बागमती


काठमाडौँ उपत्यकामा आज विरलै देखिने तापक्रम देखियो : मौसमविद्

काठमाडौँ उपत्यकामा आज विरलै देखिने तापक्रम देखियो : मौसमविद्

आज उपत्यकामा पानी परेपछि। तस्बिर : सरोज बैजु


नेपालखबर
चैत ७, २०८० बुधबार १९:३४, काठमाडौँ

मौसम बदली र वर्षासँगै काठमाडौँ उपत्यकामा आज (बुधबार) विरलै देखिने तापक्रम देखिएको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार प्राय: बिहान मापन हुने न्यूनतम तापक्रम काठमाडाैँ उपत्यकामा आज दिउँसोपछि देखिएको हो। 

उनका अनुसार आज बिहान १३.५ मापन भएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बेलुका ५ः४५ बजे अझ घटेर १२ डिग्री सेल्सियसमा झरेको पाइएको हो। 

‘प्राय: न्यूनतम तापक्रम सूर्योदयभन्दा अघि बिहान देखिन्छ तर आज दिउँसोपछि देखिएको छ’, मौसमविद् पुडासैनीले बुधबार बेलुका नेपालखबरसँग भने, ‘यस्तो अवस्था विरलै हुन्छ।’

प्राय: न्यूनतम तापक्रम हरेक दिन बिहान ८:४५ बजेभित्र देखिन्छ भने अधिकतम तापक्रम साँझ ५:४५ बजेसम्ममा देखिन्छ। 

‘तर आज बेलुका ५:४५ बजे हेर्दा न्यूनतम तापक्रम बिहानको भन्दा पनि घटेको पाइयो’, उनले भने। 

उनका अनुसार आज दिनभर घाम नलागेकाे तथा पानी परिरहेका कारण तापक्रममा यस्तो अवस्था आएको हो।  

‘काठमाडौँ उपत्यकामा आज बिहान १० बजेपछि पानी पर्न थालेको थियो’, मौसमविद् पुडासैनीले भने, ‘साँझ ४/५ बजे एकछिन रोकिएको जस्तो भए पनि हल्का वर्षा निरन्तर भइरहेको छ।’

यस्तै आज उपत्यकाको अधिकतम तापक्रम पनि ह्वात्तै घटेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १५.४ डिग्री सेल्सियसमा झरेको हो।

केही दिनयता उपत्यकाको अधिकतम तापक्रम २७ डिग्री सेल्सियसभन्दा पनि माथि चढिसकेको थियो। 

तापक्रम घटेसँगै काठमाडौँ उपत्यकामा आज चिसो बढेको छ। 

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .