ad ad

बागमती


सिन्धुलीमा थपिए मतदाता, घट्यो मतदान केन्द्र

सिन्धुलीमा थपिए मतदाता, घट्यो मतदान केन्द्र

फाइल तस्बिर


नेपालखबर
असोज ९, २०७९ आइतबार ६:५८, काठमाडौँ

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिन्धुलीमा दुई हजार ३३ नयाँ मतदाता थपिएका छन्। सरकारले आगामी मङ्सिर ४ मा निर्वाचन गर्ने निर्णय गरेपछि निर्वाचन कार्यालयले गत साउन २० देखि मतदाता नामावली सङ्कलन स्थगन गरेको छ।

स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगन भएको फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य असार १ देखि सुरु भएको थियो। सोही अवधिमा उक्त मतदाता थपिएका हुन्। गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा कायम रहेका मतदातामा पाँच सय ६६ महिला र एक हजार चार सय ६८ पुरुष मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय प्रमुख पुष्पा झाले जानकारी दिए।

यससँगै जिल्लामा कुल मतदाता सङ्ख्या दुई लाख आठ हजार तीन सय ६९ पुगेको छ। स्थानीय तह निर्वाचनमा कुल मतदाताको सङ्ख्या दुई लाख छ हजार तीन सय ३६ थियो। निर्वाचन आयोगबाट रुजु भएर अन्तिम मतदाता नामावली आएको उनले बताए।

कार्यालय प्रमुख झाका अनुसार गत असार १ देखि साउन १९ सम्म गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक अभियानमा बाहिरी जिल्लाबाट आएका र स्थायी बासिन्दा गरी चार हजार दुई सय ३३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए। निर्वाचनमा कोही पनि नछुट्ने गरी आफ्नो नाम दर्ता गर्न तथा विवरण अद्यावधिक गर्न निर्वाचन कार्यालयले सबैलाई आग्रह गरेको थियो।

घट्यो मतदान केन्द्र
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा कायम रहेका मतदान केन्द्र घटेको छ। मतदानस्थल भने बढेको निर्वाचन कार्यालय प्रमुख झाले बताए।

‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर चारवटा मतदान केन्द्र र सातवटा मतदानस्थल थप्न निर्वाचन आयोगसमक्ष सिफारिस गरिएको थियो। निर्वाचन आयोगले यसअघि कायम रहेका दुई सय ६८ मतदान केन्द्रमा एउटा घटाएर दुई सय ६७ वटा र एक सय ४४ मतदानस्थलमा सातवटा थपेर एक सय ५१ कायम गरी पठाएको छ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .