बागमती


आज काठमाडौँ उपत्यकाको मौसम दिनभर बदली रहने, यस्तो छ वर्षाको सम्भावना

आज काठमाडौँ उपत्यकाको मौसम दिनभर बदली रहने, यस्तो छ वर्षाको सम्भावना

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
फागुन १०, २०८० बिहिबार ६:४४, काठमाडौँ

देशभरसँगै काठमाडौँ उपत्यकाको मौसम पनि आज (बिहीबार) बिहानैदेखि बदली (आकाशमा बादल) भएको छ। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार यतिबेला उपत्यकाको मौसम साधारणतया बदली (५१ देखि ७५ प्रतिशतसम्म आकाश बादलले ढाकिएको) भएको छ। 

‘आज उपत्यकामा पनि छिटपुटदेखि हल्कासम्म वर्षा हुने सम्भावना देखिएको छ’, उनले भनिन्, ‘वर्षा त्यस्तो ठूलो हुने सम्भावना नरहे पनि उपत्यकामा आज दिनभरि मौसम बदली हुने र घाम देखिने सम्भावना कम छ। घाम देखिए पनि बादलले छेकिहाल्छ।’

काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना दिनभरिमा जतिखेर पनि हुने सम्भावना भए पनि विशेषतः दिउँसो २ बजे पछाडि पानी पर्ने सम्भावना रहेको मौसमविद् मानन्धरको भनाइ छ। 

यसैबीच आज बिहान ५:४५ बजेको मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस देखिएको उनले बताइन्। तर आजको आधिकारिक तापक्रमका लागि अहिले बिहान ८:४५ बजे पुनः मापन गरिन्छ, त्यतिबेला अहिलेको जत्तिकै रहन पनि सक्छ भने थोरै घट्ने सम्भावना पनि हुन्छ। बुधबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.३ डिग्री सेल्सियस थियो। 

आज उपत्यकाको अधिकतम तापक्रम १९ देखि २१ डिग्रीसम्म रहने अनुमान गरिएको मौसमविद् मानन्धरले बताइन्। बुधबार उपत्यकाको अधिकतम तापक्रम भने २१.५ डिग्री सेल्सियस थियो। 

मौसमविद्का अनुसार राति आकाश बादलले ढाक्यो भने न्यूनतम तापक्रम बढ्छ, आकाश सफा भयो भने घट्छ। यसको ठीक उल्टो दिउँसो आकाश बादलले ढाक्यो र घाम लाग्न पाएन भने अधिकतम तापक्रम घट्छ, दिनभर मौसम सफा भएर घाम लाग्यो भने बढ्छ।

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .