन्। त्यस्तै नगरबस र डेलिभरी भ्यान विद्युतीय हुनेछन्।

२०२० मै ३३ प्रतिशत हिस्सा नगरबसले लिएका छन्। ३० प्रतिशत दुईपांग्रे सवारीले लिँदा यात्रुवाहक सवारीको हिस्सा २ प्रतिशत छ भने हलुका व्यापारिक सवारीसाधनको हिस्सा २ प्रतिशत रहेको अध्ययनमा भनिएको छ।

२०३० सम्म ५८ प्रतिशत नगरबसहरु विद्युतीय हुँदा ४० प्रतिशत दुई पांग्रे सवारी, २८ प्रतिशत हलुका व्यापारिक साधान र २८ प्रतिशत यात्रुवाहक सवारी विद्युतीय हुने अध्ययनले देखाएको छ।

पेट्रोलियम पदार्थ घटेसँगै प्रदूषण घट्ने
सडक यातायातको कारण वायु प्रदूषण उच्च छ। विद्युतीय गाडी बजारमा आउँदा केही पेट्रोलियम तेलको हिस्सा कटौती गरे पनि सवारी संख्या बढिरहँदा कार्बनडाइअक्साइडको मात्रा बढिरहेको छ।

२०२० सम्मै विद्युतीय सवारीले १० लाख ब्यारेल पेट्रोलियम तेल दैनिक उपयोग घटाइसकेको उक्त अध्ययनले देखाएको छ। सन् २०४० मा प्रतिदिन १ करोड ७६ लाख ब्यारेल तेल विस्थापित गर्ने भनिएको छ।

२०३३ सम्म सडक यातायातबाट कार्बनाडाइअक्साइड बढ्नेछ। तर त्यसपछि क्रमशः २०४० सम्म २.५७ गिगाटन कार्बनडाइअक्साइड कम उत्पादन हुनेछ।

विद्युतीय गाडीको उपयोगसँगै विद्युत्को माग पनि ह्वात्तै बढ्नेछ। सन् २०४० सम्म यात्रुवाहक सवारीले मात्रै १ हजार २ सय ९० टेरावाट आवर विद्युत् खपत गर्नेछ। व्यापारिक सवारीसाधनले ३ सय ८९ र विद्युतीय बसले २ सय १६, दुई पांग्रे सवारीले ६९ टेरावाट विद्युत खपत हुने अध्ययनको अनुमान छ।

नेपाल अझै अलमलमा
धेरै वर्षदेखि सरकारले नीति तथा कार्यक्रममा विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने उल्लेख गरे पनि यसको बजार हिस्सा बढाउन कठिनाइ देखिएको छ।

नेपालमा राष्ट्रपति, ऊर्जामन्त्रीसम्मले विद्युतीय सवारीको प्रयोग गरे पनि आम जनतालाई आकर्षण गर्नसकेको छैन। विद्युतीय सवारीको लागि आवश्यक पूर्वाधार निर्माण नहुनु मुख्य कारण हो।

केही कम्पनीले विद्युतीय कार नेपालमा ल्याएर विक्री गर्न खोजे पनि ठूलो सफलता हात पार्नसकेका छैनन्। सार्वजनिक यातायातमा सुन्दर यातायातले केही विद्युतीय बस सञ्चालन गरिरहेको छ।

साझा यातायातले विद्युतीय बस खरिद गर्न दिएको रकम पनि फिर्ता लिएको छ। मन्त्रालय आफैँले बस किन्ने भने पनि सामान्य कागजी कामबाहेक अरु अघि बढेको छैन।

नेपालमा लकडाउनले सवारी सञ्चालन बन्द हुँदा वातावरणमा ठूलो प्रभाव पारेको छ। वायू प्रदूषण ह्वात्तै घटेको छ। नेपाली यातायात विज्ञहरुले पनि विद्युतीय गाडी प्रवद्र्धनको लागि सही समय भएको बताएका छन्।

‘लकडाउनले काठमाडौं उपत्यकाको वातावरण कस्तो सफा भएको छ। सरकारले यो कुरा महशुस गरेर अब विद्युतीय गाडीलाई साँच्चिकै प्रवर्द्धन गर्नुपर्छ’, साझा यातायातका कार्यकारी निर्देशक भुषण तुलाधरले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad